Wednesday 26th of July | २०७४ श्रावण ११ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फ्रि भिसा फ्रि टिकट’को अनुगमन बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार २६ सोमबार
newsabhiyan

काठमाडौं, असार २६ । वैदेशिक रोजगार विभागले मेनपावर व्यवसायीहरुले विभागमा पेस गरेको ‘फ्रि भिसा फ्रि टिकट’ विवरणको अध्ययननमा लापरबाही गरेको छ । सात सय ५० वटा मेनपावर कम्पनीले विभागमा विवरण पेस गरे पनि जम्मा ६५ वटाको मात्रै हेरेर अध्ययन स्थगित गरेको पाइएको हो ।

मेनपावर कम्पनीले ‘फ्रि भिसा फ्रि टिकट’मा अनियमितता गरेको आशंकामा गत वैशाखमा मेनपावर कम्पनीहरुसँग विवरण माग गरे पनि मेनपावर व्यवसायीको दबाबमा अध्ययन नै स्थगित गरेको देखिएको छ । विवरण संकलनपश्चात् अध्ययनको क्रममा कामदारसँग बढी पैसा असुलेको तथा कामदारको संख्या समेत स्पष्ट नआएपछि विभागले १० वटा मेनपावर कम्पनीलाई पत्र काटेको थियो । उक्त पत्रपछि व्यवसायी र विभागबीच विवाद उत्पन्न भएको थियो । व्यवसायी संघका पदाधिकारी समेत विभागमा आएर विभागका कर्मचारीलाई धम्क्याएपछि विभागले अध्ययन नै स्थगित गरेको हो । विभागका निर्देशक नारायणप्रसाद आचार्यका अनुसार अहिलेलाई विवरण अध्ययन काम रोकिएको छ । समयअनुकूल भएमा विवरण पुनः अध्ययन गर्ने उनले आर्थिक दैनिकलाई बताए । विभागमा कर्मचारीको अभाव भएकाले अध्ययन स्थगित गरिएको उनले गैरजिम्मेवार उत्तर दिए ।

५६ वटा मेनपावर कम्पनीको विवरण हेर्दा मेनपावर कम्पनीले ‘फ्रि भिसा फ्रि टिकट’मा गएका कामदारहरुको पैसा कहाँबाट कति लिएको समेत उल्लेख गरिएको छैन । त्यस्तै बैंकबाट भुक्तनी लिएको रसिद काटिएको समेत मेनपावर कम्पनीले विभागलाई सप्रमाण जानकारी दिनसकेका छैनन् । मेनपावर कम्पनीले यति पैसा प्रतिकामदार लिएको भनी उल्लेख गरे पनि के कति परिमाणको भुक्तानी लिएको हो भन्ने कुनै पनि माध्यम उल्लेख नगरेको पाइएको हो । विभागका निर्देशक आचार्यले मेनपावर कम्पनीले कामदार पठाउँदा लापरबाही गरेको स्वीकार गरे । उनले यसरी विवरण पहिलोपटक हेरिएकोले मेनपावर कम्पनीलाई छुट दिन लागिएको जानकारी दिए । विभागको लामो छलफलपछि विभागले मेनपावर कम्पनीलाई अबको दिनमा यस्तो नगर्ने शर्तमा कारबाही नगर्ने निधो गरेको उनले बताए ।

मेनपावर कम्पनीले ‘फ्रि भिसा फ्रि टिकट’मा कामदार पठाउँदा लागत खर्चबापत बढीमा १० हजार रुपैयाँ मात्रै दिन पाउने व्यवस्था रहे पनि मेनपावर कम्पनीले एक लाख रुपैयाँसम्म असुलेको भनेर विभागमा उजुरी पर्ने गरेको छ । विभागले उजुरीको आधारमा समेत मेनपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउनसकेको छैन । विभागले कर्मचारीको अभाव तथा माथिबाट दबाब आएको भन्दै अध्ययन र अनुगमनको काम रोक्ने गरेको देखिएको छ ।

त्यस्तै विभागले कामदारहरुलाई मेनपावर कम्पनीले ठगी गरेको उजुरी परेपछि मिलापत्र गराउने नाममा मेनपावर कम्पनीलाई उन्मुक्ति दिने गरेको आरोप लागेको छ । विभागले गलत काम गर्ने मेनपावर कम्पनीलाई कानुनी दायरामा ल्याउन नसकेको विभागको उजुरी र कारबाहीको तथ्याङ्कले पनि देखाएको छ । मेनपावर कम्पनीविरुद्ध दैनिक पाँचवटा उजुरी पर्ने गरे पनि विभागले उजुरी संकलन गर्नुबाहेक कुनै काम गरेको देखिँदैन ।

विभागको तथ्याङ्कअनुसार एउटै कम्पनीबारे एकै वर्ष ३० वटासम्म उजुरी परे पनि उक्त कम्पनीमाथि कुनै पनि किसिमको कारबाही नभएको पाइएको छ । विभागमा मेनपावर कम्पनीविरुद्ध पर्ने उजुरीमा तलब सुविधा बढी दिलाउने नाममा बढी पैसा दिएको विषयमा आउने गरेको छ । आर्थिक दैनिकबाट

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan