Friday 18th of August | २०७४ भदौ २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रवासबाटै लोकमानले भने ज्यानको खतरा भयो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण ११ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, ११ साउन । तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुइँको पाएपछि देश छोड्न बाध्य भएको बताउनुभएको छ ।

केही महिनायता प्रवासमा रहँदै आउनुभएका कार्कीले दूरभाष–संवादका क्रममा ‘तपाईंले देश किन छोड्नुभएको हो’ भन्ने घटना र विचारको प्रश्नमा जवाफ दिँदै भन्नुभयो, ‘मैले देश छोडेको होइन, छोडाइएको हो । मलाई मेरो देश प्राणभन्दा प्यारो लाग्छ र अहिले म जहाँ छु त्यहाँ आफ्नो देश सम्झेर तड्पिरहेको छु ।

देश बर्बाद गर्नेहरू र देश लुट्नेहरूले मलाई आफ्नो मातृभूमिमा रहनै नसक्ने परिस्थिति सिर्जना गरेका हुन् । मेरो माटोसँग टाढिएर रहनुपर्दा मलाई जुन छटपटी भएको छ, त्यो पीडा म यहाँ शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

कसले–कसरी तपाईंलाई देश छोड्न बाध्य तुल्याए, स्पष्ट गरिदिन सक्नुहुन्छ ?
केही पुराना व्यापारिक घरानाका व्यक्ति, केही राजनीतिक दलका नेता र उच्च तहबाट अवकाशप्राप्त केही प्रहरी अधिकृतहरूले मेरो हत्या गर्नेसमेतको षड्यन्त्र रचेको सुइँको पाएपछि म नेपाल छोड्न बाध्य भएको हुँ ।

जसले मुलुकमा ब्रह्मलुट गरिरहेका छन् र जो लोकतन्त्र आफ्नो कब्जामा लिएर मनपरीतन्त्र चलाउँदै छन्, तिनले ममाथि दागा धरे । विदेशी लगानीमा आफ्नो जीवन निर्वाह गरिरहेकाहरूले मलाई विस्थापित गर्न सम्भव भएसम्मका उपाय अवलम्बन गरे । सतीले श्राप दिएको देशमा भीमसेन थापाहरू सेरिए, म खेदिएँ ।

तपाईंले राज्यसँग सुरक्षा माग्न पनि त सक्नुहुन्थ्यो नि ?
हेर्नुस्, मेरो कामका कारण ममाथि उत्पन्न सुरक्षा थे्रटलाई लिएर विश्लेषण भयो र मलाई आजीवन विशेष सुरक्षा दिने भनी मन्त्रिमण्डलले निर्णय पनि गरेको हो । तर, मलाई जब सुरक्षा चाहियो, तब सबै सुरक्षा व्यवस्था हटाइयो । मैले आफ्नो सुरक्षाको लागि विभिन्न च्यानलबाट राज्यसँग अनुनयविनय गरेँ ।

क्याबिनेटले गरेको निर्णय मात्र कार्यान्वयन गरिदिए हुन्छ भनेर पनि पटक–पटक भनेँ । तर, कुनै सुनुवाइ भएन । हामीले त्यसबेला जो–जसलाई कारबाहीको दायरामा ल्याएका थियौँ, जसमाथि निगरानी बढाएका थियौँ र जो अनुसन्धानको दायरामा परेका थिए, ती सबै घोषित या अघोषित रूपले एक भएछन् ।

मलाई टेलिफोनमा ज्यान लिनेलगायतका धम्की आउन थाल्यो, मेरो मुभमेन्ट हुने सम्भावित ठाउँहरूमा शङ्कास्पद मानिसका गतिविधि बढ्न थाल्यो । त्यस्तो अवस्थामा मैले आफू हुँडारहरूको बीचमा फसेको हरिणझैँ महसुस गरेँ र ज्यान जोगाउन अनेक उपाय गर्ने क्रममा बिदेसिन पुगेँ ।

त्यसो भए अब तपाईं कहिल्यै नेपाल फर्कनुहुन्न त ?
म पनि तपाईंलाई प्रश्न गर्छु– के नेपालमा कहिल्यै सुशासन र मानवराज वहाली हुँदैन र ? सधैँ यस्तै बेथिति र विकृति रहिरहला र ? असल मानिसले राम्रो काम गर्ने दिन पनि आउला नि नेपालमा ! देशमा राम्रा मानिसले शासन गर्ने दिन अवश्य आउनेछ र त्यतिबेला मुलुकमा कसैले पनि अन्याय महसुस गर्नुपर्ने छैन ।

म र मजस्ता मानिस जो देशभित्रै असुरक्षित महसुस गरेर बाहिरिनुपरेको छ तिनले स्वदेशका निम्ति केही गर्ने अवसर पाउने छन् । तर, मैले देशको अवस्था राम्रो भएपछि मात्र फर्कन्छु भन्न खोजेकोचाहिँ होइन, मेरो ज्यान सुरक्षित रहन्छ भन्ने विश्वास भएका दिन म स्वदेश फर्कन्छु । त्यो भोलि नै पनि हुन सक्छ र थप केही समय लाग्न पनि सक्छ ।

मरिन्छ कि भन्ने खुब डर लाग्छ तपाईंलाई, होइन ?
म मर्नबाट डराउँदिनँ । मर्न डर नलाग्नुको अर्थ हुँडारहरूको सिकार बनेर मर्नु पनि त होइन नि । लोकतन्त्रको स्थापनापछि कानुनी राज र सुशासन स्थापना हुने मेरो अपेक्षा थियो । सुशासनकै निम्ति अख्तियार प्रमुखका रूपमा मैले जुन आकार–प्रकारका मानिसमाथि अनुसन्धान र निगरानीको कानुनी प्रक्रिया सुरु गरेको थिएँ, त्यतिबेलै मैले मातृभूमिका लागि आवश्यक परे ज्यान अर्पण गर्ने निर्णय लिएको थिएँ । तर, मर्न तयार हुनुको मतलब अपराधीका हातबाट सडकमै मर्नु त होइन नि । मैले देशका लागि अझै केही गर्नुछ, केही गर्नका लागि पनि बाँच्नुपर्ने भयो ।

तपाईंलाई यो देशले फेरि कुनै महत्वपूर्ण जिम्मेवारी देला जस्तो लाग्छ ?
देशमा मानवराज सुरु हुनेमा म विश्वस्त छु । त्यस्तो अवस्थामा देशका निम्ति केही गर्न खोज्ने÷चाहने राम्रा मानिसको खोजी हुन्छ । म मात्र होइन, सबै असल, इमानदार र क्षमतावान मानिसले देशसेवाको मौका पाउने छन् ।

यसको मतलब अहिलेको व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्ने तपार्इंको भनाइ हो ?
होइन । व्यवस्था जे भए पनि अवस्थाचाहिँ परिवर्तन हुनैपर्छ भन्ने मेरो भनाइ हो । अवस्था बदलिनुपर्छ र बदलिन्छ ।

काङ्ग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता प्रमुख राजनीतिक शक्ति तपाईंका विरुद्ध एकमतझैँ देखिन्छन् । यिनलाई विस्थापित गर्न सक्ने कुनै विकल्प यहाँ पैदा हुन सकेको पनि छैन । अवस्था परिवर्तन पनि यिनै काङ्ग्रेस–कम्युनिस्टले नै गर्नुपर्ने त होला ?
मेरोविरुद्धमा काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा र राजपालगायत कुनै पनि दल छैनन् । ती दलभित्रका केही भ्रष्टाचारीहरू मात्र मेरोपछाडि हात धोएर लागिपरेका हुन् । राजनीतिक दलहरूले त मलाई सर्वसम्मत रूपमा सिफारिस गरेर अख्तियार प्रमुख बनाएको हो नि ।

फेरि मलाई दलहरूले महाअभियोग प्रस्ताव संसद्बाट पारित गरेर हटाएको पनि होइन । व्यक्तिगत कुण्ठाले ग्रस्त व्यक्तिलाई भ्रष्टाचारी र आपराधिक मनोवृत्तिका केही मानिसले उपयोग गरेर मलाई अन्यायपूर्वक हटाइएको हो । सर्वोच्च न्यायालयबाट न्याय पाउने आशा मैले गरेको छु । त्यसैले सबै दलहरू मेराविरुद्ध छन् भन्न मिल्दैमिल्दैन । मलाई दलका इमानदार नेता–कार्यकर्ता र इमानदार प्रशासकहरूले सधैँ साथ दिएका छन्, भविष्यमा पनि दिनेछन् ।

सुरक्षा त नदिनेहरूबाट साथ पाउने आशा गर्दै हुनुहुन्छ ?
मैले भनिहालेँ नि, मुलुकमा सधैँ यस्तै अवस्था रहनेछैन र देश बर्बाद गर्नुमा सबै राजनीतिज्ञ तथा सबै कर्मचारी प्रशासकहरू बराबर दोषी या जिम्मेवार छन् भन्ने पनि होइन । राम्रा मानिसले मलाई हरेक अवस्थामा राम्ररी साथ दिनेछन् र दिँदै आएका पनि छन् । यतिबेला केही प्रतिकूलताको स्थिति भए पनि अन्ततः मलाई सुरक्षा दिनेछ मेरो राज्यले, यो मेरो विश्वास हो ।

तपाईंसँगको निकटताकै कारण कर्मचारी चूडामणि शर्माले दीप बस्नेतको डण्डा खानुप¥यो भन्छन्, तपाईं नै नेपाल आउँदा झन् तपाईंलाई सुरक्षा होइन सास्ती दिइन्छ भन्ने लागेको छ कि छैन ?
कानुनको राज सुरु नभएको अवस्थामा मैले मात्र होइन धेरैले सास्ती पाउने स्थिति हुन्छ । राज्यसँग मैले ‘सुरक्षा’ खोजेको कारण पनि यही नै हो । जहाँसम्म चूडामणिको कुरा छ, उनलाई मेरै निकटका मानिस भएकोले दुःख दिएकोजस्तो लाग्दैन । यदि हो भने त्यो दुर्भाग्य हो ।

मेरो सबभन्दा निकटका मानिस त दीप बस्न्यात नै हुन् नि । हामीले धेरै काम सँगै गरेका हौँ । उनले मेरो निकटकालाई खोजी–खोजी कारबाही गर्लान् भन्ने मलाई लाग्दैन । सर्वोच्च अदालतमा पनि पहिलेझैँ अराजकता छैन र अदालतबाट न्याय मिल्ने विश्वास बढेको छ ।

देशका भ्रष्टाचारीहरू एक भएर तपाईंलाई दुःख दिएको भन्ने तपाईंको दाबी छ । तर, तपाईं ती को–को हुन् र तपार्इंले के गर्न लाग्नुभएको हुनाले उनीहरू एक भएर तपाईंका विरुद्ध जाइलागेका हुन् भन्ने विषयमा केही बताइरहनुभएको छैन, किन ?
मैले राष्ट्रपतिसमक्ष गोपनीयताको शपथ खाएको छु । त्यसैले कानुनले तोकेको, बाध्य तुल्याएको या देशमा असामान्य स्थिति उत्पन्न भएको अवस्थामा मात्र मैले कानुननिर्दिष्ट स्थानमा गएर मुख खोल्ने हो । जहाँ पायो त्यहीँ बोलेर हिँड्ने कुरा भएन ।

संसद्को महाभियोग समितिमा बोलाएर सोधिएको भए म सम्मानित संसद्का माननीय सदस्यहरूसमक्ष आफ्ना कुराहरू राख्न तयार थिएँ र छु । समितिले मेरो स्पष्टीकरणसमेत नराखीकन प्रतिवेदन बनाएको र रेकर्डमा राखेको भन्ने सुनेर म स्तब्ध भएको छु । वास्तवमा मेरो भनाइसमेत नसमेटीकन प्रतिवेदनले पूर्णता पाउन सक्ने म ठान्दिनँ ।

एक न एक दिन मलाई यसबारेमा सत्य प्रकट गर्न पाउने कानुनी अवस्था र अवसर मिल्ने विश्वास छ । त्यस्तो अवसर आउँदा सबै तथ्यहरू कानुनसम्मत ढङ्गले म बाहिर ल्याउनेछु । कोही गैरजिम्मेवार र पूर्वाग्रही भए भन्दैमा मैले पनि गैरजिम्मेवार बन्न मिल्दैन । न्यूज अभियानका लागि घटना र विचारबाट । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan