Saturday 21st of October | २०७४ कार्तिक ४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सूचना प्रबिधीको क्षेत्रमा संघर्षको सात वर्ष फर्केर हेर्दा : भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण १२ बिहिबार
newsabhiyan
newsabhiyan

उद्धव तमाङ, न्यूज अभियान, काठमाण्डौँ ।

कुनै पनि व्यक्ति सफल हुनुमा उसको परिवार र शैक्षिक वातावरणको ठूलो हात हुन्छ भन्ने एक जमात हाम्रै समाजमा छन् । यो कुरालाई सायद सबैले सजिलै स्वीकार्छन पनि ।

नेपाली उखानै छ नि बोट राम्रो भए पो फल राम्रो हुनु । तर म यो भनाईमा सत्यता ठान्दिन । परिवारको सहयोग पारिवारिक शैक्षिक वातावरणको योगदानले मात्र उसको सन्तानले प्रगती गर्न सक्दैन ।

कारण त्यसका लागि उक्त व्यक्तिसँग धैर्यता, ईच्छा, चाहाना, प्रयोगात्मक ज्ञान,  अनुकूल वातावरण र जोखिम मोल्न सक्ने क्षमता हुनु पनि त्यत्तिकै जरुरी छ । जसले कुनै कुरामा लगनशिल र मन लगाएर खोज, अनुसन्धान गर्छ अक्सर त्यही मान्छे सफल हुन्छन् । कोही भाग्य खोज्न मन्दिर, मस्जिद, चर्च, गुम्बा धाउँछन् । 

कोही भगवानलाई लड्डु चढाउँछन् त कोही ज्यातिषि कहाँ पुग्छन् । कस्तो छ आफ्नो भाग्य भनेर ? कोही कर्म गर्छन्, आफ्नो लक्ष्यमा पुग्न रातदिन मेहनत गर्छन र सफलताको शिखरमा पुग्छन् र यस्तै ब्यक्तीहरुले संसारलाई मुठ्ठीमा राख्न सफल हुन्छन् ।

यी भनाईहरु पोखीरहँदा यी भनाईसंग मिल्ने एक पात्र हुन् जिवन नेउपाने । ईलामको सुम्बेकमा जन्मिएका नेउपाने भाग्य खोज्न न त मन्दिर धाए न त लड्डु नै चढाउन भगवानकोमा पुगे न त ज्योतिष कहाँ नै ।

कुनै समय एक कम्पनीको मार्केटिङ डिपार्टमेन्टमा जागिरे जिवन बिताईरहेका उनी अहिले आईटेक नेपाल भन्ने कम्पनी संचालन गरिरहेका छन् । नगरे के हुँदैन,  भन्ने कुरालाई उनले ब्यबहारमा उतारिदिएका छन् ।

सूचना प्रबिधिको बिकाससंगसगै यस्को महत्व झन् झन् बढीरहेको छ । भौगोलिक रुपमा टाढा रहेका हरेक कुना कन्दराका आवाज, समस्याहरुलाई नजिक ल्याईदिएको छ ।

आईटी क्षेत्र एक सागर जस्तै हो जति हामी गहिराई खोज्न थाल्छौ झन्झन् गहिराई बढ्दै जान्छ । कुनै बेला जागिर गरिरहेका जिवनलाई टेक्निकल कुराहरु केहि पनि थाहा थिएन । अरुको काम गर्दा गर्दै आजित बनेका उनी आफैँ केहि गरौँ भन्ने चाहान्थे ।

ईकोनमिक्समा मास्टर गरेका उनी टेक्निकल फिल्डमा आउन फलामको चिउरा चपाए सरह थियो । तर उनको ईच्छाशक्ति यति बढ्न थाल्यो टेक्निकल फिल्डमा मानौँ त्यहाँ साउने खोला उर्लिए सरह थियो । गुगलमा अधिक समय दिँदै हरेक कुराहरु खोज्दै सिक्न थाले उनले । हरेक दिन नयाँ नयाँ कुरा सिक्थे उनी।

उनको टेक्निकल क्षेत्रमा अहिलेसम्म कुनै  व्यक्तीलाई  गुरु मानेका छैनन् । उनले मानेका छन् त केवल सर्च इन्जीन गुगललाई । सन् २०१० मा ३ जनाको समुहमा रहेर कम्पनी खडा गरे,  जबकी सबैजना टेक्निकल ब्यागराउन्ड भन्दा बाहिरका ।

तर अहिले कम्पनी सुरुगरेका अन्य दुई सहयात्री यो क्षेत्रबाट सुरुगरेको केही बर्षमा नै उस क्षेत्रबाट पलायन भैसकेका र अन्य क्षेत्रमा नै लागिसकेका छन् । तरपनी यस क्षेत्रमा निरन्तर क्रियासील छन् नेउपाने ।

उनले सुरुसुरुमा आफुसंग पर्याप्त ज्ञान नहुँदा डिजाईनर, डेप्लपरहरुले एक हप्तामै सकिने काम पनि महिनौँ लगाएर टार्ने गरेको तितो अनुभब सुनाउँछन् । कारण उनीसंग पर्याप्त ज्ञान थिएन । उनको मनमा एक किसिमको आत्मग्लानी बढ्दै गयो मैले सबै कुरा सिक्नै पर्छ ताकी मलाई कसैले काममा ढाट्न नसकोस ।

कामप्रति उनको रुची झन्झन् बढ्न थाल्यो,  टेक्नीकल स्टाफहरुबाट पनि हेपिन नपरोस काम नजानेको निहुँमा यहि कुरा दिमागमा डेरा जमाएर बस्यो । त्यसपछि ३ महिना सम्म टेक्नोलोजीका बारेमा गहिरिएर पढ्न थाले । ३ महिनाको बिचमा उनले आफुमा धेरै परिबर्तनहरु पाए ।

लगभग आफुलाई चाहिने सबै शिक्षाहरु पाईसकेका थिए । काममा यति धेरै महत्व दिन्छन् कि जिवन ७२ घण्टा सम्म काम गर्ने ठाउँबाटै नउठेर चाउचाउ मात्र खाएर पनि काम गरिरहन्थे उनी । कुनैबेलाको संघर्षले जिवनलाई अहिले यो स्थानमा ल्याएको छ । काठमाण्डौँको अनामनगरमा रहेको आईटेक नेपाल नामक आईटी संस्थाका संञ्चालक हुन् जिवन नेउपाने ।

नेपालको आईटी क्षेत्रमा बिगत ८ बर्षदेखि आईटेक नेपालले बिभिन्न मिडीया हाउसहरुसंग नजीक भएर सेवा दिन दिनरात लागि परेका छन् । जसको परिणाम स्वरुप अहिले सम्म लगभग ७० जिल्लाका ३५० भन्दा बढी एफएम रेडियोहरुको प्रशारण क्षमतालाई इन्टरनेटको पहुच भएको ठाउवाट संसारको जुनसुकै ठाउबाट सुन्न सक्ने ब्यवस्था मिलाइ दिएको छ । 

न्यूज अभियान टिभी /कर्पोरेट टक: भिडियो तल क्लिक गरेर हेर्नुहोस् :-

जसको कारणले हामी संसारको जुनसुकै ठाउबाट पनि आफ्नो गाउँठाउको एफएम रेडियो सुन्न सक्छौ । यसको अलावा कम्पनीले बिभिन्न संघ-सस्थाहरुको वेभसाईट, न्यूज पोर्टल, एप्लिकेशन, सफ्टवेएर डेपलप्मेन्टका साथै वेव होस्टिङ,  डोमेन रजिस्ट्रेशन लगाएतका सेवाहरु सर्बसुलभ मुल्यमा गुणस्तरिय सेवा दिईरहेको छ ।

पहिले-पहिले काठमाण्डौँमा रहेका छ, सात वटा सिमित रेडियोहरु मात्रै अनलाईनमा सुन्न सकिन्थ्यो । त्यसपछि उनको ध्यान त्यतै गयो अनि सोच्न थाले काठमाण्डौ बाहिरका सबै रेडियोलाई अनलाईनमा बजाउने । झन्डै तिन चार महिनाको खोज पश्चात उनले आफ्नै जिल्लामा रहेको ईलाम एफ.एमलाई अनलाईनमा बजाउन परिक्षण गरे ।

अनलाईनमा बजाउन के-के कुराहरको आबश्यकता पर्नेरहेछ , कुन-कुन सफ्टवेयरहरु चाहिने रहेछ भनेर पत्ता लगाए र सफल पनि भए । पहिले अरुहरुकै सफ्टवेयरहरु प्रयोग गरेर अनलाईन रेडियोको सेवा दिएको कम्पनीले विगतका वर्ष देखि सम्पूर्ण आफ्नै उत्पादन मात्र प्रयोग गर्दै आएको छ ।

त्यतीमात्र नभएर अनलाइन रेडियो होस्टिङको आफ्नै कन्ट्रोल  पेनल  एभरेश्ट कास्ट तयार गरेर बिश्व बजारमा पुर्याउन भर्खरै सुरुगरेको छ ।

हामीले के हेर्न आवश्यक छ भने नेपालमैं मात्र काम गर्ने हो भने सीमित क्षेत्र छ । तर,  प्रविधिको माध्यमबाट यही बसीबसी विश्वको काम गर्न सक्छौं । हातमा सीप चाहिन्छ, क्षेत्र आफै  बढ्दै जान्छ । अहिलेको अवस्थामा देशभित्रै र अन्तर्रा्ष्ट्रियस्तरमा पनि सूचना प्रविधि क्षेत्रमा कर्मठशील जनशक्तिको खाँचो टड्कारो देखिन्छ ।

आईटी मुख्यतःसफ्टवेयर र हार्डवेयरमा नै विभाजित भएको देखिन्छ । तर यसैभित्र थुप्रै सहायक क्षेत्रहरू रहेका छन्, , जसमा राम्रो करिअर बनाउन सकिन्छ । नेपालमा मोबाइल एप्सको सम्भावना पनि उत्तिकै देखिन्छ । किनकि अहिले नेपालमा धेरै प्रकारका मोबाइलहरू भित्रिरहेको छ,  प्रयोगदरको अवस्था हेर्दा कुल जनसङ्ख्याको आधाले मोबाइल प्रयोग गरेका समाचारहरू आइरहेका छन् ।

डेक्सटप कम्प्युटरलाई अब ट्याबलेटले प्रतिस्थापन गर्दैछ । त्यो हिसाबले पनि मोबाइल एप्स (एप्लिकेशन)को सम्भावना प्रचुर मात्रामा देखिन्छ । यस क्षेत्रलाई पनि विद्यार्थीले भोलि आफ्नो क्यारियरको रूपमा अँगाल्न सक्छन् । नेपाल विश्वकै सबैभन्दा सस्तो शिक्षित जनशक्ति भएको देशको सूचीमा पर्छ ।

छिमेकी राष्ट्र भारत र चीनको तुलनामा हाम्रा जनशक्तिको दर एकदमै सस्तो छ । तर पनि नेपालले पीएचपी, एड्भान्स जाभा, जाभा क्वेरी, अजाक्स प्रोग्रामिङ आदिमा आफ्नो छुट्टै स्थान बनाउन थालिसकेको छ ।

डाटाबेस डिजाइन तथा मूल्याङ्कन, वेब पेज निर्माण, एप्स डेभलपमेण्ट तथा ईकमर्स डेभलपमेण्टको काम पनि हामीकहाँ भइरहेको छ । तर पनि नेपालको सफ्टवेयर क्षेत्रको विकास सन्तोषजनक छैन ।

नेपालका कतिपय कम्पनीले विदेशीका लागि सफ्टवेयर निर्माण र बजारीकरण गर्ने काम गर्दै आएका छन् । छिमेकी भारत संसारकै दोस्रो आईटी विज्ञ उत्पादन गर्ने मुलुकका रूपमा स्थापित भइसकेको छ । बङ्गलादेश र श्रीलङ्कामा समेत मल्टिनेशनल कम्पनी विस्तार भइसकेको अवस्थामा नेपालमा भने सफ्टवेयर क्षेत्रको मल्टिनेशनल कम्पनीसमेत खुल्न नसक्नु ठूलो दुर्भाग्य हो ।

विडम्बना नै भन्नुपर्छ नेपालमा आईसीटीसम्बन्धी सर्वे नै गरिएको छैन । नेपालको आईटी उद्योग कस्तो छ,  कति कम्पनी छन,  कति उत्पादन निर्यात हुन्छ,  कति आयात हुन्छ यसको रेकर्ड न सरकारसँग छ न त कम्युटर एशोसिएशन अफ नेपाल (क्यान)सँग नै ।

केही समययता विदेशी कम्पनीले नेपालमा सूचना सञ्चार तथा प्रविधि (आईसीटी) क्षेत्रमा आउटसोर्सिङ कार्य गराउने क्रम बढेको छ । कतिपय विदेशी कम्पनीले कामको जिम्मा लिने र केही अंश नेपाली व्यवसायीलाई दिने गर्छन् भने कतिपयमा नेपालीले सम्पूर्ण प्रोजेक्ट नै पूरा गर्ने जिम्मेवारी पाएका छन् ।

लोगो डिजाइनदेखि सफ्टवेयर डिजाइन तथा विकास, मोबाइल एप्लिकेशन निर्माण, वेबप्रोग्रामिङ, वेब एप्लिकेशन लगायत काममा नेपालीलाई विदेशी कम्पनीले काम दिन थाल्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । वार्षिक डेढ अर्ब रुपैयाँ बराबरको नेपाली सफ्टवेयर विदेश निकासी हुने गरेको तथ्याङ्कले देखाएको छ भने यो भन्दा दोब्बर बढी आयात गर्नुपर्ने अवस्था हामीकहाँ विद्यमान छ ।

सूचनाप्रविधिका क्षेत्रमा विदेशबाट काम ल्याउँदा वा पठाउँदा कानूनी रूपमा नियन्त्रण गर्ने प्रावधानको भने अझै पनि विकास भइसकेको छैन । यसले पनि केही व्यावहारिक कठिनाइ थपेको छ ।

बिगत लामो समय देखि आईटीमा रहेर काम गरिरहेका जिवन नेउपानेसंग हामीले नेपालमा आईटीको अबस्था, आईटीको भबिष्य, बजार तथा समस्या र चुनौतिका बिषयमा आधारित कुराकानी गरेका छौँ, माथिको भिडियो हेर्नुहोस् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan