Thursday 14th of December | २०७४ मङ्सिर २८ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्रमा सरुवा बढुवामा वन्तकै हावी, ३० वर्षे हटाएर ३२ ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २३ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ साउन । लोकमानसिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग छाडेर गए पनि त्यसले डामेका केही व्यक्तिहरुले सशस्त्र प्रहरी संगठनको बागडोर आफैंले सम्हाले जसरी सञ्चालन गरिरहेका छन् । लोकमानसिंह कार्कीले १० करोड धरौटीमा छाडेका तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त यतिबेला अख्तियारकै फरार सूचीमा छन् ।

अख्तियारकै सिफारिसमा सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक कोषराज वन्त निलम्बित भएका हुन् । तर सशस्त्र प्रहरी सञ्चालनमा भने उनी अघोषित रुपमै प्रभावशाली बनिरहेका छन् भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । तर सत्य त्यही हो ।

वन्तको निलम्बनपछि २०७२ मंसिरमा कायममुकायक महानिरीक्षक भएका दुर्जकुमार राई त्यसको पाँच महिनापछि महानिरीक्षक भएका थिए । राईको कार्यकालमा पनि उनी हावी देखिएका थिए । विशेष गरी सरुवा बढुवामा वन्त हावी देखिएका थिए, अहिले भने नीतिगत रुपमै हावी देखिएको बुझिएको छ ।

सरकारले फागुन १ गते सिंहबहादुर श्रेष्ठलाई सशस्त्रको महानिरीक्षक बनायो, तर उनले वन्तको निर्देशनविपरीत कुनै पनि काम गर्नसकेको छैनन् । वन्त सशस्त्रबाट निलम्बित भएको डेढ वर्ष बितिसक्दा पनि अहिले पनि उनकै हालीमुहाली चल्ने गरेको छ ।

महानिरीक्षक श्रेष्ठले वन्तको छायाँ भएर काम गर्ने गरेको सशस्त्र मुख्यालयमै हल्ला मात्रै चलेको होइन, यथार्थ पनि त्यही भएको त्यहाँका अधिकृतहरुले गृह मन्त्रालयसम्म उजुरी गर्न भ्याएका छन् । गृहमन्त्री जनार्दन शर्मालाई केही अधिकृतहरुले वन्तले नै प्रशासन चलाउने गरेको र पुष्पराज केसी निमित्त मात्रै भएको उजुरी गरेका छन् ।

विगतमा तीन नम्बरमा रहेका श्रेष्ठलाई एक नम्बर एआईजी वन्तले नै बनाएका थिए । त्यसकै गुण तिर्न पनि अहिले श्रेष्ठले उनको कुरा मान्ने गरेको बताइन्छ । केही दिनअघि भएको डीआईजीहरुको बढुवामा समेत वन्त हावी भएका थिए । वरिष्ठता क्रममा पछि भएका डीआईजी पुष्पराम केसीलाई नारायणबाबु थापाभन्दा अघि ल्याएर एआईजीमा बढुवा गरी प्रशासन प्रमुखको जिम्मेवारी दिनुका पछाडि वन्तकै हात रहेको बताइन्छ ।

वन्त महानिरीक्षक हुँदा थापा खरिद शाखाका प्रमुख थिए । वन्तविरुद्ध भ्रष्टाचारका जेजति मुद्दा लागेका छन्, त्यो बेला खरिद शाखामा केसी नै थिए । सबै कागजात मिलाउने काम उनैले गरेका थिए । भर्ना छनोट समितिको संयोजक रहका बेला अंगभंग भएका ४२ जनालाई तालिम दिएको अभियोगमा केसीले दुई वर्षअघि नसिहतसमेत पाएका थिए, समाचार स्रोतले बतायो ।

वरिष्ठता क्रममा प्रकाश ओझा, प्रेम शाहीभन्दा पछाडि रहेका श्रेष्ठलाई अगाडि ल्याएर वन्तले नै डीआईजीबाट एआईजीमा बढुवा हुँदा ओझा पहिलो नम्बरमा, शाही दोस्रो नम्बरमा र श्रेष्ठ तेस्रो नम्बरमा थिए । तर वन्तले एआईजीमा बढुवा गर्दा तेस्रो नम्बरमा रहेका श्रेष्ठलाई जम्प गराएर पहिलो नम्बरमा बढुवा गराएका थिए ।

जसका कारण आज उनी सशस्त्र प्रहरी बलका महानिरीक्षक भएका हुन् । प्रकाश ओझा सधै अघि भए पनि उनलाई वन्तले नै एआईजी बढुवामा दुई नम्बरमा धकेली श्रेष्ठलाई एक नम्बरमा बढुवा गरी आजको अवस्थामा ल्यादिएका हुन् ।

३० वर्षे हटाएर ३२ ?
अहिले वन्तकै डिजाइनमा सशस्त्र प्रहरीको नियमावली परिवर्तनको खेल पनि चलिरहेको छ । एआईजी केसीकै संयोजकत्वमा नियमावली परिवर्तन कार्यदल गठन गरिएको छ । सेवा अवधि ३० बाट ३२ वर्षे बनाउने पहिलेको प्रस्ताव गृहले त्यस बेलै अस्वीकार गरि फिर्ता पठाइसकेको अवस्थामा फेरि त्यही मुद्दा ब्यूताउन कार्यदल गठन गरिएको हो ।

१५ दिनअघि बसेको पीसीसी बैठकमा केसीले एआईजी ओझा, शाही र शैलेन्द्र खनालबाहेक अरुलाई संयोजक बनाउनुपर्ने लिएर आफैंले संयोजकको जिम्मेवारी लिने वातावरण बनाएका थिए । खनाललाई आईजीपी हुनबाट रोक्नकै लागि नियमावली परिवर्तनको प्रयास भइरहेको बुझिएको छ ।

यही नियमावली यथावत् रहे महानिरीक्षक श्रेष्ठसँगै एआईजीहरु ओझा, शाही घर जान्छन् । त्यसपछि खनालले तीन वर्ष महानिरीक्षक हुन अवसर पाउँछन् । तर नियमावली परिवर्तन गर्न सके खनाल पनि घर जान्छन् र केसीका लागि महानिरीक्षकको बाटो खुला हुन्छ ।

अनावश्यक चलखेलकै लागि वन्तकै डिजाइनमा महानिरीक्षक श्रेष्ठ र एआईजी केसी नियमावली परिवर्तन गरेर बीओपी (बोर्डर आउट पोस्ट) थप्ने खेलमा लागेको बताइन्छ । अहिले ८७ वटा बीओपी रहेकामा अब ८३ वटा थप्नुपर्ने भन्दै केसीले गृह मन्त्रालयमा लबिङ गरिरहेको बुझिएको छ, खबर तरुणमा उल्लेख छ ।

तर उनको त्यो लबिङ असफल भएको छ । सशस्त्रमा तत्काल बीओपी थप गर्न नसकिने गृहमन्त्रीको भनाइ रहे पनि गृहसचिव लोकदर्शन रेग्मीले भने बीओपी थप गर्न सकिने आश्वासन दिएका छन् । उनले दुई सयभन्दा बढी सशस्त्र प्रहरी अधिकृतहरुको बढुवा फाइल पनि आफ्नो घर्रामा थन्क्याएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan