Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सचिवद्वारा सरुवामा करोडौं असुली : सहसचिवहरुको सरुवाले चर्कियो झगडा !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २३ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ साउन । सरकारी सार्वजनिक जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गर्नेदेखि  एउटाको जग्गा अर्काको नाममा नापी गर्ने कार्यमा संलग्न काठमाडौं उपत्यकामा लामो समयदेखि कार्यरत कर्मचारीलाई गतवर्ष उपत्यका बाहिरका जिल्लामा सरुवा गरिएको थियो ।

तर लामो समयदेखि उपत्यकामा कार्यरत करोडौंपति ती कर्मचारी सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटी चढाएर पुनः उपत्यकामै फर्किएका छन् । सचिव सापकोटाका दलाल प्रमोद खड्कामार्फत सेटिङ्ग मिलाएर भूमिसुधार अन्तर्गतका अति बदनाम र भ्रष्ट कर्मचारीहरु उपत्यकामै फर्किएका छन् ।

सामान्य प्रशासन मन्त्रालयदेखि हरेक मन्त्रालय र प्रहरीको सरुवाका दलाल खड्काले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले उठाएर उपत्यकाका मालपोत कार्यालयबाट लखेटिएका भ्रष्ट कर्मचारीलाई पुनः फर्काएको खुलासा भएको छ । सामान्य प्रशासन मन्त्री नभएको मौका छोपी बदनाम कर्मचारीबाट घुस खाएर सरुवा गरिएको छ ।

पुष्पकमल दाहाल सरकारको बहिर्गमन र शेरबहादुर देउवा सरकारको आगमनका बीचमा सचिव सापकोटाले सरुवाबाटै १ करोड रुपैयाँभन्दा बढी असुली गरेको आरोप कर्मचारीहरुको रहेको छ । सामान्य प्रशासन मन्त्रालयले यसबीचमा गरेका सरुवा सबै लेनदेनका आधारमा भएको नाम नबताउने सर्तमा एकजना सहसचिवले बताए ।

मालपोत कार्यालय भक्तपुरमा १५ वर्षदेखि कार्यरत रही गत वर्ष सरुवा भएका नायबसुब्बा चुडामणि राजभण्डारीलाई पुनः भक्तपुर मालपोतमै ल्याइएको छ । ललिपतुरमा १० वर्षभन्दा बढी समयदेखि कार्यरत रहेका र गतवर्ष सरुवा भएका नायबसुब्बात्रय बैकुन्ठ विष्ट, कुमार राजमण्डारी र टंक पौडेललाई पनि पुनः ललितपुरमै ल्याइएको छ ।

ललितपुर मालपोत कार्यालयमा कार्यरत अति नै बदनाम अधिकृत मीनबहादुर भट्टराईलाई यातायात व्यवस्था विभागमा सरुवा गरिएको छ । नक्कली जग्गाधनी खडा गरेर चितवनको तीन विघा जग्गा बिक्री गर्न सघाउने अधिकृत भट्टराईलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुर लगनखेलस्थित मालपोत कार्यालयबाट २०७३ पुस ६ गते पक्राउ गरेको थियो ।

शाखा अधिकृत भट्टराईसहित देवेन्द्र थापा र नगेन्द्र कार्कीले किर्ते कागजपत्रका आधारमा जग्गा बेचबिखन गरेका थिए । चितवन भण्डारा–२ बस्ने लोकेन्द्रराज पाठकको नामको कित्ता नम्बर १०८२ को तीन बिघा एक कठ्ठा पाँच धुर जग्गा गिरोहले किर्ते व्यक्ति खडा गरी बेचबिखन गरेको थियो ।

अनुसन्धानमा देवेन्द्र थापासमेतको गिरोहले तत्कालीन डिल्लीबजार मालपोत कार्यालय तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी जग्गा धनीपुर्जा किर्ते खडा गरेको खुलेको हो । अधिकृत भट्टराई काठमाडौंको महाराजगंजस्थित कुष्ठरोग निवारण संघको ३ रोपनी १४ आना जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीमध्येका एक हुन् ।

उनले डिल्लीबजार मालपोत कार्यालयमा हुँदा कीर्ते कागजातकै आधारमा कुष्ठरोग निवारण संघको जग्गा २०६८ चैत ३० मा मोहलक्ष्मी पाण्डेको नाममा दर्ता गरेका थिए । पटक पटक कीर्ते गरी सरकारी र व्यक्तिको जग्गा बेचबिखनमा संलग्न अधिकृत भट्टराईले प्रमोद खड्कामार्फत १० लाख रुपैयाँ सचिव सापकोटालाई बुझाउर यातायात व्यवस्था विभागमा सरुवा भएको खुलेआम आफ्ना सहकर्मीलाई भन्न थालेका छन् ।

उनी यातायात कार्यालय बागमतीको लाइसेन्समा सरुवा हुने दाउमा छन् । त्यसका लागि उनले यातायात व्यवस्था विभागका सेटिङ गरिसकेका छन् । उनले ललितपुर मालपोत कार्यालयबाट केही दिनअघि सावित किटिनी गाविसको हदबन्दी लागेको जग्गा ५० लाख रुपैयाँ घुस लिएर गैरकानुनी रुपमा बिक्री गरेको आरोप छ ।

एक हाउजिङ कम्पनी कम्पनीले हदबन्दी लागेको उक्त जग्गा अधिकृत भट्टराईमार्फत् सेटिङ गरी बिक्री गरेको छ । हदबन्दी छलेर जग्गा बिक्री गर्ने भट्टराईमाथि छानबिन गरी कारबाही गर्नुपर्नेमा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गर्दै यातायात विभागमा सरुवा गरेको छ ।

सहसचिवहरुको सरुवाले चर्कियो झगडा
शेरबहादुर देउवा नेतृत्वको सरकारले विभागीय प्रमुखमा सरुवा भएको ६ महिना पनि नपुगेका सहसचिवहरुलाई अन्यायपूर्वक सरुवा गरेको छ । देउवा नेतृत्वको सरकारले एक वर्ष पनि नपुगेका सहसचिवहरुलाई सरुवा गरी प्रशासन क्षेत्रमा आतंक मच्चाएको छ ।

सरकारले ३६ सहसचिव सरुवा तथा पदस्थापना गरेको ४ दिन बितिसकेको छ । तर सरुवा भएका सहसचिवहरुलाई कुन मन्त्रालयमा भएको हो भन्ने २०७४ साउन २२ गते आइतबारसम्म पनि अन्योल छ । गृह र अर्थ मन्त्रालयमा भएको सहसचिव सरुवामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कुरा नमिलेर झगडा परेपछि यो समाचार तयार पार्दासम्म मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मन्त्रिपरिषद्को २०७४ साउन १९ को निर्णयअनुसार सरुवा कार्यान्वयन गरेका छैनन् ।

मुख्यसचिव क्षेत्री, सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, सामान्य सचिव मोहनकृष्ण सापकोटा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले सहसचिव सरुवाको टुंगो लगाउने जिम्मा पाएका छन् । सहसचिव सरुवामा सबैभन्दा बढी विवाद नै अर्थ र गृहमा देखिएको छ । अर्थमन्त्रालयमा पाँच जना सहसचिव भित्रिएका छन् भने ६ बाहिरिएका छन् ।

अर्थ भित्रिनेमा उत्तम कुमार खत्री, राजकुमार श्रेष्ठ, जगदिश रेग्मी, रुपनारयण भट्टराईको नाम छ । किशोरजंग कार्की यसअघि नै अर्थअन्तर्गत आन्तरिक राजस्व विभागका महानिर्देशक भइसकेका छन् । अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयका प्रमुख बलराम रिजाललाई ६ महिना पनि नपुगी प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

उनी कार्यालयकै कामले अमेरिका भ्रमणमा रहेकै बेला न्यूनतम मानवीय संवेदन पनि नदेखाई सरुवा गरिएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक रामकृष्ण सुवेदीलाई ८ महिनामै सरुवा गरिएको छ । कांग्रेसको भागमा अर्थ परेपछि सुवेदीले आफ्नो सरुवा हुने पक्का ठानेपछि ७ वटा महाशाखाबाट एक महिना अघि नै विशेष शुभलाभ लिएको चर्चा छ ।

शिवचन्द्र पन्त, डिलाराज आचार्य, नारद गौतमलगायतका आफू निकट कर्मचारीहरु परिचालन गरेर शुभलाभ हात पारेको चर्चा छ । माओवादी निकट सहसचिवमा दरिएका सुवेदी गृह मन्त्रालयमा सरुवा हुने लिष्टमा रहेका छन् । स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा एक वर्ष पनि नपुगी सरुवा र्गा पनि मुख्यसचिव क्षेत्रीले अडान लिन नसकेको आरोप छ, खबर साँघुमा उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक विश्वप्रकाश सुवेदी लोकसेवा आयोगमा सरुवा भएका छन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका हरिप्रसाद बस्याललाई आपूर्ति मन्त्रालयमा लगिएको छ । आनन्दराज ढकाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन् । अर्थका सहसचिव रमेशकुमार केसी गृहमा सरुवा भएका छन् । 
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan