Thursday 19th of October | २०७४ कार्तिक २ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘निर्वाचनको विषयलाई लिएर भइरहेको गतिविधि पर्यटन क्षेत्रको विकृति’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २६ बिहिबार
newsabhiyan

काठमाडौँ, २६ साउन । नेपाल पर्वतारोहण संघको यही साउन २१ गते सम्पन्न निर्वाचनमा पराजित समूहले धाँधली भएको भनी अनर्गल प्रचार गरिएको भन्दै नवनिर्वाचित सन्तवीर लामा समूहले आपत्ति जनाएको छ ।

उक्त समूहले आज पत्रकार सम्मेलन गरी लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचित समितिलाई स्वीकार गर्न नसक्नु प्रत्याशीको पराजित मानसिकताको उपज हो भनेको छ ।

निर्वाचनमा फर्जी मतदान गरी धाँधली गरेको भनी पराजित जिङ्बा जाङबु शेर्पा समूहले दुई दिनअघि पत्रकार सम्मेलन गरी पुनः मतदानको माग गरेको थियो ।

उसले निर्वाचनमा चलखेलमा संलग्न सचिवका उम्मेदवार टीकाराम गुरुङलाई दोषी ठहर गरी जिल्ला प्रशासन कार्यालयमा यही साउन २३ गते निवेदन दिएको छ ।

आरोपित गुरुङले पराजित समूहका अध्यक्षका प्रत्याशीसहितको समूहले धाँधली गरेको भन्ने आरोप लगाएर सञ्चारमाध्यममा तथ्यहीन प्रचार गरेकामा दुःख व्यक्त गर्नुभयो ।

उहाँले आफू संघको कोषाध्यक्ष भएको हैसियतले मतदाताको भावनानुरुप छुटेको परिचयपत्र कर्मचारीको रोहबरमा कार्यालयमा लिन गएको र यसमा पर्यटन विभागका कर्मचारीको कुनै संलग्न नरहेको प्रष्ट पार्नुभयो ।

अध्यक्ष लामाले निर्वाचनबारे अनर्गल प्रचार गरी संस्थाको बदनाम गर्न खोज्ने निर्वतमान अध्यक्षसहितको कार्यसमितिलाई कानूनी कारबाही गरिनुपर्ने बताउनुभयो । लामा समूहबाट महासचिव पदमा पराजित बोधराज भण्डारीले स्वच्छ र धाँधलीरहित निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य हुने बताउनुभयो ।

लामा समूहका निर्वाचन परिचालन कमिटीका संयोजक निमानुरु शेर्पाले निर्वाचनको विषयलाई लिएर भइरहेको गतिविधि पर्यटन क्षेत्रको विकृति भन्दै यसलाई सुधार्न कानुनी उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।

नयाँ कार्यसमिति शपथ लिँदै

संघको नवनिर्वाचित कार्यसमितिले बैठक गरी चाँडै जिम्मेवारी ग्रहण गर्ने भएको छ । अध्यक्ष लामाले एक÷दुई दिनमै नयाँ कार्यसमितिले शपथ लिने जानकारी दिनुभयो । निर्वाचनमा लामा र शेर्पा समूहले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनबाट अध्यक्षसहितका पदाधिकारी र सदस्य गरी १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । जम्मा २५ सदस्य रहने संघको कार्यकाल तीन वर्षको हुनेछ । रासस
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan