Sunday 22nd of October | २०७४ कार्तिक ५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइतबार संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित हुन्छ : वाणिज्यमन्त्री विश्वकर्मा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २७ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं,  २७ साउन । वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने ठोकुवा गरेका छन् । प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै भने,‘आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लगी निर्णयार्थ पेश हुन्छ र पारित पनि हुन्छ ।’

प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै त्यसबारे आन्तरिक छलफल भइरहेको खुलासा समेत गरे । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको मन्त्री विकको भनाई थियो । उनले भने,‘एमालेका लागि संविधान संशोधन प्रस्ताव निल्नु न ओकल्नु भइसक्यो ।

 राजनीतिक सहमति गरेर अगाडि बढ्ने नीतिका साथ सरकार लागेको बताए ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मंसिरको पहिलो हप्ताका लागि प्रदेश र संसदको चुनाव एकैसाथ गर्नेगरी घोषणा हुने खुलासा गरे ।

सरकार एकै चरणमा चुनाव गर्ने पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अगाडि चुनावको मिति घोषणा हुने बताए । सरकारले राजनीतिक माहोल मिलाइसकेको र निर्वाचन आयोगले प्राविधिक र जनशक्तिको विषय टुंगो लगाएपछि चुनावको मिति घोषणा हुने बताए ।

एकै चरणमा चुनाव गर्दा प्रमुख प्रतिपक्षी एमालेको समेत चित्त बुझ्ने भएकाले त्यसबारे राजनीतिक सहमति बनिसकेको बताए । चुनाव एकै चरणमा गर्दा मतपेटिका, कर्मचारी र प्राविधिकको संख्या चार गुणा बढी हुने भएकाले चुनौती रहेपनि सरकारले चुनाव गरेरै छाड्ने बताए ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे । नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए ।

उनले भने,‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो ।

पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए । ज्ञवालीले भने,‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ । संविधान संशोधन प्रस्ताव बारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाई थियो ।

जस्तोसुकै चलखेल गरेपनि प्रदेश नम्बर दुईको स्थानीय चुनावमा एमाले पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले गराउने प्रदेश र संसदको चुनावमा भाग लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने,‘यसै सरकारले चुनाव गराओस् एमाले चुनावबाट भाग्दैन बहुमत ल्याएर सरकार चलाउनेछ ।’

चिकित्सा क्षेत्रको विकृतिविरूद्ध डा.गोविन्द केसीले गरिरहेको अनशनको मनशाय गलत नभएको बताए । समस्याको तत्काल समाधान खोजिनुपर्ने तर चिकित्सा क्षेत्रमा लगानी गरेकाहरूलाई समेत अन्यायमा पार्न नहुने उनको भनाई थियो । मध्यमार्गी बाटोबाट समाधान निकाल्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘सरकारले हिजो गरेको गल्तीको भागिदार सर्वसाधारण र लगानीकर्ता हुनुहुँदैन । लगानी खरिद हुनुपर्छ ।’

अनसनलाई आधार बनाएर एमालेलाई लाञ्छित बनाउने क्रियाकलाप भइरहेकोप्रति आपत्ति जनाए । उनले भने,‘गोविन्द केसीका नाममा एमालेलाई लाञ्छित गर्ने घटिया राजनीति भइरहेका छन् ।’
माओवादी केन्द्रका नेता तथा पूर्व कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने बताए । राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको खुलाए । उनले भने,‘राष्ट्रिय सहमति गरेर संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’

नेकपा एमालेलाई राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउँदै देश र जनताको हितका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षीले आफ्नो भूमिका सही ढंगले ननिभाएकाले संकट समाधानमा ढिलाई भइरहेको बताए । उनले भने,‘एमालेले प्रमुख प्रतिपक्षीको दायित्व निभाउनुपर्नेमा निभाएन । गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेको छ ।’
राजपा चुनावमा आउने वातावरण बनेको बेला अड्को थाप्न नहुने बताए ।

चुनाव कसैले जस लिने र अपजस लिने विषय नभएकाले स्वार्थको विषय बनाउन नहुने बताए । संविधान संशोधनको विषयमा एमालेले भित्र एउटा गर्ने र बाहिर अर्को बोल्ने गर्दै आएको आरोप लगाए । एकै चरणमा चुनाव हुनुपर्नेमा उनको जोड थियो । चुनावमा माओवादी केन्द्रले सरकारमा भएका र सरकारलाई समर्थन दिएका दलहरूसँग तालमेल गर्ने सम्भावना औल्याएँ ।
डा.गाविन्द केसीको माग सम्बोधन गर्न कुनै ढिलाई गर्न नहुने नायकको भनाई थियो । तर, देशमा गम्भीर मुद्या उठिरहँदा केसीको अनसन शुरू हुने घटना दोहोरिनुलाई आफूहरूले गम्भीर रुपमा लिएको बताए ।

राष्ट्रिय जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरे । एमालेलगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने बताए । उनले भने,‘हैर्दैजानुहोस् एमालेलगायतका दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ हुन्छ ।

’ एमालेले बाहिर बाहिर जे धारणा सार्वजनिक गरेपनि भित्र भित्र सहमतिको पक्षमा आइसकेको खुलाए । संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकाले आफूहरू पनि लचिलो बनेको बताए । देशको हितका लागि लचिलो भएर जानुको विकल्प नभएको यादवको भनाई थियो ।

कसैले पनि मेरो गोरूको बा¥है टिक्का गर्न नहुने भन्दै सहमतिबाट बढ्नुको विकल्प नभएको बताए । संशोधन प्रस्ताव पारित नभए चुनावमा जानुहुन्छ भन्ने प्रश्नमा यादवले भने,‘संशोधन प्रस्ताव पारित गर्नका लागि ल्याइदैछ । खेलको नियम मानेर सबैले बढ्ने हो ।’ सरकारले तीन बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने भन्दै आएकोमा सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताए ।

सर्वोच्चको निर्णयले चुनावमा जाने वातावरण बनेको उनको भनाई थियो । चुनाव लोकतन्त्रको आत्मा भएकाले जनमतको सम्मान गरी अगाडि बढ्नुपर्नेमा आफूहरू रहेको स्पष्ट पारे । चुनाव चिन्ह पाउनेवित्तिकै चुनावमा जाने प्रक्रिया बढ्ने बताए ।
संविधान संशोधन प्रस्ताव देशको एकता, सार्वभौमिकता, राष्ट्रिय मेलमिलापसँग जोडिएकाले सबै अग्निपरिक्षामा रहेको बताए । जो जो सहमतिमा आउँदैनन् तिनको अराष्ट्रवादी र देशघाती चरित्र खुल्ने यादवको भनाई थिाये ।

डा.गोविन्द केसीको मागमा अबिलम्ब सहमति गरेर टुंग्याउनुपर्नेमा यादवको जोड थियो । मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan