Monday 21st of August | २०७४ भदौ ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माडी क्षेत्रका दुई सय घर डुबानमा ,पहिराले घर पुरिँदा महिलाको मृत्यु,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

माडी–ठोरी हुलाकी सडक अवरुद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २८ शनिबार
newsabhiyan

चितवन, २८ साउन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् ।

बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको बताउनुभयो । राति डुबानमा परेका घरबाट स्थानीयवासी अग्ला ठाउँमा गएर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पु¥याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीयवासीले बताएका छन् ।

माडी–ठोरी हुलाकी सडक अवरुद्ध
वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार माडी–ठोरी हुलाकी सडकको चितई खोलाको पुल बाढीले ढल्काएपछि सो सडक अवरुद्ध भएको छ । त्यसैगरी बरुवा बजारबाट लक्ष्मुनिया क्षेत्र जाने डाङ्ग्रे खोलाको पुल पनि बाढीले क्षति पु¥याएपछि सो सडक पनि अवरुद्ध बनेको उहाँले बताउनुभयो ।

ती ठाउँमा मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विस्तृत विवरण संकलन भइरहेको छ । डुबानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी, स्थानीयवासीसहित निकुञ्जका सात हात्ती उद्धारमा परिचालन गरिएको छ । जिल्लाबाट प्रजिअ नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुखसहितको टोली बिहान डुबानस्थलतर्फ प्रस्थान गरेको छ ।  

पहिराले घर पुरिँदा महिलाको मृत्यु

 पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ ।

दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिनुभयो । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिनुभयो । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ ।

यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरी चौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी छतमा बस्नुपरेको छ ।
रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan