Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालको नयाँ संविधानप्रति विश्वको सद्भाव र स्वागत

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan
newsabhiyan

एकराज पाठक,  दशवर्षे युद्ध गरेको माओवादीले दुई दुई पटकसम्म सरकारको नेतृत्व गरेको छ । देशमा जातीय आन्दोलनको विजारोपण भएको छ र यसैका कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको अवस्था छ ।

यस बीच नेपालले धेरै आरोह अवरोह व्यहोरेको छ ,त्यसैगरी विविध जातजाती, धर्म, भाषा, वर्ण र सम्प्रदायको एउटै मालाका रुपमा रहेको नेपालमा आ– आफ्नो जातीय नाममा राज्यको विभाजनको विजारोपण पनि यस बीचमा भयो ।

तर पनि यी सबै अप्ठेराहरुलाई झेल्दै दुर्लभ मानिएको यस दोस्रो संविधान सभाले नयाँ संविधान जारी गर्न सफल भएको छ । त्यसैले यतिखेर नेपाली जनता ऐतिहासिक महत्वपूर्ण क्षणको अनुभूति गरेका छन् । यस क्षणलाई विश्व समुदायले पनि नेपालजस्तो तेस्रो विश्वको देशको एउटा ऐतिहासिक उपलब्धिकारुपमा हेरेको छ ।

यस संविधानमा विदेशी एवम् छिमेकीहरुको ठूलो सद्भाव रहेको छ । उत्तरको मित्रराष्ट्र चीनले संविधान सभाबाट संविधान पारित भएको भोलिपल्टै खुसी व्यक्त गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नेपालमा संविधान पारित भएको खबरले चीन सरकार निकै खुसी भएको बताउनुभएको छ । चीनले नेपालको संविधानको स्वागत गर्दै चीन नेपालको विकासका साथै समृद्धिको बाटोमा हिडेको देख्न चाहेको बताएको छ ।

त्यसैगरी भारतले पनि नेपालले आफै संविधान निर्माण गर्न सकेको र नेपाली जनताले आफ्ना लामो समयको छलफलपछि भएपनि आफ्ना जनप्रतिनिधिमार्फत नयाँ संविधान जारी गरेकोमा बधाई ज्ञापन गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जारी गर्नुभएको विज्ञप्तिमा यस संविधानलाई बधाईका साथै तराई क्षेत्रका केही राजनीतिक दलले राखेको असहमतिका बुदाहरुलाई पनि समेट्न आग्रह गरिएको छ ।

संविधान सभामा हाल कायम रहेका ५९८ सभासदमध्ये ५०७ जनाले संविधानको पक्षमा मतदान गरेका थिए । त्यस दिन हस्ताक्षर नगरेको राप्रपा नेपालले पनि भोलिपल्ट संविधानमा हस्ताक्षर गरेको छ । यसरी संविधानको पक्षमा रहेका सभासदको सङ्ख्या ५३७ पुगेको हो । यो सङ्ख्या ९० प्रतिशतको हाराहारी पुग्छ ।

केही तराई दलको मात्र यसमा असमति रहेकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विशेष दूत नेपाल पठाउनुभयो । असोज १ गते नेपाल आएका प्रधानमन्त्री मोदीका विशेष दूत भारतीय विदेश सचिव एस जयशंकर २ गते फर्किनुभयो । उहाँले तराई दललाई मिलाउन सरकार र दलसँग गरेको आग्रहमा नेपालका नेता र सरकारले हालका लागि पनि वार्ताको ढोका जारी नै राखेको र पछि संशोधनमा पनि मिलाउने जवाफ दिएका थिए ।

यस संविधानको निर्माणप्रति संयुक्त राज्य अमेरिकाले पनि खुसी व्यक्त गरेको छ । अमेरिकाले लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि संविधान महत्वपूर्ण हुने विश्वास लिएको बताएको हो । नेपालमा लोकतान्त्रिक प्रक्रिया र आर्थिक विकासका लागि जग प्रदान गर्न नयाँ संविधान लेखन प्रक्रिया महत्वपूर्ण हुने संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

अमेरिकाका विदेश मन्त्रालयका प्रवक्ता जोन किर्वीले विज्ञप्ति जारी गर्दै नेपालमा जारी संविधान लेखनको अन्तिम प्रक्रियालाई आफ्नो मुलुकले नजिकबाट नियालिरहेको भन्दै संविधानसभामा मतदान प्रक्रिया जारी रहेको बेला यो दस्तावेजले रचनात्मक, समावेशीता र लचकतालाई बढोत्तरी गर्दै शान्तपूर्ण र समृद्ध नेपाल निर्माण गर्न सहयोग गर्ने बताउनुभएको थियो ।

नयाँ संविधानले लैङ्गिक समानता र आधारभूत स्वतन्त्रताजस्ता मौलिक हकको सम्मान गर्ने अमेरिकाले विश्वास लिएको विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी युरोपेली सङ्घले विस्तृत शान्ति सम्झौतालाई अन्त्य गर्ने संविधानसभाबाट नयाँ संविधान जारी हुने कार्य नेपालको ऐतिहासिक घटना भएको जनाएको छ ।सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी नयाँ संविधानको घोषणाले दिगो विकास, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी जापान सरकारले पनि नयाँ संविधानको स्वागत गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघलगायत विश्व समुदायले नेपालले नयाँ संविधान सभामार्फत नयाँ संविधान पाएको घटना ऐतिहासिक र उपलब्धिमूलक भनी टिप्पणी गरेका छन् ।

नयाँ संविधान असोज ३ गते अथवा आजैदेखि लागू हुदैछ । आज साँझ पाँच बजे राष्ट्रपति डा रामवरण यादवले संविधान सभामै पुगेर उक्त संविधानमा लालमोहर लगाउने कार्यक्रम छ ।

त्यस कार्यक्रमलाई भव्य बनाउन नेपाल सरकारले संविधान सभास्थल सिंगारेको छ भने आइतबार र सोमबार सार्वजनिक विदा पनि दिएको छ । यतिखेर भने नेपाली जनता सात दशक लामो पर्खाइको लगभग अन्तिममा आइपुगेका छन् । रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan