Wednesday 18th of October | २०७४ कार्तिक १ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कमल चौलागाईबाट आयो यस्तो कुरा 'ज्ञानेन्द्रले राजनीति बुझेनन् भारतले खेलायो'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज १९ बिहिबार
newsabhiyan
newsabhiyan

कठिन अवस्थामा कम्युनिस्ट आन्दोलनमा होमिएका कमल चौलागार्इं नेपाल कम्युनिस्ट पार्टी चौम, एकता केन्द्र, एमाले, माले, फेरि एमाले, राजावादी हुँदै आफैँले संयुक्त राष्ट्रवादी समाजवादी पार्टी खोलेर बसेका छन् । कम्युनिस्टहरू ढोँगी भएको, तर मन्डले हुन नसक्ने निष्कर्ष निकाल्दै संयुक्त राष्ट्रवादी समाजवादी पार्टी गठन गरी अघि बढेको तर्क उनको छ । चौलागार्इं एमालेबाट राजीनामा दिएर लोकेन्द्रबहादुर चन्दको सरकारमा मन्त्री भएका थिए । आफ्नो राजनीतिक यात्राबारे उनले प्रेम गौतमसँग कुराकानी गरेका छन् ।


०३१ सालमा गाउँको अवस्था र त्यहाँ हुने थिचोमिचोको विरोधमा जागरण ल्याउन सांस्कृतिक अभियान चलायौँ । त्यतिवेला म बिएस्सी पढ्दै थिएँ । सांस्कृतिक अभियानअन्तर्गत शोषणविरुद्धको नाटक मञ्चन गरी त्यसका माध्यमबाट गरिब, उत्पीडितमा जागरण ल्याउने काम गरियो । ०३२ मा बिएस्सी सकेपछि विद्यार्थी आन्दोलनकै क्रममा म जेल परेँ । जेलमै तत्कालीन भूमिगत पार्टी नेकपा चौथो महाधिवेशन (चौम)सँग सम्पर्क भयो । ०३३ सालमा स्नाकोत्तरमा भर्ना भएँ ।

०३४ सालमा प्रयोगात्मकका लागि अर्घाखाँची जिल्लामा परेँ । त्यहाँ पनि चौमसँग सम्पर्क भयो । त्यसपछि बाँकी एक वर्षको कोर्स नसकी पूर्णकालीन राजनीतिमा होमिन पुगेँ । मलाई असारे काकाले सदस्यता दिनुभएको हो । चौमको संगठन विस्तारका लागि जिल्ला कमिटी सेक्रेटरी भएर रामेछाप गएँ । त्यसपछि पूर्वाञ्चल ब्युरोमा खटिएँ । सिन्धुलीमा दमन भएपछि सम्पर्कमा आएका नेता तथा कार्यकर्तालाई हामीले संरक्षण दियौँ । त्यही क्रममा पार्टीले मलाई विद्यार्थी क्षेत्रमा ल्यायो ।

०३८ सालको अखिल छैटौँको विद्यार्थी सम्मेलनका क्रममा म गिरफ्तार भएँ । भूमिगत रूपमा भएको सातौँ सम्मेलनले मलाई महासचिव चुन्यो । जेलबाट छुटेपछि संगठनको काममा थप सक्रिय भएँ । ०४० सालमा चौमभित्रै गुटबन्दी भयो र पार्टी विभाजित भयो । त्यसको असर विद्यार्थी आन्दोलनमा पनि पर्‍यो । निर्मल लामाले नेतृत्व गरेको चौमसँग निकट विद्यार्थी संगठनको महासचिव भएँ । विद्यार्थी आन्दोलनकै क्रममा बाँकी रहेको स्नाकोत्तरको अध्ययन पनि पूरा गरेँ ।
०००
०४३ सालमा चौमले राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारहरू उठाउने निर्णय गर्‍यो । निरंकुश राजतन्त्रको भन्डाफोर गर्दै पञ्चायती व्यवस्था अन्त्यको घोषणापत्र लिएर निर्वाचनमा होमियौ, तर चौमका कुनै पनि उम्मेदवारले जित्न सकेनन्, म पनि पराजित भएँ । ०४४ सालमा फेरि गिरफ्तारीमा परेँ । रामेछापको जेलमा बसेको थिएँ । भाइ ज्ञानु चौलागार्इंको बन्दी प्रत्यक्षीकरण रिटमा अदालतको आदेशबाट म छुटेँ । बहुदल आएपछि चौम, चौमबाट फुटेको प्रचण्ड नेतृत्वको मसाल, रूपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा पार्टी, शितलकुमार (हरिबोल गजुरेल)को पार्टी विद्रोही मसाल मिलेर नेकपा एकताकेन्द्र बन्यो । त्यसको वैधानिक घटक बाबुराम भट्टराई संयोजकत्वको संयुक्त जनमोर्चाको नामबाट केही उम्मेदवार उठाइयो ।

०४८ सालको प्रतिनिधिसभामा पार्टीबाट नौजनाले जित्यौँ । म रामेछापबाट निर्वाचित भएँ । ०५१ सालमा पार्टी फुट्यो । प्रचण्ड, मोहन वैद्यहरू जनयुद्धको नारा लिएर चुनाव बहिष्कारमा गए । पार्टी छिन्नभिन्न भयो । मसहित केही साथीहरूले एमालेसँग संयुक्त रूपमा वार्ता गर्‍यौँ र एमालेसँग एकता गर्‍यौँ । एमालेमा महाकाली सन्धिको विवाद आयो । अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधवकुमार नेपाल हुनुहुन्थ्यो । सन्धि गर्न हुन्न भन्ने पक्षमा केन्द्रीय कमिटीका बहुमत सदस्य थिए । अनेक तिकडम गरेर सन्धिको विपक्षमा हुनेहरूलाई अल्पमतमा पारियो । सन्धिको विरोध गर्ने १७ र पक्षमा उभिने १८ जना भए । मनमोहन बिरामी भएका कारण उहाँको ठाउँमा वैकल्पिक केन्द्रीय सदस्यलाई मताधिकार दिने पार्टीले निर्णय गर्‍यो । त्यही विषयलाई लिएर एमाले विभाजित भयो ।

दरबारका भान्से, चालक मेरै जिल्लाका मानिस थिए । उनीहरूले दाइ दरबारमा यस्तो, यस्तो भयो भन्थे । त्यो विषय मैले मालेका नेताहरूलाई बताउँदै आएको थिएँ । दीपेन्द्र र देवयानीको बिहेको प्रस्ताव आएको थियो । चीन भ्रमणको समयमा पनि यस्तो भएछ । राजा वीरेन्द्रले चीनबाट फर्केपछि अनुमति दिउँला भनेछन् । त्यसपछि पनि दिएनछन् ।
एमालेमा रहेका ३५ मध्ये १४ जना केन्द्रीय सदस्य अलग्गिएर नेकपा माले (सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव) बनायाैँ । मालेबाट प्रतिनिधिसभाको सदस्यमा चुनाव लडेँ । एमालेले जनमोर्चाका उम्मेदवार अमिक शेरचनलाई समर्थन गर्‍यो । म थोरै मतले पराजित भएँ । कांग्रेस उम्मेदवार विजयी भए । माले लामो समयसम्म टिक्न सकेन, फेरि एमालेसँगै एकता भयो । हामी एमालेमा आयौँ । मसहित ११ जना केन्द्रीय सदस्य बन्यौँ, तर तीनजनालाई केन्द्रीय सदस्य बनाइएन । जसले हिजो राष्ट्रवादको विषय लिएर भारतको विरोध गरेका थिए, तिनीहरूप्रति पार्टी पूरै पूर्वाग्रही भयो । एकता गरे पनि हामीलाई किनारा लगाउने अवस्था आयो भनेर हामीले वामदेव गौतमलाई भन्यौँ ।

उहाँले मेरै त ठेगान छैन, आ–आफ्नो भविष्य सुरक्षित गर्नू भन्नुभयो । माले–एमाले एकता भएपछि म रामेछापको फिगरमै थिएँ । माधव नेपालले मलाई विस्थापित गर्न रामेछापबाट होइन, अन्तैबाट तपाईं निर्वाचन लड्नुपर्छ भने । एमालेमा कुनै राष्ट्रवादीहरू रहन सक्दैनन् भन्ने निष्कर्षमा म पुगेँ । माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइरालाले राजासँग मिलेर शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गिराए ।

१८ असोजमा सरकार बनाउने कुरा भएपछि एमालेले वार्ता गर्‍यो । नेपाललाई कोइरालाले सपोर्ट नगर्ने र कोइरालालाई नेपालले सपोर्ट नगर्ने भएपछि दरबारले पनि खेल्यो । अन्तिममा दरबारले लोकेन्द्रबहादुर चन्दलाई प्रस्ताव गर्‍यो । कोइराला र नेपाल दुवैले समर्थन गरे । गृह मन्त्रालयसहित एमाले सरकारमा जाने तयारीमा थियो । तर, एमालेलाई रोक्न दरबारले गृह मन्त्रालयसहित अन्य महत्वपूर्ण मन्त्रालयका साथ लोकेन्द्रबहादुर नेतृत्वको सरकार घोषणा गरिदियो । एमाले भड्कियो र आन्दोलनमा गयो । मैले त्यसको विरोध गरेँ र राजीनामा दिएँ । राजा प्रत्यक्ष रूपमा आएपछि राष्ट्रवादी शक्ति बलियो हुन्छन् र माओवादी द्वन्द्वको पनि समाधान निकाल्न सकिन्छ भन्ने लाग्यो । म वार्ता टोलीमा पनि बसेँ । तर, पछि बुझ्दा खेलै अर्को रहेछ ।

डा. बाबुराम भट्टराईको नेतृत्वमा माओवादी वार्तामा आएपछि कुरा मिल्दैन भन्ने पक्कापक्की नै थियो । राजा ज्ञानेन्द्रमा पनि महत्वाकांक्षा बढ्दै गयो । कमल थापाहरू र आर्मीको एउटा समूह ज्ञानेन्द्रलाई निरन्तर उक्साएर माओवादीसँग पनि मिल्न नदिने र संसद्वादी दलसँग पनि मिल्न नदिने खेलमा लागे । ती सबै काम भारतको योजनामा भइरहेको थियो । माओवादीसँगको वार्ता असफल भयो ।

त्यतिवेला प्रचण्ड सेटलमेन्टमै पक्षमा थिए । तर, बाबुरामले वार्ता असफल बनाए । चन्द नेतृत्वको सरकार ढलेपछि सूर्यबहादुर थापा प्रधानमन्त्री बने । त्यो वेला एमालेका केपी ओली र वामदेव गौतमहरू सरकारमा आउन खोजेका थिए । सूर्यबहादुरसँग कुरा गर्न पनि गए । वामदेवले मलाई भने अनुसार ‘एक घण्टा कुरा गर्दा ४५ मिनेट सूर्यबहादुर निदाए रे’ सूर्यबहादुरले भोलिपल्टै भनिदिए ‘म पार्टी फुटाएर सरकारमा लिन्नँ ।’
०००
तत्कालीन राजा ज्ञानेन्द्रमा राजनीतिक सुझबुझ रहेनछ । उनले राजनीति बुझेनन्, भारतले खेलायो । कांग्रेस–एमालेसँग पनि राजा नांगिए, माओवादी र पञ्चहरूको बीचमा पनि राजालाई नंग्याइयो । कमल थापालाई मात्र च्यापेर हिँड्यो भनेर सूर्यबहादुर, पशुपति शमशेरहरू रिसाए । फेरि शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए । शेरबहादुरले गोरखाको राजाले न्याय दिन्छन् भने । एमाले पनि प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गयो । लोकेन्द्रबहादुर, सूर्यबहादुर र शेरबहादुर नेतृत्वको सरकार एउटै प्रावधानबाट बनेका हुन् । हामीलाई राजावादी भएको आरोप लग्यो, तर उनीहरूलाई लागेन । त्यो सरकार पनि चल्न सकेन । ज्ञानेन्द्रले आफैँ प्रत्यक्ष शासन चलाए ।
०००
सूर्यबहादुरको पालामा स्थानीय निकायमा निर्वाचितहरूलाई मनोनीत गर्ने नीति थियो । त्यहाँ एमालेभित्रका १८–१९ जिल्लामा निर्वाचित सभापति र उपसभापतिलाई मेरै पहलमा मनोनीत गर्ने कुरा भएको थियो । पछि, ज्ञानेन्द्र प्रत्यक्ष शासनमा आएपछि दरबारले कांग्रेस–कम्युनिस्टबाट आएका सबैले कमल थापाको पार्टीको सदस्यता लिनुपर्ने भन्यो । मैले भनेँ, ‘म मन्डले हुन आएको होइन ।’

पञ्चायतकालमा कांग्रेस–कम्युनिस्टलाई ढुंगा हान्न गठन भएको मन्डलेको सैद्धान्तिक विषय नै केही पनि थिएन । कांग्रेसबाट अलग भएकालाई स्वतन्त्र रूपमा लाग्न दिनुस्, कम्युनिस्टबाट आएका हामी पनि स्वतन्त्र रूपमा लाग्छौँ भन्ने मेरो प्रस्ताव थियो । त्यसपछि मैले सिफारिस गरेका कसैलाई पनि मनोनीत गरेनन् ।
०००
म राष्ट्रिय राजनीतिमै थिएँ । त्यसक्रममा राजासँग सम्पर्क नहुने भन्ने कुरै भएन । ०४७ को संविधानअनुसार हामीले काम गरेका हौँ । राजा पनि एउटा पार्ट थिए । राजाले बोलाउँथे, कुराकानी हुन्थ्यो । ज्ञानेन्द्रलाई त्यतिवेला राजपरिवार हत्याको आरोप लागेको थियो । फायर दीपेन्द्रले गरेको भन्नेमा म स्पष्ट थिएँ । दीपेन्द्र र देवयानीको प्रेम प्रसंगबाट कुनै न कुनै अप्रिय घटना हुन्छ । त्यसको पछाडि बाह्य शक्तिको खेल छ भन्ने कुरा मैले एक वर्षअघिदेखि सुनिरहेको थिएँ ।

दरबारका भान्छे, चालक मेरै जिल्लाका मानिस थिए । उनीहरूले दाइ दरबारमा यस्तो, यस्तो भयो भन्थे । त्यो विषय मैले मालेका नेताहरूलाई बताउँदै आएको थिएँ । दीपेन्द्र र देवयानीको बिहेको प्रस्ताव आएको थियो । चीन भ्रमणको समयमा पनि यस्तो भएछ । राजा वीरेन्द्रले चीनबाट फर्केपछि अनुमति दिउँला भनेछन् । त्यसपछि पनि दिएनछन् ।

दरबार हत्याकाण्ड भएपछि मालेकै साथीहरूबाट फोन आयो–तपाईंले पहिले नै भन्नुहुन्थ्यो । साँच्चिकै घटना भयो के हो बुझ्नुस् न । मैले घटनाबारे बुझेर वामदेवसहित मालेका नेताहरूलाई भनेको थिएँ । तर, मिडियाले गलत ढंगले समाचार बनाए । मैले निर्मल निवासमै ज्ञानेन्द्रलाई घटनाबारे भनेको थिएँ । त्यो दिन उनी केही बोलेनन् । अर्को भेटमा उनले मलाई सहयोग गर्नुपर्छ भने । राजा भएपछि नै ज्ञानेन्द्रसँग मेरो पहिलोपटक भेट भएको हो । नयाँ पत्रिकाबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan