Wednesday 13th of December | २०७४ मङ्सिर २७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोहन वैद्य भन्नुहुन्छ, देशभक्त र क्रान्तिकारीलाई गोलबद्ध भएर अघि बढ्ने मौका अायाे

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २४ मंगलबार
newsabhiyan
newsabhiyan


नेकपा एमाले, एमाओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको तत्कालका लागि चुनावी तालमेल र निर्वाचनपछि एकतामा जाने निर्णयसँग देश र जनताको स्वार्थ जोडिएको छैन। हुन त स्थिरता, विकास र समृद्धिका लागि एकता भनिएको छ, स्वार्थ मिल्ने समूहबीचको एकताले मात्र मुलुकलाई समृद्धिको मार्गमा लगेको इतिहास छैन।

स्थिरता र समृद्धि जनता झुक्याउने नयाँ रणनीतिबाहेक केही पनि होइन। वाम एकता गर्ने भनिएको छ, तर यसलाई कम्युनिस्ट नाम जोडिएका अवसरवादीबीचको मात्र एकता भन्दा उपयुक्त हुन्छ।

बदलिँदो स्वार्थ प्रतिबिम्बित भएको यो एकतामा मुलुक र जनताको सक्कली अनुहार झल्किँदैन। यथार्थमा यो एकताले कथित देशभक्तिको र माओवादी केन्द्रको जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मुखुन्डो उतारिदिएको छ। एकता प्रयासले उनीहरूको सक्कली चरित्र उदांगो भएको छ। यसले सच्चा देशभक्त र प्रगतिशील शक्तिका बीचमा संयुक्त मोर्चाको आवश्यकता औंल्याएको छ।

धरातलीय यथार्थका आधारमा प्रतिक्रिया दिँदा हामीलाई देश र जनताविराधी भन्ने गरिन्छ, के यो एकताको सैद्धान्तिक आधार केही छ ? विचार, मूल्यमान्यता, सिद्धान्त र कार्यदिशा मिल्नेबीचको एकीकरण प्राकृतिक हुन्छ, स्वार्थ मात्र मिल्नेहरूबीचको एकीकरणलाई कसरी प्राकृतिक भन्न सकिन्छ ? यो एकीकरण वैचारिक विचलनको पराकाष्ठा हो।

कम्युनिस्ट नाम झुन्ड्याएर, जनतालाई अन्धकारमा राखी पद हत्याउन खोज्ने संस्कृतिको उपजबाहेक यसलाई अरू संज्ञा दिने कुनै ठाउँ छैन। हुँदा खाने श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने नाममा हुनेखानेको गुणगान गाउने पार्टीले कम्युनिस्ट नाम दिँदैमा उनीहरू सच्चा कम्युनिस्ट हुन सक्दैनन्।

अहिले नेपाली कम्युनिस्ट आन्दोलन दुई धारमा विभाजित भएको छ— एउटा दक्षिणपन्थी अवसरवाद र अर्को नयाँ जनवादलाई मान्ने शक्ति। अहिलेको वाम एकता भनिएको समूहले दक्षिणपन्थी अवसरवादको प्रतिनिधित्व गर्छ। नयाँ जनवादी शक्ति जो प्रतिक्रियावादी सरकारमा जाँदैन, संघर्षको भूमिकालाई अँगाल्छ, संसद्को प्रयोग आवश्यकताको आधारमा गर्छ, यस्ता छरिएर बसेका शक्तिबीचको एकता पहल भइरहेको छ। दक्षिणपन्थी अवसरवादको प्रतिनिधित्व गर्नेबीचको एकीकरणले सच्चा देशभक्त र क्रान्तिकारीलाई गोलबद्ध भएर अघि बढ्ने मौका आएको छ, यसलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ।

कथित वामपन्थी शक्तिबीच चुनावी तालमेल गरेर अघि बढ्ने घोषणा भएको २४ घन्टा नबित्दै नेपाली कांग्रेसको अगुवाइमा अर्को गठबन्धन बनाउने निर्णय भएको छ। आउँदो मंसिरमा हुने भनिएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि तालमेल गरेर अघि बढ्ने सहमति यो गठबन्धनले पनि गरेको छ। यो प्रतिस्पर्धाको स्वार्थ सत्तामा कसरी पुग्ने भन्नेबाहेक केही पनि छैन।


वाम या लोकतान्त्रिक जे नाम दिइए पनि संसदीय व्यवस्थामा रमाइरहने यिनीहरूको अन्तिम स्वार्थ दक्षिणपन्थी अवसरवादको पक्षपोषण गर्ने मात्र हो, नेपाली स्वाभिमान कायम राख्ने पटक्कै होइन। धरातलीय यथार्थले अहिले होडबाजीमा गरिएका गठबन्धन वा एकतालाई मान्यता दिँदैन। आगामी निर्वाचन जनताले यो कुरा बुझ्नुपर्छ। यो क्रान्तिकारी र अवसरवादीहरूको कित्ता छुट्टिएको अवस्था हो। त्यस अर्थमा यो एकताको होडबाजीलाई क्रान्तिकारीहरूले सकारात्मक रूपमै लिएका छन्।

माओवादी आन्दोलनको बेग्लै पृष्ठभूमि छ। यो जनयुद्धबाट स्थापित भएको शक्ति थियो। तत्कालीन परिस्थितिमा युद्धको औचित्य थियो। युद्ध प्रभावकारी रूपमा अघि बढेकै हो। मूल नेतृत्वबाट विश्वासघात भएकाले यो युद्ध लक्षमा पुग्न सकेन। नेतृत्वको बदमासीका कारण यात्रा गन्तव्यहीन बन्न बाध्य भयो। यसको परिणामको मूल्य देश र जनताले चुकाउनुपर्‍यो। युद्धलाई लक्ष्यमा नपुर्‍याएसम्म सम्झौता गर्नु हुन्न भन्ने पक्षको विचारलाई वास्ता गरिएन, बलमिच्याइँ गरियो। पार्टीभित्रको सम्झौतापरस्त शक्तिविरुद्ध समयमै लड्न नसक्नु हाम्रो पनि कमजोरी थियो। आज मुलुक संक्रमणबाट बाहिर निस्कन नसक्नुमा त्यही सम्झौतापरस्त नीति दोषी छ।

एमालेले बहुदलीय जनवादको सिद्धान्त सार्वजनिक गरेपछि माओवादीभित्र त्यसको निकै आलोचना भएको थियो। कम्युनिस्ट नामका पार्टीले बहुदलीय जनवादको कुरा गर्ने भनियो, तर आजको माओवादी केन्द्र त्यही बहुदलीय जनवादको वकालत गर्ने एमालेसँग चुनावी तालमेलसहित एकीकरणसम्म गर्ने निष्कर्षमा पुग्नुलाई विचित्रको घटना नभने के भन्ने ? अब माओवादीमा क्रान्तिकारिता समाप्त भएको छ। यी दुई पार्टीबीच गर्ने भनिएको एकीकरणमा बाह्य प्रभाव कति छ वा छैन, यसको प्रभावकारिताले त्यसको लेखाजोखा गर्नेछ। अब एमाले र माओवादी केन्द्रबीच वैचारिक रूपमा केही फरक छैन।

विगततिर फर्कौं, अपुरो संविधान जारी गर्दा प्रमुख भनिएका तीन दल एक ठाउँमा उभिए। सुशील कोइरालाको नेतृत्वको सरकारले संविधान जारी गर्‍यो। संविधान जारी भएपछि एमाले नेता केपी ओलीको नेतृत्वमा सरकार गठन गरियो। माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको पार्टी त्यो सरकारमा गयो। नौ महिनासम्म सरकारमा बसेपछि एमाले नेतृत्वमा सरकारमा बस्न नसकिने भन्दै दाहालले बाहिरिने निर्णय गरे। कांग्रेसले सघाउने वचन पाएपछि उनी ऐतिहासिक आवश्यकता भन्दै प्रधानमन्त्री पद पक्का गर्दै कांगे्रससँग सहकार्य गर्न पुगे। दुवै पार्टीसँग सरकारमा जानको लागि गरिएको सहमतिलाई दाहालले ऐतिहासिक आवश्यकता भनिरहे। दाहालको यस्तो पीपलपाते निर्णयले राजनीतिमा नैतिकताको खडेरी भएको पुष्टि हुन्छ।

यो वाम एकीकरण वैचारिक विचलनको पराकाष्ठा हो। कम्युनिस्ट नाम झुन्ड्याएर, जनतालाई अन्धकारमा राखी पद हत्याउन खोज्ने संस्कृतिको उपजबाहेक यसलाई अरू संज्ञा दिने कुनै ठाउँ छैन। हुँदा खाने श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने नाममा हुनेखानेको गुणगान गाउने पार्टीले कम्युनिस्ट नाम दिँदैमा उनीहरू सच्चा कम्युनिस्ट हुन सक्दैनन्।

अहिले कांग्रेस नेतृत्वको सरकारमा बसिरहेको माओवादी केन्द्र प्रतिपक्षसँग तत्कालको लागि चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने निष्कर्षमा पुग्नु दाहालको लागि योभन्दा लज्जास्पद अरू के हुन सक्छ ? विश्वसनीयता गुमाइसकेको नेताले भोलि यो गठबन्धन तोडेर अन्यत्र जाँदैन भन्ने कुनै ग्यारेन्टी छ ? कुनै न कुनै स्वार्थमा एकता प्रयास भएको छ। भोलि सत्ता स्वार्थ पूरा हुन सकेन भने कांग्रेससँग फेरि गठबन्धन गर्न पनि दाहाल चुक्ने छैनन्। त्यो पनि उनको लागि ऐतिहासिक आवश्यकता हुनेछ। ढाँट्ने, छल्ने र धोका दिने नेतृत्वबाट अब देश चल्न सक्दैन। अवसरको राजनीतिलाई ऐतिहासिक आवश्यकता देख्ने नेतृत्वले कसरी स्वाभिमानी देशको इज्जत राख्न सक्छ ? त्यसैले देशभक्त र क्रान्तिकारी शक्ति गोलबद्ध हुनुपर्ने तर्क अघि सारिएको हो।

वाम धु्रवीकरण भनिएको अहिलेको गठबन्धनले निर्वाचनमा बहुमत पक्का भएको र दुईतिहाइ सिट जित्नको लागि पहल गर्ने निर्णयसमेत भएको उद्घोष गरेको छ। यो गठबन्धनले सबै सिट जिते पनि निजीकरण र उदारीकरणको बाटोमा हिँड्ने भएपछि श्रमजीवी जनताको भलो हुने छैन। संसदीय व्यवस्थाको आडमा विस्तारवादी र साम्राज्यवादीको साम्राज्य बढाउन सघाउनुबाहेक यो गठबन्धनबाट मुलुकले केही आशा नगरे हुन्छ। हो, विकास र समृद्धिको लागि देशभक्त शक्तिको एकता आवश्यक छ यतिबेला, किनकि जनता पटकपटक नेतृत्वको द्वैध चरित्रको सिकार हुँदै आएकाले यो एकतालाई पचाउन सकेको देखिँदैन।
ऐतिहासिक जनयुद्धमा १७ हजारले सहादत प्राप्त गरे। धेरै अंगभंग भए। त्यो सहादतबाट राष्ट्रले के पायो त ?

हामी पनि यही प्रश्नको उत्तरको खोजीमा छौं। जनताको बलिदानी राष्ट्रमा सुख, समृद्धि र श्रमजीवीको सम्मानको लागि थियो, कसैलाई सत्ताको भर्‍याङ बनाउने अस्त्र बनाउनको लागि थिएन। एकीकरणको सफलता र असफलता चाल र चरित्रमा निर्भर हुनेछ। विगतको चरित्र नै बहुरूपी भएकाले त्यसले राष्ट्रलाई सही गन्तव्यमा पुर्‍याउन सक्दैन। त्यसैले पनि अब क्रान्तिकारी धु्रवीकरण तीव्र बनाउनुपर्छ। किनकि यो तत्कालको आवश्यकता हो।

यो स्थितिमा यो दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका बीचमा व्यापक मोर्चा र सच्चा कम्युनिस्टको बीचमा पार्टी एकता हासिल गर्नको लागि हामी सबैसँग जोडदार माग गर्दछौं।

(कुराकानीमा अाधारित) /अन्नपुर्ण पोष्टबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan