Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली–प्रचण्ड मिलनमा चिरा पर्ने संकेत !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असोज २९ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ असोज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा साझा घोषण पत्र बनाएर जान सहमत भएका नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रका मूल विषयमा गम्भीर असहमति भएको छ । एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने र पछि पार्टी एकीकरण गर्ने मनशायका साथ एकतामा जुटेको एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका विषयमा विवाद भएपछि डा.बाबुराम भट्टराई गठबन्धनबाटै बाहिरिएका छन् ।

एमाले र माओवादी केन्द्रका बीचमा पनि शनिबार अबेरसम्म बसेको कार्यदल शासकीय स्वरुपका विषयमा सहमति जुटाउन सकेको छैन । माओवादी केन्द्र र नयाँ शक्ति पार्टी निर्वाचन घोषणापत्रमा नै कार्यकारी अधिकारसहितको राष्ट्रपतिको एजेन्डा राखेर जानुपर्ने पक्षमा देखिए पछि एमाले नेताहरुले यसमा गम्भीर असहमति राखेका छन् ।

बैठकमा एमाले नेताहरुले कार्यकारी राष्ट्रपति अहिलेको एजेन्डा नभएको र कांग्रेसको सहमति बिना शासकीय स्वरुपमा परिवर्तन गर्न नसकिने अडान राखेका छन् । हिन्दू राष्ट्रलगायतका विषयमा जनमतसंग्रह र देशकै शासकीय स्वरुप परिवर्तन गर्ने कुरा दुई तिहाई बहुमत आए पनि कांग्रेसको सहमतिबिना गर्न नहुने एमालेको अडान छ ।

अहिलेलाई निर्वाचित कार्यकारीको पक्षमा बहस गर्न सकिने भए पनि एमाले घोषणापत्रमा नै निर्वाचितको विषय उल्लेख गरेर चुनावमा जान नसक्ने पक्षमा देखिएको छ । कार्यकारी राष्ट्रपति घोषणापत्रमा उल्लेख गर्न एमाले सहमत नभएपछि एमालेको सूर्य चिन्हमा चुनाव लड्न लागेको नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम गठबन्धनबाट बहिरिएका हुन् ।

भट्टराईले निर्वाचित कार्यकारी राष्ट्रपतिसम्बन्धी सहमति नभए आफू गठबन्धनबाट अलग हुने चेतावनी दिँदै आएका थिए । कार्यदलमा रहेका एमाले प्रतिनिधिहरुले एमाले निर्वाचित कार्यकारीको पक्षमा घोषणापत्र लिएर जनतामा जाँदा राजनीतिक बेइमानी हुने पक्षमा देखिएका छन् ।

एमालेले निर्वाचित कार्यकारीको विषयमा संसद्को दुई तिहाइबाट संविधान संशोधन गरेपछि मात्र यो व्यवस्थामा जाने पक्षमा देखिएको छ । तर, एमालेमा शासकीय स्वरुप पटक पटकको निर्वाचनमा बहुमत ल्याउनेले परिवर्तन गर्न सक्ने विषय बनाउँदा यसले दीर्घकालीन राजनीतिक समाधान नहुने पक्षमा बलियो बन्दै गएको छ ।

एमालेको यस्तो अडानका विपरीत माओवादी केन्द्रका प्रतिनिधिहरुले निर्वाचन घोषणापत्रमा नै निर्वाचित कार्यकारी राष्ट्रपति उल्लेख हुनुपर्ने अडान कायमै राखेका छन् । माओवादीको अडानले एमाले अन्तिम समयमा आएर गठबन्धन कायम राख्ने कुरामा दुविधामा परेको छ । माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीमात्र उल्लेख भए पनि सहमत हुने पक्षमा रहेको छ ।

एमाले प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने शब्द राखेर घोषणापत्र बनाउन तयार हुँदा समेत माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै उल्लेख हुनुपर्ने पक्षमा रहेको छ । अन्त्यमा एमाले गठबन्धन कायम राख्न यो विषयमा घोषणापत्रमा मौन रहनुपर्ने प्रस्ताव गरेको छ, देशान्तरमा उल्लेख छ ।

तर, यसमा पनि माओवादी केन्द्र सहमत भइसकेको छैनन् । समाजवादी कार्यनीतिका अलावा प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा सहमति जुटेपछि अघिल्लो हप्ता एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी चुनावी तालमेल गर्दै पार्टी एकता गर्न सहमत भएका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan