Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अस्पतालमा भौतिक संरचनामा लगानी गर्ने प्रतिबद्धता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १७ आइतबार | (रासस)

नेपालगन्ज, १७ साउनः लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रत्न खत्रीले बहुवर्षीय योजनाअन्तर्गत ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’मा भौतिक संरचना निर्माणमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ । 

    बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आज स्थलगत अनुगमन गर्दै मन्त्री खत्रीले अस्पतालबाट माग भएमा आवश्यकताअनुसार बहुवर्षीय योजनाअन्तर्गत भौतिक संरचना निर्माणमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बाँकेमा प्रदेश सरकारअन्तर्गत कुनै स्वास्थ्य संस्था नभएको उल्लेख गर्दै अस्पताल प्रशासनलाई प्रस्तावना लिएर प्रदेश राजधानी आउन आग्रह गर्नुभयो । 

    यसअघिका अस्पतालका अधिकारीहरुले प्रदेश सरकारबाट कुनै पहलकदमी नगरेका कारण खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको उपस्थिति नदेखिएको उहाँको भनाइ थियो । मन्त्री खत्रीले क्यान्सर अस्पताल सङ्घीय सरकारअन्तर्गत भए पनि अस्पतालले सबैभन्दा बढी लुम्बिनी प्रदेशकै नागरिकलाई सेवा दिइरहेको बताउँदै प्रदेश सरकार अस्पतालमा सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो । 

    अस्पताल परिसरमा स्वागत गर्दै खजुरा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा नीरज भट्टराईले निकै थोरै जनशक्तिबाट अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको अवगत गराउनुभयो । उहाँले सङ्घीय सरकारको पूर्ण स्वामित्वको अस्पताल भए पनि अस्पतालले स्वीकृत दरबन्दी पाउन नसकेको उल्लेख गर्दै सीमित स्रोतसाधनबाट अधिक कार्यसम्पादन हुँदै आएको जानकारी दिनुभयो । उहाँले चार हजार ६०० बिरामीलाई सेवा दिएर सुरु भएको अस्पतालले हाल ४० हजार बढी क्यान्सरका बिरामीलाई सेवा दिइरहेको उल्लेख गर्नुभयो । थप जनशक्ति र उपकरण प्राप्त हुने क्रममा रहेको जनाउँदै अस्पताललाई पूर्ण सेवा दिन भौतिक संरचनाको कमी रहेको कार्यकारी निर्देशक डा भट्टराईको भनाइ थियो । 

    कार्यकारी निर्देशक डा भट्टराईले लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीको प्रमुख उपचारस्थल बनेको अस्पतालमा प्रदेश सरकारको उपस्थिति आवश्यक रहेको औँल्याउनुभयो । देशैभरमा लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई सबैभन्दा बढी उपचार खर्च उपलब्ध गराएकोमा आभार प्रकट गर्दै उहाँले अस्पतालमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकारको सहयोगको अपेक्षा गर्नुभयो । 
 
    मन्त्री खत्रीले अस्पतालको विभिन्न कक्षहरुको स्थलगत अनुगमन गर्दै नागरिकलाई गुनासोरहित सेवा प्रदान गर्न अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।  

    यसैबीच, बाँके र बर्दियामा क्रियाशील यातायात व्यवसायीले क्यान्सर रोगका बिरामीलाई निःशुल्क यातायात सेवा दिने भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आह्वानमा भएको यातायात व्यवसायी र अस्पताल प्रशासनबीच भएको बैठकमा यातायात व्यवसायीहरुले क्यान्सरका बिरामीका लागि निःशुल्क यातायात सेवा दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

    बैठकले नेपालगन्जबाट खजुरा हुँदै गुलरिया, राजापुरसहित सुदूरपश्चिम चल्ने सवारीसाधन अनिवार्य खजुरा क्यान्सर गेट हुँदै सञ्चालन गर्ने निर्णय गरेको छ । क्यान्सरको उपचारका लागि अस्पताल आउने बिरामीको सहजताका लागि खजुरा रुट भएर चल्ने मझौला र साना सवारीसाधन क्यान्सर गेटसम्म पुगेर सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय सचिव टङ्क बस्यालले जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan