Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार | (रासस)

गुल्मी, २४ साउनः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित गुल्मी अस्पताल भवनको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

लामो समयदेखि निर्माणाधीन अस्पताल भवनको स्थलगत निरीक्षण गर्दै मन्त्री लम्सालले भवन निर्माणको भौतिक प्रगति, गुणस्तर तथा हालसम्म भएका कामका बारेमा जानकारी लिनुभयो । अनुगमनका क्रममा अस्पताल निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उहाँले सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेर भए पनि काम अघि बढाउन निर्देशन दिनुभयो । 

    मन्त्री लम्सालले निर्माण व्यवसायी जोसुकै भए पनि समयमा काम सम्पन्न नगरेमा पटकपटक समय दिन नसकिने बताउँदै कामको अवस्था हेरेर प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । अनुगमनका क्रममा भवन निर्माणसम्बन्धी सम्झौता अनुसारका सम्पूर्ण काम गुणस्तरीय रूपमा सम्पन्न गर्न उहाँले निर्देशनसमेत दिनुभयो ।

गुल्मी अस्पताल भवन निर्माणको भौतिक प्रगति हालसम्म ९२ प्रतिशत पुगेको बताइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको भवन निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप हुँदै आएको छ । रु २५ करोड ९४ लाखको लागतमा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले भवन निर्माणकोे जिम्मेवारी लिएको छ । 

पछिल्लो पटक उक्त भवन निर्माण सम्पन्न गर्नका लागि पाँचाँै पटक म्याद थप गरिएको छ । नयाँ भवनमा सघन उपचार कक्ष (आइसीयु), सर्जिकल, मेडिकल तथा बाल उपचार कक्षका लागि छुट्टाछुट्टै व्यवस्था गरिने बताइएको छ । गुल्मी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिए पनि पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा विस्तार पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्री लम्सालले अस्पतालमा ब्लड बैंक स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan