रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि शनिबार प्रस्थान गर्नुभएको छ । रुसबाट इन्धन आयात गर्ने भारतलगायतका देशबाट अमेरिकामा आयात हुने वस्तुमा सम्भावित थप शुल्कबारे निर्णय गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ६० दिनको समय लिएका बेला हुन लागेको यस भ्रमणमा ऊर्जा, व्यापार, लगानी र रणनीतिक साझेदारी प्रमुख विषय रहनेछन् ।
रुबियोले भारतलाई अमेरिकाको महत्त्वपूर्ण सहयोगी बताउँदै तत्कालै रुसी इन्धनमाथिको निर्भरता अन्त्य गर्न भारतलाई कठिन हुने उल्लेख गर्नुभयो । रुसी तेल वा ग्यासका ठूला आयातकर्ताबाट अमेरिकामा आयात हुने वस्तुमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउन सक्ने प्रस्तावित कानूनको प्रभाव अध्ययन गर्न राष्ट्रपति ट्रम्पले ६० दिनको समय लिनुभएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अक्टोबर २० मा भारत पुग्ने रुबियोले वरिष्ठ सरकारी अधिकारी तथा व्यापारिक नेताहरूसँग भेट गरी ऊर्जा सहकार्य, व्यापार, लगानी, रक्षा र उदीयमान प्रविधिबारे छलफल गर्नुहुनेछ । उहाँले अमेरिका–भारत रणनीतिक साझेदारी सुदृढ बनाउने तथा क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे विचार आदानप्रदान गर्ने कार्यक्रम छ ।
भारत जानुअघि रुबियोले उज्बेकिस्तानमा हुने ‘सी५+१’ मन्त्रिस्तरीय बैठकमा भाग लिनुहुनेछ । बैठकमा अमेरिका र मध्य एसियाली देशबीच रणनीतिक सहकार्य, क्षेत्रीय स्थिरता र समृद्धिका विषयमा छलफल हुनेछ ।

