Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–भारत सीमा सुरक्षा बैठक काठमाडौंमा सुरु, सीमा अपराध नियन्त्रणमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |
newsabhiyan

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।

कार्तिक ११ देखि १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा अपराध नियन्त्रण, अवैध गतिविधि रोकथाम तथा दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भइरहेको छ।

बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरिरहेका छन्।
त्यस्तै, भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।

बैठकमा सीमावर्ती क्षेत्रमा हुने मानव तस्करी, लागूऔषध ओसारपसार, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा छलफल हुनेछ। साथै, सीमा सुरक्षाका लागि हालसम्म भएका समन्वयात्मक प्रयासहरूको समीक्षा गरी आगामी कार्ययोजनाबारे विचारविमर्श गरिनेछ।
सीमा व्यवस्थापनसम्बन्धी संयन्त्रले निर्धारण गरेका मार्गदर्शनअनुसार दशगजामा हुने अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माणलाई प्रभावकारी बनाउने विषय पनि बैठकको प्राथमिकतामा छन्। सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या तथा चुनौतीको समयमै पहिचान र समाधान गर्न नियमित समन्वय बैठक तथा तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल हुनेछ।

नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमनलाई नियमन गर्ने, सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउने तथा दुवै सुरक्षा संगठनको क्षमता अभिवृद्धि र संस्थागत सहयोग विस्तार गर्ने विषय पनि बैठकको कार्यसूचीमा समेटिएका छन्।

त्यसैगरी, सीमापार प्रभाव पार्न सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त सहकार्य तथा सीमा नाकामा यात्रुलाई सहज सेवा प्रदान गर्न सहायता कक्ष स्थापना गर्ने विषयमा पनि छलफल हुनेछ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन तथा दुवै सुरक्षा निकायबीच आपसी विश्वास र मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न खेलकुदलगायतका संयुक्त गतिविधि सञ्चालन गर्ने विषयले समेत बैठकमा स्थान पाउनेछ।

नेपाल र भारतबीचको खुला सीमाका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न दुवै देशका सुरक्षा निकायबीच नियमित सम्पर्क, सूचनाको आदानप्रदान र संस्थागत समन्वय महत्त्वपूर्ण मानिन्छ।

बैठकबाट सीमा सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउनुका साथै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न नेपाल र भारतका सुरक्षा निकायबीचको सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan