छ सय कलाकारलाई रोयल्टी वितरण
काठमाडौँ, १८ कात्तिकः सङ्गीत रोयल्टी सङ्कलन समाजले आज स्रष्टा तथा कलाकारहरुलाई रु ७ सयदेखि रु ७ लाखसम्मको एनसेल पिआरबीटी तथा टिकटकमार्फत प्राप्त रोयल्टी रकम वितरण गरेको छ । समाजले काठमाडौँमा विशेष कार्यक्रम गरी ६५८ स्रष्टा तथा कलाकारलाई उक्त रोयल्टी वितरण गरेको हो ।
कार्यक्रममा सङ्गीतकार एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव भूपेन्द्रसिंह रायमाझीले रोयल्टी वितरण गर्नुभएको थियो । उहाँले रोयल्टीले कलाकारको थप कला सिर्जना गर्न र श्रमको सम्मान गर्न सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति शम्भू राईले नेपाली गीत सङ्गीतको रचनात्मक विकास क्रमसँगै सर्जकको योगदानबारे प्रशंसा गर्नुभयो । गीतकार प्रमोद ढुङ्गानाले रोयल्टी कलाकारको जीविकोपार्जनसँग जोडिने महत्वपूर्ण आधार बनेको बताउनुभयो ।


