टेक तामाङको ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ सार्वजनिक, पल शाह र विना राउतको अभिनयले थपियो आकर्षण
काठमाडौं, १५ साउन । चर्चित गीतकार टेक तामाङको रचनामा तयार भएको ‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले शुभकार्य, वैवाहिक समारोह तथा उत्सवका अवसरमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।
अञ्जु पन्त र रामकृष्ण ढकालको स्वर रहेको गीतमा कन्काइस्ट राईको संगीत, देवेश राईको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा चलचित्र अभिनेता पल शाह, विना राउत, सुरज तामाङ र रेशु गुरुङको अभिनय रहेको छ।
गीतको भिडियोमा अभिषेक वाग्ले र रितेश सिंजाली मगरको संयुक्त कोरियोग्राफी, पुनम चौधरीको मेकअप, हरि अधिकारीको प्रोडक्सन व्यवस्थापन तथा भ्यालेण्टिनो बुटिकको पहिरन रहेको छ।
योगिन मुकारुङ रेकर्डिष्ट रहेको भिडियोको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन्। काठमाडौं उपत्यका र आसपासका रमणीय स्थानलाई पृष्ठभूमि बनाएर तयार गरिएको भिडियोमा आकर्षक दृश्य र उत्सवमय वातावरण प्रस्तुत गरिएको छ।
इमेज–सगरमाथा म्युजिक अवार्डलगायत झण्डै दर्जन अवार्ड जितिसकेका गीतकार टेक तामाङ नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षकसमेत हुन्।
प्रहरी सेवासँगै साहित्य, गीत–संगीत र कार्यक्रम प्रस्तुतिमा समेत सक्रिय तामाङले आफ्ना सिर्जनामार्फत सामाजिक चेतना, सांस्कृतिक संरक्षण र सकारात्मक सन्देश प्रवाह गर्दै आएका छन्।
बन्दूक, कलम, गीत र कलाको संयोजनमार्फत फरक पहिचान बनाएका तामाङको यसअघि सम्पन्न ‘एकल सांगीतिक साँझ’ नेपाली संगीत क्षेत्रको स्मरणीय कार्यक्रमका रूपमा चर्चा भएको थियो।
‘बिताऔं जीवन हाँसेर, छमछमी नाचेर’ गीतले नेपाली मौलिक संस्कृति, खुसी र उत्सवको भाव बोकेको भन्दै संगीतप्रेमीहरूले यसलाई दीर्घकालीन लोकप्रियता हासिल गर्न सक्ने गीतका रूपमा लिएका छन्।
अब यो गीत खोलौं, हेरौं, सुनौं र खुसीसँगै छमछमी नाचौं भन्ने सन्देशसहित सार्वजनिक गरिएको छ।
