वीरगञ्जमा आज पनि निषेधाज्ञा,सामाजिक सद्भाव कायम गर्न सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना
वीरगञ्ज (पर्सा), १५ साउनः जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ः०० बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शङ्कराचार्य गेट (दक्षिण) मा भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गर्नुभएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार ती चार स्थानमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा/भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो । उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिएको छ । बिहीबार (हिजो) पनि सोही समयमा सोही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।
वीरगन्जमा सद्भाव र्याली
सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट निस्केको र्याली घण्टाघर पुगेर सम्पन्न भएको थियो । सुनसरीको कप्तानगन्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दो समस्याका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले सद्भाव र्याली निस्केको पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा निस्केको सद्भाव र्यालीमा पर्सा १ का सांसद पन्तसहित क्षेत्र नं २ का सांसद सुशीलकुमार कानु, क्षेत्र नं ३ का सांसद रामाकान्त चौरसिया, वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारीबाट वीरगन्जमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ६ः०० बजेसम्म निषेधाज्ञासमेत जारी गरिएको छ ।
