कहिले भेटन आउछाै रानी वनमै !
- किशाेर शर्मा
वारि वन हरियो, पारि वन पारिलो,
तिम्रो मायामा छटपटियो, कहिले भेट्न आउँछौ रानी वनमै।
हावाले तिम्रै नाम बोल्छ, डाँडाले प्रतिध्वनि गुञ्जायो,
यो मनले दिनरात सोध्यो—कहिले भेट्न आउँछौ रानी वनमै।
वनको चौतारी, शीतल त्यो छहारी,
तिमी बिना लाग्छ सुनसान भारी।
कोइलीले गाएको प्रेमको भाका,
सुन्दै मन रोयो तिम्रै सम्झनामा।
फूलले सुवास छरे, भमरा पनि रमाए,
मेरा सपना किन तिमीबिनै हराए ?
आकाशले जूनलाई सन्देश पठायो,
"आऊ न प्रिय, कसैले मन रुवायो।"
वारि वन हरियो, पारि वन पारिलो,
तिम्रो मायामा छटपटियो, कहिले भेट्न आउँछौ रानी वनमै।
खोलाले गुनगुनायो, तिम्रै कथा सुनायो,
बगरको बालुवाले तिम्रै नाम लेखायो।
डाँफेले पखेटा फिजायो हिमालमाथि,
मेरो मन उड्यो तिमी भएकै बाटोतिर।
साँझ ढल्दै जाँदा जून उदायो,
तिम्रो सम्झनाले आँखा रसायो।
एक दिन हात समाई हाँसौँला दुवै,
मायाको डोली चढी हिँडौँला सँगै।
दूरीले माया कहिल्यै घटाउँदैन,
साँचो प्रेम समयले मेटाउँदैन।
विश्वासको डोरी कहिल्यै नटुटोस्,
हाम्रो प्रेम सधैँ फक्रिरहोस्।
वारि वन हरियो, पारि वन पारिलो,
तिम्रो मायामा छटपटियो, कहिले भेट्न आउँछौ रानी वनमै।
जिन्दगीभर साथ दिऊँला, नछोड्नेछु हात कहिल्यै,
मनको राजा बनेर बस, आउ न मेरी रानी वनमै।
