आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड
काठमाडौँ, १८ साउन : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँहरुले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारी सिर्जना, आपसी सद्भाव कायम गर्न तथा मानव बेचविखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो ।
सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय पहल गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्भाव कायम गर्नतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचविखनका नयाँ स्वरूप देखिन थालेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताउनुभयो ।
बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेको उल्लेख गर्दै उहाँले यसको रोकथाममा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न सरकारसँग माग गर्नुभयो ।
