Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला सांसद डिजिटल हिंसामाः सामाजिक सञ्जाल नियमन गर्न जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस)

काठमाडौँ, १८ साउनः “त्यो दिन मैले धार्मिक सहिष्णुताको विषयमा सदनमा आफ्नो विचार मात्रै राखेकी थिएँ । केही समयपछि सामाजिक सञ्जाल फेसबुक हेर्दा मेरो चरित्रहत्या हुनेगरी प्रतिक्रिया (कमेन्ट) आए । ती परिवारले समेत हेर्न नमिल्ने कमेन्ट थिए । हामी महिला सांसद नै डिजिटल हिंसाको खुलेयाम सिकार भएका छौँ, अरु आममहिलाको अवस्था के होला ?”, प्रतिनिधिसभाका सांसद पार्वती विकले भन्नुभयो । सामाजिक सञ्जालमार्फत आफू हिंसामा परेको विषयमा बोलिरहँदा अरु महिला सांसदसमेत हिंसाबाट अछुतो नरहेका उहाँले बताउनुभयो । 

    प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा अधिकांश महिला सांसदले डिजिटल हिंसामा परेको र त्यसले मानसिक एवं सामाजिक रूपमा आफूलाई पीडित बनाएको बताउनुभयो । 

    सांसद टीका सङ्ग्रौलाले आफू अभियन्ता भएदेखि सांसदसम्मको यात्रा पार गर्दा धेरै पटक साइबर ब्यूरो धाउनु परेको पीडा पोख्नुभयो । उहाँले महिला नेतृत्व सबैभन्दा बढी ‘साइबर बुलिङ’ (इन्टरनेट, सामाजिक सञ्जाल वा डिजिटल माध्यमको प्रयोग गरेर कसैलाई निरन्तर रूपमा अपमान, बदनाम वा मानसिक पीडा दिने काम) को सिकार हुनुपरेको बताउनुभयो । “सांसदको अवस्था यस्तो छ, दुरदराजमा रहेका, पिछ्डिएका महिलाले न्याय पाउने कुरा झनै जटिल छ”, उहाँले भन्नुभयो । 

    सांसद सङ्ग्रौलाले कानुन भए पनि प्रभावकारी कार्यान्व्यन हुन नसकेको धारणा राख्नुभयो । महिलाको चरित्रहत्या हुने जस्ता विषयमा उजुरी परे पनि भोलिपल्ट मुक्त हुने स्थितिसमेत देखेको बताउँदै उहाँले महिला न्याय केन्द्रित कानुन प्रणाली आवश्यक रहेकामा जोड दिनुभयो । “चरित्रहत्या गर्नेलाई कारबाही हुनुपर्छ तत्काल छाडिनुहुँदैन”, उहाँले भन्नुभयो ।  

    सांसद एशुदाकुमारी बरालले आफू धेरै पटक साइबर बुलिङमा परेको सुनाउनुभयो । झण्डै ९० प्रतिशत महिला नेतृत्व साइबर बुलिङबाट पीडित भइरहेका जनाउँदै उहाँले सामाजिक सञ्जाल फेसबुकको तुरुन्तै नियमन गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक हिंसासमेत सामाजिक सञ्जालमाफर्त हुँदै आएको बताउँदै उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुक सञ्चालकका लागि औपचारिक दर्ता आवश्यक छ ।” 

    बैठकमा रीना उप्रेती केसी, टुकाभद्र हमाल, रीमा विश्वकर्मा, ललिताकुमारी, ठाकुरसिंह थारुलगायत सांसदले सामाजिक सञ्जालको नियमन गर्ने र साइबर ब्यूरोलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।  

    साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा २० हजार ५२६, आव २०८१/८२ मा १८ हजार ९२६, आव २०८०/८१ मा १९ हजार ७३०, आव २०७९/८० मा नौ हजार १३ र आव २०७८/७९ मा चार हजार ६८६ वटा उजुरी परेका छन् । 

    त्यस्तै, आव २०८२/८३ को तथ्याङ्क हेर्दा बालक २७५ जना र बालिका ४०४ जना डिजिटल हिंसामा परेका छन् । डिजिटल हिंसामा बालकभन्दा बालिका ४६ दशमलव नौ प्रतिशतले बढी हिंसामा पर्ने गरेका नेपाल प्रहरीले जनाएको छ । आव २०८२/८३ मा आठ हजार ७२६ महिला र १० हजार १८४ जना पुरुषले उजुरी दिएका छन् । आव २०८१/८२ मा सात हजार ९२१ महिला र नौ हजार ७८७ पुरुषले उजुरी दिएका छन् भने २०८०/८१ मा उजुरी दिनेको सङ्ख्या बढेर महिला आठ हजार ७४५ र पुरुष नौ हजार ५८३ जनाले उजुरी दिएका छन् । 

    साइबर ब्यूरोको तथ्याङ्कअनुसार सामाजिक सञ्जालको दुरुपयोग (उजुरी सङ्ख्या) गरी सबैभन्दा बढी मुद्दा १४२ दशमलव २० प्रतिशत मुद्दा बुलिङ र हिंसाका छन् । ‘फेक आइडी’ बनाएर गरिने हिंसा र ठगीको प्रतिशत ५६ दशमलव शून्य आठ प्रतिशत रहेको साइबर ब्यूरोको तथ्याङ्कले देखाएको छ । 

    सबैभन्दा बढी घटना सामाजिक सञ्जाल फेसबुक र टिकटकमा हुने गरेका छन् । फेसबुक/म्यासेन्जर प्रयोग गरी सबैभन्दा बढी घटना घटेका छन् । “हालसम्म सात हजार २१८ वटा घटना फेसबुक र म्यासेन्जरको प्रयोगबाट भएका छन् । दोस्रोमा टिकटक प्लेटर्फम प्रयोग गरेर भएका घटनामा छ हजार ९४६, ह्वाट्स एपमा तीन हजार ३७१ र टेलिग्राम ८५३ रहेका छन्”, साइबर ब्यूरोको तथ्याङ्कमा उल्लेख छ । 

    विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम सामाजिक वा विद्युतीय उपकरणको प्रयोगबाट गरिने हिंसाका लागि रु दुई लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय प्रविधिको आधुनिक प्रयोगसँगै डिजिटल हिंसाको सङ्ख्या बढ्दै गएको र साइबर अपराध नियन्त्रण गर्न प्रयाप्त स्रोतसाधानको आवश्यकता रहेको बताउनुभयो । 

    उहाँले साइबर ब्यूरोमा थप जनशक्तिको आवश्यकता, प्रदेशस्तरमा ‘सेटलाइट युनिट’को विस्तार गर्नुपर्ने, साइबरसँग सम्बन्धित ऐन र कानुन ल्याउने, सामाजिक सञ्जाल नियमनमा जोड दिने, गोपनीयतासम्बन्धी प्रभावकारी कानुन ल्याउनुपर्ने र डिजिटल फरेन्सिक चुनौतीको समाधान खोज्नुपर्ने बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan