‘छोटे राजा’ शैलीमा सरकार ! गगनको चेतावनी– ‘एक्सप्रेस गाडी भए पनि एक्सप्रेस–वेमा लेन मिच्न दिँदैनौं’
काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरूमा ‘छोटे राजा’ प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले सरकारका मन्त्रीहरूबाट सार्वजनिक रूपमा आउने भाषा र व्यवहारले लोकतान्त्रिक सरकारको चरित्रभन्दा ‘छोटे राजा’को शैली झल्काउन थालेको बताएका हुन्।
उनले सरकारका मन्त्रीहरूबाट हरेक दिनजसो ‘खुट्टा भाँचिदिन्छु’, ‘थुन्दिन्छु’ जस्ता अभिव्यक्ति आउनु सामान्य विषय नभएको भन्दै यस्तो प्रवृत्तिलाई समयमै खबरदारी गर्नुपर्ने बताए।
थापाका अनुसार सरकारलाई सही बाटोमा हिँडाउनु प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसको जिम्मेवारी हो।
‘यो सरकारलाई ठिक ठाउँमा ल्याउने जिम्मेवारी हाम्रो हो। किनकि संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा कांग्रेस छ। अर्थात् हामी छौं।’
‘मन्त्रीहरूमा छोटे राजा देखिन थाले’
सभापति थापाले सरकार सञ्चालनमा लोकतान्त्रिक संस्कार, संयम र जवाफदेहिताको आवश्यकता रहेको बताए।
मन्त्रीहरूबाटै धम्कीपूर्ण र दण्डात्मक भाषा प्रयोग हुन थालेको भन्दै उनले यस्तो शैलीले सरकारको लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाउने चेतावनी दिए।
सरकार जनताको सेवाका लागि बनेको हो, जनतालाई तर्साउनका लागि होइन भन्ने सन्देश दिँदै थापाले मन्त्रीहरूले आफूलाई शासक नभई जनप्रतिनिधिका रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
उनको टिप्पणी केवल मन्त्रीहरूको भाषाशैलीमा केन्द्रित थिएन। उनले सरकारको समग्र कार्यशैलीमै प्रश्न उठाउँदै सत्तामा पुगेपछि शक्ति प्रदर्शन गर्ने प्रवृत्ति दोहोरिन थालेको संकेत गरे।
कांग्रेस सभापतिको भनाइमा सरकारलाई खबरदारी गर्नु विपक्षी दलको राजनीतिक जिम्मेवारी मात्र नभई लोकतान्त्रिक व्यवस्थाको सुरक्षासँग जोडिएको विषय हो।
‘२३–२४ भदौ एकाएक आएको घटना होइन’
थापाले २०८२ सालको २३ र २४ भदौमा भएको घटनालाई पनि आकस्मिक घटनाका रूपमा मात्र बुझ्न नहुने बताए।
उनका अनुसार २३ र २४ भदौको घटना आउनुअघि नै नेपाली राजनीतिमा असन्तुष्टि, आक्रोश र राजनीतिक दलप्रतिको अविश्वास बढ्दै गएको थियो।
उनले त्यसको पृष्ठभूमिमा २०८१, २०८० र २०७९ सालका राजनीतिक घटनाक्रमलाई समेत जोड्दै कांग्रेसले आफ्नै गति र मतिबारे पटक–पटक प्रश्न उठाउँदै आएको स्मरण गरे।
‘हाम्रो गति र मतिमाथि पटक–पटक हामीले नै प्रश्न उठाएकै थियो।’ थापाको यो स्वीकारोक्तिले कांग्रेस नेतृत्वभित्रै पार्टीको विगतको कार्यशैली र राजनीतिक भूमिकाप्रति गम्भीर आत्मसमीक्षा आवश्यक रहेको संकेत गर्छ।
मतदाताको रिस ब्यालेटमा पोखियो
सभापति थापाले २१ फागुन २०८२ मा भएको प्रतिनिधिसभा निर्वाचनलाई नेपाली कांग्रेसप्रतिको मतदाताको असन्तुष्टिको अभिव्यक्तिका रूपमा व्याख्या गरे।
उनका अनुसार कांग्रेसको गति र कार्यशैलीप्रति असन्तुष्ट मतदाताले आफ्नो असन्तुष्टि सडकमा होइन, ब्यालेटमार्फत व्यक्त गरे।
‘हाम्रो गतिलाई मन नपराएर रिसाएका मतदाताले ब्यालेटमार्फत प्रतिपक्षमा पुर्यामइदिए।’
यो भनाइमार्फत थापाले कांग्रेसले निर्वाचन परिणामलाई केवल राजनीतिक हारका रूपमा नभई जनताको सन्देशका रूपमा बुझ्नुपर्ने धारणा राखेका छन्।
उनले कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले यसअघि नै नेपालमा जुनसुकै बेला बंगलादेशको जस्तो अवस्था आउन सक्ने चेतावनी औपचारिक बैठकमै दिएको स्मरणसमेत गरे।
तर समस्या त्यतिमै सकिएको छैन भन्ने उनको निष्कर्ष छ। ‘अझै पनि हाम्रा गति र मति ठीक भइसकेको छैन। यसमाथि प्रतिरोध हुन सक्छ।’
‘२१ फागुनमा जनताले कांग्रेसमाथि रिस पोखेका हुन्’
थापाले निर्वाचन परिणामलाई कांग्रेसविरुद्ध जनताको आक्रोशको अभिव्यक्तिका रूपमा चित्रण गरे। उनका अनुसार नागरिकले कांग्रेसको नेतृत्व, कार्यशैली र राजनीतिक व्यवहारप्रति असन्तुष्टि जनाउँदै मतमार्फत त्यसको जवाफ दिएका हुन्।
यस अर्थमा कांग्रेसका लागि २१ फागुन केवल सत्ता गुमेको दिन नभई जनताको असन्तुष्टि बुझ्ने अवसर पनि भएको उनको संकेत छ। निर्वाचनमा जनताले दिएको सन्देशलाई आत्मसात् नगरे भविष्यमा थप राजनीतिक प्रतिरोध उत्पन्न हुन सक्ने उनको चेतावनी छ।
रास्वपाले ल्याएको परिवर्तनको सम्मान, तर उपलब्धि खोइ ?
थापाले २१ फागुनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ब्यालेटमार्फत ल्याएको परिवर्तनलाई कांग्रेसले सम्मान गर्ने बताए। तर निर्वाचनमार्फत आएको परिवर्तनले जनताले अपेक्षा गरेअनुसारको अनुभूति दिन नसकेको भन्दै उनले सरकारप्रति असन्तुष्टि पनि व्यक्त गरे।
उनका अनुसार नागरिकले परिवर्तनका लागि मत दिएका थिए। तर सरकार गठन भएको लामो समय बितिसक्दा पनि जनताले त्यस परिवर्तनको अनुभूति गर्न नसकेको अवस्था देखिन थालेको छ।
यहीँनेर कांग्रेस सभापतिले सरकारलाई गम्भीर प्रश्न गरेका छन्—परिवर्तनको वाचा मतपत्रमा मात्रै सीमित हुने कि जनताको जीवनमा पनि देखिने?
‘१०० दिनसम्म हनिमून पिरियड’
थापाले नयाँ सरकार गठन भएपछि कांग्रेसले तत्कालै अवरोध सिर्जना नगरी सरकारलाई काम गर्ने अवसर दिएको दाबी गरे। सरकार गठन भएको पहिलो १०० दिनलाई कांग्रेसले ‘हनिमून पिरियड’ का रूपमा हेरेको र आवश्यक सहयोगसमेत गरेको उनको भनाइ छ।
तर सरकारको गति अपेक्षाअनुसार नभएपछि कांग्रेसले प्रश्न उठाउन थालेको उनले बताए। सरकारको कामको गति कमजोर भएको आलोचना गर्दा प्रधानमन्त्रीबाट आएको जवाफलाई समेत थापाले बैठकमा स्मरण गरे।
प्रधानमन्त्रीले आफूहरू ‘एक्सप्रेस गाडी’ भएको र गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएको प्रसंग उल्लेख गर्दै थापाले त्यसमा व्यंग्यात्मक तर गम्भीर राजनीतिक सन्देश दिएका छन्।
‘एक्सप्रेस गाडी भए पनि लेन मिच्न पाइँदैन’
थापाको सबैभन्दा रोचक टिप्पणी यही बन्यो। उनले भने : ‘एक्सप्रेस गाडीमा ब्रेक राख्ने, नराख्ने उहाँको कुरा हो। तर एक्सप्रेस–वेमा लेन मिच्न पाइँदैन। हामी दिँदैनौं।’
यो अभिव्यक्तिमार्फत उनले सरकारलाई तीव्र गतिमा काम गर्न रोक्ने नभई नियम, विधि र लोकतान्त्रिक मर्यादा उल्लंघन गर्न नदिने स्पष्ट संकेत दिएका छन्।
सरकारले आफूलाई ‘एक्सप्रेस गाडी’ ठाने पनि शासन सञ्चालनमा कानुनी प्रक्रिया, संवैधानिक मर्यादा र संस्थागत नियन्त्रणलाई बेवास्ता गर्न नहुने उनको तर्क देखिन्छ। अर्थात् कांग्रेसको सन्देश स्पष्ट छ—गति बढाऊ, तर लेन नछोड।
कांग्रेस अब ‘दर्शक’ बनेर बस्दैन : थापाको संकेत
थापाको अभिव्यक्तिले कांग्रेस अब सरकारका गतिविधिमाथि थप आक्रामक ढंगले निगरानी गर्ने तयारीमा रहेको संकेत गरेको छ।
सरकारले जनादेश पाएको भन्दै सबै निर्णयमाथि प्रश्न उठाउन नहुने होइन। तर जनादेश प्राप्त सरकार पनि संविधान, कानुन र लोकतान्त्रिक संस्थाको सीमाभित्रै रहेर चल्नुपर्ने कांग्रेसको तर्क छ।
विशेषगरी मन्त्रीहरूको धम्कीपूर्ण भाषा, राज्यशक्तिको सम्भावित दुरुपयोग, संस्थागत नियन्त्रणलाई कमजोर पार्ने प्रयास र जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति दिलाउन नसकेको विषयलाई कांग्रेसले अब राजनीतिक एजेन्डा बनाउने संकेत गरेको छ।
सरकारलाई थापाको सन्देश : ‘राजा होइन, जनताको सेवक बन’
सभापति थापाको अभिव्यक्तिको मूल सन्देश सत्ता र शक्तिको चरित्रसँग जोडिएको देखिन्छ। जनताले पुराना दललाई हटाएर नयाँ शक्तिलाई अवसर दिएका हुन् भने नयाँ शक्तिले पनि पुरानै शैली दोहोर्याउन थाले त्यसको प्रतिरोध फेरि जनताबाटै आउन सक्ने उनको चेतावनी छ।
त्यसैले ‘छोटे राजा’ शैली त्यागेर लोकतान्त्रिक संस्कारमा फर्कनुपर्ने उनको आग्रह छ। कांग्रेस स्वयं पनि विगतका कमजोरीबाट मुक्त नभएको स्वीकार गर्दै थापाले आफ्नै पार्टीलाई समेत चेतावनी दिएका छन्—गति र मति दुवै नसुधारे प्रतिरोध जुनसुकै बेला हुन सक्छ।
यही आत्मस्वीकारोक्ति र सरकारप्रतिको कडा खबरदारीबीच कांग्रेस सभापति थापाको सन्देश अहिले दुईतर्फी देखिएको छ, सरकारलाई खबरदारी गर, तर आफूलाई पनि सुधार।
किनकि २१ फागुनको ब्यालेटले दिएको सन्देश र त्यसअघि २३–२४ भदौले देखाएको जनआक्रोशलाई बेवास्ता गर्ने हो भने सत्ता बदलिन समय नलाग्ने नेपाली राजनीतिको इतिहासले पटक–पटक देखाइसकेको छ।
यो पनि पढ्नुहोस् :
कांग्रेस विवादमा सर्वोच्चको राजनीतिक निर्णय
कांग्रेसमा ‘खान्दानी’ राजनीति समाप्तिको संकेत ? सदस्यता नवीकरणले उडायो पुराना नेताको निद्रा !
पुस्तौली राजनीतिमा ठूलो धक्का, देउवा समूहको छटपटी, विधानलाई नै चुनौती दिने खेल !
