पुस्तौली राजनीतिमा ठूलो धक्का, देउवा समूहको छटपटी, विधानलाई नै चुनौती दिने खेल !
काठमाडौं, १५ साउन । नेपाली कांग्रेसभित्र दशकौँदेखि जरा गाडेर बसेको पुस्तौली राजनीतिमा अहिले ठूलो धक्का लागेको दाबी हुन थालेको छ।
वर्षौँसम्म पार्टीलाई आफ्नै पारिवारिक सम्पत्तिजस्तो ठान्ने, संकट पर्दा बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आदर्शको चर्चा गर्ने तर अवसर आउँदा आफ्नै स्वार्थलाई पहिलो प्राथमिकता दिने नेताहरू अहिले रक्षात्मक अवस्थामा पुगेको टिप्पणी कांग्रेस वृत्तमै सुनिन थालेको छ।
पार्टीभित्र नयाँ नेतृत्व उदाएपछि सबैभन्दा धेरै बेचैनी उनै नेताहरूमा देखिएको आरोप छ, जसले लामो समयसम्म पारिवारिक विरासतकै भरमा राजनीति गरे। अहिले उनीहरू विधानभन्दा माथि आफूलाई राख्न खोजेको भन्दै गगन थापा पक्षले तीव्र आलोचना गरिरहेको छ।
डा. शशांक कोइरालादेखि प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइराला र अन्य पुराना शक्ति केन्द्रहरूलाई लक्षित गर्दै कांग्रेसभित्र प्रश्न उठ्न थालेको छ जब शक्ति आफ्नै हातमा थियो, त्यतिबेला विधान किन सम्झना आएन? अहिले नेतृत्व फेरिएपछि मात्रै विधानको माया किन जाग्यो?
गगन थापा पक्षको दाबी छ, विशेष महाधिवेशन र नेतृत्व चयन पार्टी विधानअनुसार भएको हो। तर त्यही प्रक्रियालाई अवैध भन्दै अदालत र निर्वाचन आयोग पुग्नेहरूलाई उनीहरूले ‘हारको राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन्।
कांग्रेसभित्र अहिले अर्को बहस पनि चर्किएको छ। ‘नेपो बेबी’ को आरोप खेप्दै आएका नेताहरूको राजनीतिक प्रभाव खस्किँदै जाँदा उनीहरू संगठनभित्र अस्थिरता सिर्जना गरेर आफ्नो हैसियत जोगाउन खोजिरहेका छन् भन्ने टिप्पणी सुनिन थालेको छ।
जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिवेशले कांग्रेसभित्रको शक्ति सन्तुलन नै उल्ट्याइदिएको विश्लेषण भइरहेका बेला पुराना शक्ति केन्द्रहरूले नयाँ नेतृत्वलाई स्वीकार्न नसकेको आरोप लागिरहेको छ।
गगन थापा पक्षको तर्क स्पष्ट छ “विधानले दिएको अधिकार प्रयोग गर्दा अवैध भन्ने, तर वर्षौँसम्म गुट, भागबण्डा र वंशीय प्रभावलाई वैध ठान्ने राजनीति अब चल्दैन।”
यता देउवा समूह निकट नेताहरू भने वर्तमान नेतृत्वले पार्टीको विधि र प्रक्रियामाथि हस्तक्षेप गरेको दाबी गर्दै कानुनी बाटो रोजिरहेका छन्। तर त्यसलाई आलोचकहरूले “राजनीतिक पराजयलाई कानुनी आवरण दिने प्रयास” भनेर व्याख्या गरिरहेका छन्।
कांग्रेसका लाखौँ क्रियाशील सदस्यले स्वीकार गरेको प्रक्रियालाई केही सीमित नेताले अस्वीकार गर्दै पार्टीलाई नै विवादमा तान्न खोजेको आरोपसमेत लागिरहेको छ। यसले प्रश्न उठाएको छ पार्टी ठूलो कि केही नेताको राजनीतिक महत्वाकांक्षा?
अहिले कांग्रेसको मूल लडाइँ केवल सभापति को बन्ने भन्ने होइन। यो वंशीय प्रभावको निरन्तरता र विधि–प्रक्रियामा आधारित नेतृत्वबीचको प्रतिस्पर्धाका रूपमा चित्रित हुन थालेको छ।
