Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अहिंसाको संस्कार घरदेखि समाजसम्म विकास गर्न आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |

रुपन्देही, १७ असोजः मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले घरदेखि समाजसम्म अहिंसाको संस्कार विकास गर्न आह्वान गरेको छ ।

विश्व अहिंसा दिवसका अवसरमा आज समाजले आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा वक्ताहरूले घृणा, द्वेष, विभेद र असहिष्णुतामुक्त समाज निर्माणका लागि अहिंसात्मक व्यवहार आवश्यक रहेको औँल्याएका थिए । असहमति र विवादलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्नेमा वक्ताहरूको जोड थियो ।

राससका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईँले मानवअधिकारको सम्मान र अहिंसा एकअर्कासँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले अधिकारको सम्मान हुने वातावरणबाट मात्र दिगो शान्ति र सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कृष्ण पाण्डेले लोकतन्त्रमा विचार र राजनीतिक असहमति स्वाभाविक भए पनि त्यसलाई हिंसामा परिणत हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले संवाद र सहकार्यबाट असहमति समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गङ्गा पोखरेलले प्रकृतिमाथिको अनियन्त्रित दोहनलाई पनि हिंसाको एक स्वरूपका रूपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले प्रकृति र जैविक विविधताको संरक्षणलाई अहिंसाको अभियानसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा महात्मा गान्धीले सत्य र अहिंसालाई परिवर्तनको माध्यमका रूपमा स्थापित गरेको स्मरण गर्दै हिंसालाई शारीरिक आक्रमणमा मात्र सीमित नगरी घृणा, अपमान, धम्की, विभेद र असहिष्णुतालाई समेत त्यसकै स्वरूपका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan