जितिया पर्व समापन
महोत्तरी, १८ असोजः सन्तानको सौर्य वृद्धि, सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित मधेसका महोत्तरीसहित सन्तानवती आमाले जितिया पर्व आज समापन गरेका छन् ।
पितृपक्षअन्तर्गत असोज कृष्णपक्षको लाग्दो अष्टमीसँगै एक अहोरात्र निर्जला व्रत गरिने जितिया आज बिहान ७ः२९ बजे नवमी तिथि प्रारम्भ भएसँगै समापन गरेका हुन् ।
यसअघि शुक्रबार पवित्र स्नान गरेर चोखोनीतो खाई व्रत सङ्कल्प गरेका सन्तानवती आमाले सोही रात ‘ओगटन’ (दर) खाएर निराहार व्रत थालेका थिए ।
‘ओगटन’ मा दहीचिउरा, मिठ्ठा (सख्खर) र अमोट खाने मैथिल परम्परा छ । अष्टमीको एक अहोरात्र व्रतको विधानले यसपालि शनिबार बिहान ९ः५४ बजेपछि यो तिथि सुरु भए पनि व्रत भने सूर्योदय हुन एक घडी (करिब साढे दुई घण्टा) पहिले सुरु भएको थियो ।
व्रतको परम्परागत मान्यतामा एक अहोरात्रपछि नवमी सुरु भइसके सूर्योदयपछि समापन गरिन्छ । नवमी ढिलो सुरु भए यो तिथि एक घडी कटाएर मात्र समापन गरिने विधान छ । देवदूत जितवाहनको आराधना गरिने यो व्रतको प्रभावले सन्तान परोपकारी, पराक्रमी सूयोग्य, दीर्घजीवी, स्वस्थ्य र कर्तव्य परायण हुने मैथिल जनविश्वास छ ।
सन्तानको कल्याण र सौर्य वृद्धिको कामना पूरा गराउन सन्तानवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरेपछि वर्तालुले पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिए जस्तै आफूहरुले सासु, आमा, जेठानी, देउरानी, नन्दआमाजू, फुपू, दिदीबहिनी, मावल घरकी हजुरआमा र माइजुलगायतका महिला दिवङ्गत परिवारजनलाई तर्पण दिने परम्परा रहिआएको बर्दिवास-२ की पर्मिला ठाकुरले बताउनुभयो ।
वर्तालुुले दिवङ्गत तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ भन्ने गरिएको कर्मकाण्डी पुरोहित बर्दिवास-२ का पण्डित महेशकुमार झाको भनाइ छ ।
उहाँका अनुसार सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र/पौत्री (नाति/नातिनी), प्रपौत्र/प्रपौत्री (पनाति/पनातिनी) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ ।
व्रत अवधिमा वर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना सन्तान उनी जस्तै परोपकारी र साहसी होऊन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एक जना विधवा व्राह्मणीको पुकारमा दुष्टको कर्तव्यबाट मरेका उनका सात छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।
राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्य पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुुरु भएको हुनसक्ने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापिठ) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्तिले बताउनुभयो ।
