आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो
वासिङ्टन, १९ असोज : आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा र आर्थिक चासो बढिरहेका बेला विदेशमन्त्री मार्को रुबियोले सोमबार आइसल्यान्डको भ्रमण गर्दै हुनुहुन्छ ।
ग्रिनल्यान्डमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच सुरक्षा सम्झौता भएको दुई सातापछि हुन लागेको भ्रमणमा आर्थिक तथा सुरक्षा सहकार्यबारे छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई नयाँ सैन्य आधार स्थापना गर्ने योजना बनाएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड खरिद वा विलय गर्ने धम्की दिनुभएको थियो । आर्कटिकमा रूस र चीनको चासो बढिरहेका बेला अमेरिकाले आफ्नो पहुँच सुदृढ गर्न खोजिरहेको छ ।
आफ्नो सुरक्षाका लागि आइसल्यान्ड नाटो र सन् १९५१ मा अमेरिकासँग भएको द्विपक्षीय रक्षा सम्झौतामा निर्भर छ । सन् १९४४ मा स्वतन्त्र भएदेखि आइसल्यान्डसँग आफ्नै सेना छैन ।
सेप्टेम्बरमा ट्रम्पले उत्तर अमेरिका, क्यारिबियन, ग्रिनल्यान्ड र आइसल्यान्डलाई ‘संयुक्त राज्य अमेरिका’ का रूपमा देखाइएको एआई नक्सा सार्वजनिक गरेपछि रेक्जाविकले अमेरिकी राजदूतलाई बोलाएर त्यसप्रति आपत्ति जनाएको थियो ।
आइसल्यान्डका नागरिकले अगस्टमा इयुमा सामेल हुने वार्ता पुनः सुरु गर्ने पक्षमा ५२.८ प्रतिशत मत दिएका थिए । सन् २०२१ मा एन्टोनी ब्लिन्केनपछि रुबियो आइसल्यान्ड भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री हुनुहुन्छ ।
आइसल्यान्डपछि रुबियोले नेटो सदस्य ग्रिसमा क्षेत्रीय तथा ऊर्जा सुरक्षासम्बन्धी रणनीतिक संवादमा भाग लिनुहुनेछ । त्यसपछि उहाँ पोर्चुगलको लिस्बन पुगेर युरोप भ्रमण पूरा गर्नुहुनेछ ।
