सङ्कटले १३ करोडलाई गरिबीमा धकेल्ने जोखिम
बैङ्कक, २९ असोज : इरान युद्धपछि बढेको ऊर्जा मूल्य, उच्च ब्याजदर र तीव्र एल निनोका कारण यस वर्ष करिब १३ करोड मानिस गरिबीमा धकेलिने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले चेतावनी दिएको छ ।
लगातारका सङ्कटले विकासोन्मुख देशको अर्थतन्त्र कमजोर बनाएको र तिनलाई सामना गर्न आवश्यक स्रोत तथा समय अभाव भएको युएनडिपीका प्रमुख अलेक्जान्डर डे क्रूले बताउनुभएको छ ।
अमेरिकाले फेब्रुअरीको अन्त्यमा इरानविरुद्ध युद्ध सुरु गरेपछि विश्व बजारमा इन्धनको मूल्य बढेको छ । ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धिको भार उपभोक्तामा परेमा दक्षिण तथा पूर्वी एसिया र उपसहारा अफ्रिकाका मानिस बढी प्रभावित हुने युएनडिपीले जनाएको छ ।
बैङ्ककमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकका क्रममा डे क्रूले विकासोन्मुख देशले ऊर्जा मूल्यवृद्धिको असर कम गर्न अनुदान दिए पनि लगातारका सङ्कटका कारण त्यसलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुभयो । उहाँले बढ्दो ब्याजदरले ऋण भुक्तानीको भार थपेको र सङ्कटसँग जुध्न आवश्यक लगानीको क्षमता घटाएको उल्लेख गर्नुभयो ।
युएनडिपीका अनुसार मध्यम आय भएका विकासोन्मुख देशले सरकारी राजस्वको औसत ९.५ प्रतिशत रकम ब्याज भुक्तानीमा खर्च गरिरहेका छन् । यो पछिल्लो २५ वर्षकै उच्च दर तथा उच्च आय भएका देशको तुलनामा तीन गुणा बढी हो ।
यसैबीच, युएनडिपीले यस वर्ष एल निनो शक्तिशाली हुने सम्भावना औँल्याउँदै बाढी, खडेरीलगायतका चरम मौसमी घटनाले थप क्षति पु¥याउन सक्ने जनाएको छ । तिनको प्रभाव सन् २०२७ को सुरुतिर उत्कर्षमा पुग्न सक्ने अनुमान गरिएको छ ।
डे क्रूले विकासोन्मुख देशमा आर्थिक वृद्धि, रोजगारी सिर्जना र जलवायु जोखिम न्यूनीकरणका लागि लगानी बढाउन तथा अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट हुने आर्थिक क्षति रोक्न निजी क्षेत्रको लगानीसमेत आवश्यक रहेको बताउनुभयो ।

