बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै
रसुवा, ३० असोजः गत भदौ १० गते आएको विनासकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि जिल्लाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ । लामो समय बितिसक्दा पनि तत्काल स्थायी पुल वा वैकल्पिक मार्ग बन्ने निश्चित नभएपछि आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी आफैँ जनश्रमदानमार्फत अस्थायी काठेपुल निर्माणमा जुटेका छन् ।
यही असोज २५ गतेदेखि स्थानीय नागरिक र सुरक्षा निकायको संयुक्त सहभागितामा काठको अस्थायी पुल निर्माणकार्यलाई निरन्तर अगाडि बढाइएको छ । बाढीका कारण आवतजावत ठप्प हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं १ देखि ५) का सर्वसाधारणले ५० दिनभन्दा बढी समयदेखि सास्ती खेप्दै आएका छन् ।
तरकारी बारीमै कुहिने जोखिम
सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेको करोडौँ मूल्य बराबरको नगदे बाली बजारसम्म पुर्याउन पाएका छैनन् । गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका वडा नं २, ३, ४ र ५ बाट लाखौँ मुल्य बराबरको तरकारी निकासी भएको थियो । यस वर्ष उत्पादन बृद्धि समेत भएको जनाइएको छ ।
तर, यातायात सञ्चालन नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहिएर जाने अवस्था सृजना भएको छ । गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मिहिनेत खेर जाने जोखिमले चिन्तित बनेका छन् ।
आमाछोदिङ्मो गाउँपालिका–५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)का अनुसार सरकारले सवारीसाधन सञ्चालनका लागि बेलीब्रिज निर्माण गर्ने तयारी गरे तापनि त्यसबाट तत्कालको समस्या समाधान नहुने देखेपछि स्थानीयवासी आफैँ काठेपुल निर्माणमा जुटेका हुन् ।
हालसम्म काठेपुल निर्माणको काम आधा जति सकिइसकेको र भोलि (शनिबार)देखि नै सर्वसाधारण हिँड्न मिल्नेगरी काम भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । निर्माणलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न गाउँवासीलाई श्रमदानमा सक्रिय सहभागी हुन आह्वान गरिएको उहाँले बताउनुभयो ।
स्थानीय किसान तथा सर्वसाधारणले तत्कालका लागि काठेपुलबाट राहत मिल्ने विश्वास लिएका छन् भने सम्बन्धित निकायसँग अवरुद्ध बनेको मुख्य सडक खण्ड तत्काल मर्मत गरी सवारीसाधन नै चल्ने गरी यातायात सहज बनाइदिन माग गरेका छन् ।

