मुस्ताङमा पथ प्रदर्शकको मृत्यु
मुस्ताङ, १२ कात्तिकः मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ आइपुगेका एक पथ प्रदर्शकको मृत्यु भएको छ ।
सोेलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ का २७ वर्षीय लाक्चन्द्र कुलुङको मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा उपचारका क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिनुभयो ।
पथ प्रदर्शक कुलुङ हिमालयन हब एड्भेन्चर प्रालिमार्फत फ्रान्सका महिला पर्यटकलाई लिएर मनाङ हुँदै थोरङला पास पुगेर बुधबार राति मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ आइपुगेका थिए । सूचना अधिकारी महतका अनुसार कुलुङ मुक्तिनाथको एक होटलमा ‘वाथरुम’मा नुहाउन गएकामा लामो समयसम्म बाहिर ननिस्किएपछि होटलका सचालकले इलाका प्रहरी कार्यालय मुक्तिनाथलाई जानकारी गराएका थिए ।
पथ प्रदर्शक कुलुङ ‘वाथरुम’मा अचेत अवस्थामा भेटिएका थिए । तत्काल उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम भर्ना गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

