Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | रासस


राँझा (बाँके), १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु पाँच सय देखि एक हजारसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगन्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताउनुभयो । 

“यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो, “चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नुपरेको छ ।”

उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो भएका कारण किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको बताउनुभयो । 

कम्पनीले गत वर्ष मोटा धानको रु तीन हजार ४६३ र मध्यमको रु तीन हजार ६२८ निर्धारण गरेको थियो । कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले गत वर्ष २० हजार क्विन्टल कोटा तोकेर धान खरिद गरेकामा यस वर्ष अहिलेसम्म कोटा तोकिएको छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीले धान खरिद सुरु नगर्दा किसान व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य भएको खजुरा गाउँपालिका–२ का किसान गेहेन्द्र धितालले बताउनुभयो । उहाँले सरकारले धानको समर्थन मूल्य तोके पनि व्यापारीले आफूखुसी मूल्य राखेको बताउनुभयो । बाँकेका अधिकांश किसानले दसैँअगाडि नै घरमा धान भित्र्याइसकेका छन् । 

“समयमा धान खरिद गर्न कम्पनीको कुनै तयारी नै छैन, बजारमा व्यापारीले सस्तोमा धान खरिद गरिरहेका छन्”, धितालले भन्नुभयो, “वर्षभरिको मिहिनेतलाई किसानले घाटा खाएर बेच्न बाध्य भएका छौँ ।” अधिकांश मध्यम र निम्नस्तरका किसानलाई भर्खरै भित्र्याएको धान बिक्री गरेर चाडपर्व मनाउने पैसा जुटाउन सस्तोमा बिक्री गर्न बाध्य भएको उहाँको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताउनुभयो । केन्द्रबाट कोटा निर्धारण भएको पत्र आउनेबित्तिकै खरिद सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan