सात वर्षदेखि अलपत्र बाजुराका दुई पुलको निर्माण अघि बढाइँदै, पुरानो ठेक्का रद्द
बूढीगंगा–त्रिवेणी र बडिमालिका–गौमुल जोड्ने पुल निर्माणका लागि नयाँ प्रक्रिया सुरु, मन्त्री लम्सालको घोषणा– ‘अब अलपत्र ठेक्का रहने छैनन्’
काठमाडौं । वर्षौंदेखि अलपत्र अवस्थामा रहेका बाजुराका दुई महत्वपूर्ण पुल निर्माणको काम अघि बढाइने भएको छ। बूढीगंगा–त्रिवेणी र बडिमालिका–गौमुल जोड्ने पुल निर्माणका लागि नयाँ प्रक्रिया थालिएको हो।
२०७५ सालमा दुवै पुल निर्माणका लागि ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा ठेक्का आह्वान गरिएको थियो। तर, निर्माण व्यवसायीले निर्धारित समयभित्र काम सम्पन्न गर्न नसकेपछि उक्त ठेक्का रद्द गरिएको छ।
करिब सात वर्षदेखि निर्माण अघि बढ्न नसक्दा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। विशेषगरी वर्षायाममा बूढीगंगा, त्रिवेणी, बडिमालिका र गौमुल क्षेत्रबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या छ। पुल निर्माण सम्पन्न भए स्थानीयको आवागमन सहज हुनुका साथै यातायात, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार विकासमन्त्री इन्जिनियर सुनिल लम्सालले अलपत्र पुल निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाइएको जानकारी दिएका छन्।
उनका अनुसार दुवै पुलको निर्माण कार्य शीघ्र अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको छ। योजनाको वास्तविक अवस्था बुझ्न इन्जिनियर खटाएर दुवै निर्माणस्थलको ‘साइट भेरिफिकेसन’समेत सम्पन्न गरिएको छ।
मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत अलपत्र आयोजनालाई निरन्तरता दिनेभन्दा पनि जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायीका कारण रोकिएका योजनालाई अघि बढाउने सरकारको प्रयास रहेको सन्देश दिएका छन्।
वर्षौंदेखि पुलको प्रतीक्षामा रहेका बाजुरावासीका लागि यो पहल आशाको विषय बनेको छ। अब भने घोषणा र प्रक्रियामै सीमित नराखी निर्माण कार्यलाई तीव्रता दिँदै निर्धारित समयमै पुल सम्पन्न गर्नु सरकारका लागि मुख्य चुनौती हुनेछ।

