Friday 30th of October | २०८३ कार्तिक १३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुला सीमामा अब ‘स्मार्ट निगरानी’ : नेपाल–भारत सुरक्षा सहकार्यमा नयाँ रणनीति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |
newsabhiyan

दशगजामा सीसीटीभी, नाकामा लगेज स्क्यानर र ड्रोन परिचालन बढाइने, तस्करीदेखि मानव बेचबिखनसम्म नियन्त्रण गर्न दुवै देशका सुरक्षा प्रमुख प्रतिबद्ध

*काठमाडौं ।* नेपाल–भारतबीचको खुला सीमालाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने रणनीतिसहित सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ समन्वय बैठक काठमाडौंमा सम्पन्न भएको छ। सीमा क्षेत्रमा हुने तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार, नक्कली नोटको ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण गर्न दुवै देशले संयुक्त सुरक्षा सहकार्य थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सम्पन्न बैठकले परम्परागत सीमा सुरक्षा प्रणालीलाई आधुनिक प्रविधिमा आधारित ‘स्मार्ट सीमा व्यवस्थापन’मा रूपान्तरण गर्ने विषयलाई प्राथमिकता दिएको छ।

बैठकमा दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने र दुवै देशले आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको छ। यसले खुला सीमाको दुरुपयोग गरी हुने अवैध गतिविधिमाथि निगरानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

*तस्करी र सीमापार अपराधमाथि संयुक्त निगरानी*

बैठकले अघिल्लो नवौँ समन्वय बैठकका निर्णयहरूको प्रगति समीक्षा गर्दै रणनीतिक, अपरेसनल र कार्यक्षेत्र तहमा सहकार्य विस्तार गर्ने निर्णय गरेको छ। सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, लागूपदार्थ कारोबार र नक्कली नोटको ओसारपसार नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको छ।

विशेषगरी खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकले अनधिकृत प्रवेश गर्ने सम्भावना रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरिएको छ।

*दशगजा अतिक्रमण हटाउने र सीमा स्तम्भ संरक्षण*

नेपाल–भारत सीमाको संवेदनशील विषयका रूपमा रहेको दशगजा व्यवस्थापनलाई पनि बैठकले प्राथमिकता दिएको छ। दशगजा क्षेत्रमा हुने अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन निरन्तर संयुक्त प्रयास गर्ने सहमति भएको छ।

त्यसैगरी बाउन्ड्री वर्किङ ग्रुप (BWG) र सर्भे अफिसियल्स कमिटी (SOC) का निर्णयअनुसार सीमा स्तम्भहरूको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि फिल्ड तहमा समन्वय बढाइने भएको छ।

सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाले दुई देशबीचको सुरक्षा तथा सामाजिक सद्भावमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै संस्थागत सहकार्य सुदृढ गर्ने विषयमा समेत सहमति जुटेको छ।

*विपद् उद्धारमा संयुक्त अभ्यास*

सीमा सुरक्षा मात्रै नभई प्राकृतिक विपद् व्यवस्थापनमा समेत दुई देशबीच सहकार्य विस्तार गरिने भएको छ। बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा प्रभावकारी उद्धारका लागि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा ‘जोइन्ट स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्ने विषयमा छलफल भएको छ।

साथै आधुनिक सुरक्षा प्रविधि र विशेष तालिममा सहयोग विस्तार गर्ने तथा दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमण सञ्चालन गर्ने निर्णय भएको छ।

*सुरक्षासँगै मानवीय सम्बन्ध विस्तार*

बैठकले वैधानिक रूपमा आवतजावत गर्ने यात्रुलाई सहज बनाउन सीमा नाकाहरूमा सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने निर्णय गरेको छ। मैत्रीपूर्ण खेलकुद, अन्तर्राष्ट्रिय दिवस तथा प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेर दुई देशका सुरक्षा निकायबीच विश्वास र सौहार्दता अभिवृद्धि गर्ने सहमति पनि भएको छ।

बैठकमा नेपालका तर्फबाट गृह तथा परराष्ट्र मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी सहभागी थिए। भारतका तर्फबाट एसएसबीका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा भारतका गृह र विदेश मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति थियो।

सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिनेछ।

खुला सीमालाई दुवै देशले साझा सुरक्षा चुनौतीका रूपमा लिएर प्रविधि, सूचना र जनशक्तिको प्रभावकारी उपयोग गर्न सके सीमापार अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्छ। अब चुनौती बैठकमा भएका सहमतिलाई कागजमा सीमित नराखी सीमा क्षेत्रमा व्यवहारमै कार्यान्वयन गर्नु हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan