बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग
काठमाडौँ, १५ कात्तिकः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा आज जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरिएको छ ।
विज्ञप्तिमा घटनाको स्वतन्त्र र पारदर्शी छानबिन, पीडितलाई उचित क्षतिपूर्ति तथा अनुसन्धान प्रक्रियामा बालमैत्री पद्धति अपनाउन आग्रह गरिएको छ । साथै सार्वजनिक कार्यक्रम र भीड नियन्त्रणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिन तथा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बालअधिकार परिषद्बाट घटनाको अनुगमन गर्न माग गरिएको छ ।

