उत्तराखण्डमा आठ जना पदयात्री छ दिनदेखि बेपत्ता
नयाँदिल्ली, १७ कात्तिक : भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा भारी हिमपात र खराब मौसमका कारण सात जना पदयात्री र एक जना पथप्रदर्शकसहित आठ जना छ दिनदेखि बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले मङ्गलबार उनीहरू बेपत्ता भएको पुष्टि गरेका छन् ।
मिडिया रिपोर्टअनुसार पदयात्रीहरू अक्टोबर २७ मा उत्तराखण्डको केदारताल क्षेत्रमा तीनदिने पदयात्राका लागि निस्किएका थिए । अक्टोबर २९ मा उक्त क्षेत्रमा भारी हिमपात भइरहेका बेला हिमपहिरो गएको थियो ।
स्थानीय अधिकारीका अनुसार पदयात्रीहरूले अक्टोबर २९ मा आफ्नो पदयात्रा व्यवस्थापन गर्ने संस्थासँग अन्तिम पटक सम्पर्क गरी सहयोग मागेका थिए । त्यसयता उनीहरू सम्पर्कविहीन छन् । यसअघि तीन जना भरिया र एक जना भान्सेलाई भने उद्धार गरिएको थियो ।
बेपत्ताहरूको खोजीका लागि राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) का छ जना र नेहरू पर्वतारोहण संस्थानका चार जना गरी १० सदस्यीय उद्धार टोलीलाई सोमबार हेलिकोप्टरबाट केदारताल उपत्यकामा पु¥याइएको थियो । तर, प्रतिकूल मौसमका कारण सोमबार साँझसम्म खोजी तथा उद्धार कार्य रोक्नुपरेको थियो ।
मङ्गलबारदेखि खोजी तथा उद्धार कार्य पुनः सुरु गर्ने अपेक्षा गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

