सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..
दमौली (तनहुँ), १८ कात्तिकः सानै उमेरमा आफन्तको साथ छुटेपछि मानिस कहाँ पुग्छ र कस्ता कठिनाइ भोग्न बाध्य हुन्छ भन्ने उदाहरण हुनुहुन्छ दमौलीका गङ्गाराम परियार ।
बाल्यकालमा अभिभावकीय माया र संरक्षणबाट वञ्चित उहाँ करिब छ वर्षकै उमेरदेखि लागूऔषध दुव्र्यसनको लतमा फस्नुभयो । अभाव, एक्लोपन, असफल सम्बन्ध र शारीरिक पीडाले उहाँको जीवनलाई झन् कठिन बनाउँदै लग्यो ।
सानै उमेरमा उचित संरक्षण र मार्गदर्शन नपाउनु भएका गङ्गाराम गलत सङ्गतमा पर्नुभयो । बाल्यकालमै सुरु भएको दुव्र्यसनले उहाँको जीवनमा गहिरो प्रभाव पा¥यो । केही समय पोखरास्थित एक संस्थामा बसेर खानपान, बसोबास र कामको व्यवस्था भएपनि औपचारिक शिक्षा हासिल गर्ने अवसर पाउनुभएन । त्यहाँ रहँदा दुव्र्यसनबाट मुक्त हुन नसकेपछि उहाँले संस्था छाड्नुभयो ।
जीवनलाई नयाँ ढङ्गले अघि बढाउने आशासहित उहाँले विवाह गर्नुभयो । आफ्नै परिवार बनेपछि जीवन सहज हाला भन्ने अपेक्षा थियो । तर वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । श्रीमतीले साथ छाडेर अर्को व्यक्तिसँग विवाह गरेपछि उहाँ फेरि एक्लो हुनभयो । जीवनका दुःखसुख बाँड्ने कोही नहुँदा उहाँ दुव्र्यसनतर्फ फर्किनुभयो ।
जीविकोपार्जनका लागि दैनिक जसो उहाँ सामान लोड तथा अनलोड गर्ने काम गर्न थाल्नुभयो । श्रम गरेर कमाएको पैसाले साँझको आवश्यकता टार्नुहुन्थ्यो । तर, दिनभरको मेहनतपछि पनि उहाँको जीवनको दिशा बदलिन सकेन ।
दुर्घटनाले थलियो शरीर, सडक बन्यो आश्रय
गङ्गारामको जीवनमा अर्को ठूलो विपत्ति आइलाग्यो, मदिरा सेवन गरेको अवस्थामा लडेर उहाँका दुवै खुट्टा भाँचिए । खुट्टा भाँचिएपछि हिँड्डुल गर्न र काम गर्न नसक्ने अवस्थामा पुग्नुभयो । नियमित आम्दानीको बाटो बन्द भयो । उपचार गरिदिने र हेरचाह गर्ने आफन्त वा सहारा नहुँदा उहाँ झन् असहाय बन्नुभयो ।
शारीरिक पीडा र आर्थिक अभावबीच उहाँको जीवन सडकमा बित्न थाल्यो । न सहज रूपमा उपचार पाउने अवस्था थियो, न त आफ्नो दुःख सुनिदिने आफन्त । काम गरेर जीवन धान्ने उहाँ अब अरूको सहयोगबिना सामान्य जीवन बिताउन नसक्ने अवस्थामा पुग्नुभयो ।
यही अवस्थाबारे जानकारी पाएपछि गत असोज २० गते जिल्ला प्रहरी कार्यालय लमजुङ र मानवसेवा आश्रम लमजुङले संयुक्त रूपमा उहाँको उद्धार गरेको छ । सडकमा कष्टकर जीवन बिताइरहेका गङ्गारामलाई उद्धार गरी मानवसेवा आश्रममा ल्याइएको मानवसेवा आश्रम लमजुङका सेल्टर संयोजक सङ्गीता विकले जानकारी दिनुभयो ।
आश्रममा ल्याइएपछि गङ्गारामको स्वास्थ्य उपचार र हेरचाह सुरु गरियो । लामो समयदेखि उपचारको अभावमा पीडा सहँदै आउनुभएका उहाँका दुवै खुट्टाको उपचार गरियो । सुरक्षित बसोबास र नियमित हेरचाहको व्यवस्था मिलाइएको विकले राससलाई जानकारी दिनुभयो ।
जीवनको लामो समय अभाव, उपेक्षा र एक्लोपनमा बिताउनुभएका गङ्गारामका लागि आश्रमको वातावरण नयाँ थियो । त्यहाँ उहाँका लागि बस्ने ठाउँ र खानपानको व्यवस्था भएको छ । यस्तै, आत्मीयता र पारिवारिक वातावरणको अनुभूति गर्न पाउनुभएको छ । हाल गङ्गाराम मानवसेवा आश्रम लमजुङमा आश्रित हुनुहुन्छ ।

