Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

दाङ, १८ कात्तिकः दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन् ।

कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा अन्य चार जनाको साझेदारीमा सामूहिक रूपमा सयपत्री फूलखेती गर्नुभएको छ ।

सङ्गीत पेसासँगै कृषि क्षेत्रमा जोडिनका लागि सयपत्रीबाट सुरुआत गरेको उहाँले बताउनुभयो । “कलाकारितामा आवद्ध हुँदाहुँदै अब कृषि क्षेत्रमा पनि सक्रिय हुने सोचले सयपत्री फूलखेतीबाट सुरुआत गरेको हुँ”, उहाँले भन्नुभयो ।

उहाँहरूले सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा क्षेत्रफलमा ‘कर्म ५५५’ जातको सयपत्री रोप्नुभएको छ । जहाँ  करिब दुई हजार ४०० बिरुवा रोप्नुभएको छ ।

यस खेतीमा मल्चिङ गर्ने, कालो प्लास्टिक बिछ्याउने, विषादी प्रयोग गर्ने, खेत खन्ने र क्यारी बनाउने कार्यसहित झन्डै रु एक लाख लगानी भएको सुगन्धित कृषि समूहका संयोजक सुमन गिरीले बताउनुभयो ।

पाँच कट्ठाबाट करिब १० क्विन्टलको हाराहारीमा फूल उत्पादन हुने अपेक्षा गरिएको छ । तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको ‘अग्रिम अर्डर’ आइसकेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा उत्पादित फूल स्थानीयस्तरमै खपत हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो खेती गरिएको उहाँको भनाइ छ ।

सहकारीमार्फत पनि सयपत्रीखेती 
व्यक्तिगत र समूहगत प्रयासका साथै कृषि सहकारीहरू पनि व्यावसायिक सयपत्रीखेतीमा अग्रसर भएका छन् । तुलसीपुर-१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर व्यावसायिक रूपमा सयपत्रीखेती गरेको छ ।  

एक हजार २०० सदस्य रहेको यस सहकारीका कार्यसमिति सदस्य तथा कर्मचारी स्वयं खेतमा खटिएर सयपत्रीको स्याहारसुसारमा व्यस्त रहने गरेका छन् । संस्थाकी अध्यक्ष चित्रा धितालका अनुसार कट्ठाको वार्षिक रु दुई हजारका दरले जग्गा भाडामा लिएर सयपत्री रोपिएको हो । बीउ, मल्चिङ र खेत जोताइलगायतका काममा सुरुमा रु तीन लाखभन्दा बढी खर्च भएको छ ।

सहकारीले यस खेतीबाट रु १२ लाखदेखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ । फूल बिक्री गर्न टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार गर्दा विभिन्न ठाउँबाट माग पनि भइआएको अध्यक्ष धितालले बताउनुभयो ।

पहेँलो सयपत्री
यस्तै तुलसीपुर-१५ स्थित पहरुवामा सञ्चालित ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि व्यावसायिक रूपमा  सयपत्री फूल तथा माला बिक्री सुरु गरेको छ ।

फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित रेखदेखमार्फत आकर्षक पहेँलो तथा सुन्तले रङका ताजा सयपत्री फूलहरू उत्पादन गरिएका छन्, जुन लामो समयसम्म ताजा रहन्छन् । फार्मले थोक तथा खुद्रा दुवै मूल्यमा फूल तथा माला उपलब्ध गराएको जनाएको छ ।

स्वदेशी उत्पादनमा आत्मनिर्भरताको सन्देश
तुलसीपुर क्षेत्रमा व्यक्तिगत साना प्रयासदेखि सहकारी र ठूला कृषि फार्महरूमार्फत भइरहेको सयपत्रीखेतीले दाङलाई फूलमा आत्मनिर्भर बनाउन ठूलो मद्दत पुर्याएको बिसीले बताउनुभयो । पछिल्लो समय यसरी सयत्रपीखेती हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan