सांस्कृतिक सम्बन्ध र पर्यटन सहकार्य सुदृढ गर्न नेपाली पर्यटन टोली चीनको भित्री मङ्गोलिया भ्रमणमा
काठमाडौं — नेपाल–चीनबीच सांस्कृतिक आदानप्रदान, पर्यटन सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल शुक्रबार चीनको भित्री मङ्गोलियातर्फ प्रस्थान गरेको छ।
नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र काठमाडौंस्थित चाइना नेसनल टुरिस्ट अफिसको आयोजनामा हुन लागेको उक्त भ्रमणले दुई देशबीच आपसी समझदारी अभिवृद्धि गर्नुका साथै पर्यटन क्षेत्रका सरोकारवालाबीच संवाद र सहकार्यका नयाँ सम्भावना खोज्ने लक्ष्य राखेको छ।
भ्रमणका क्रममा सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन गन्तव्यको प्रवर्द्धन, दिगो पर्यटन विकास तथा पर्यटन क्षेत्रको अनुभव आदानप्रदानजस्ता विषयमा सहकार्यका अवसर पहिचान गरिने अपेक्षा गरिएको छ।
सांस्कृतिक कूटनीति र पर्यटनलाई दुई देशका जनतालाई नजिक ल्याउने प्रभावकारी माध्यमका रूपमा लिँदै यस्तो आदानप्रदानले नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई थप प्रगाढ बनाउने विश्वास आयोजकले लिएका छन्। दुवै देश प्राकृतिक सौन्दर्य, विविध संस्कृति र समृद्ध ऐतिहासिक सम्पदाका लागि परिचित छन्।
चीनको उत्तरी क्षेत्रमा अवस्थित भित्री मङ्गोलिया विशाल घाँसे मैदान, मरुभूमि, नदी तथा विविध जातीय संस्कृति र परम्पराका लागि प्रसिद्ध छ। लामो इतिहास, मौलिक जीवनशैली र जीवन्त सांस्कृतिक सम्पदाले यस क्षेत्रलाई चीनको पर्यटन उद्योगको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गरेको छ।
भ्रमणले नेपाली प्रतिनिधिमण्डललाई भित्री मङ्गोलियाको पर्यटन सम्भावना, गन्तव्य व्यवस्थापन, सांस्कृतिक पर्यटन तथा क्षेत्रीय पर्यटन प्रवर्द्धनका अभ्यासबारे अनुभव हासिल गर्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाल र चीनका पर्यटन संस्थाहरू तथा व्यवसायीबीच संस्थागत सम्बन्ध विस्तार र भावी सहकार्यका सम्भावनासमेत खोजिने अपेक्षा गरिएको छ।
यस्ता सांस्कृतिक तथा पर्यटन आदानप्रदान कार्यक्रमले दुवै देशमा संस्कृति र पर्यटनको उच्च गुणस्तरीय विकासलाई प्रोत्साहन गर्नुका साथै आपसी समझदारी, पर्यटन लगानी र जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्याउने विश्वास गरिएको छ।


