प्रधानमन्त्री बालेनलाई ‘श्री ८’ को संज्ञा दिँदै संसद्मा गर्जिए निश्कल राई
मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याइनु राजनीतिकरण : नेता शाही
काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक राईले सरकारले नै बालेन शाहलाई प्रश्नभन्दा माथि राख्न खोजेको गम्भीर आरोप लगाए ।
‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ,’ संसद्मा आक्रोशित मुद्रामा प्रस्तुत भएका राईले भने, ‘देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ ।’
राईले सरकारको कार्यशैली अधिनायकवादी शासनतर्फ उन्मुख भएको संकेत गर्दै नागरिकको मुख थुन्ने प्रयास भइरहेको बताए । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको उनको आरोप छ ।
वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हिँड्न खोजेको र नागरिक अधिकारमाथि प्रहार गर्न उद्धत रहेको राईको आरोप छ ।
मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याइनु राजनीतिकरण : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्रीलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्नू राजनीतिकरण नभएको बताएका छन् ।
उनले संसद् भवनमा आगो लगाएर चुनाव लड्नुचाहिँ राजनीतिकरण भएको आरोप लगाए ।
‘संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ ।
आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।
त्यस्तै, उनले मिडिया कार्यालयका गेटअगाडि गाडी तेर्स्याइनु राजनीतिकरण भएको बताए ।
भीरमा अड्किएका घाइतेको उद्धार गर्न हेलिकोप्टर नपठाउने, फोन नउठाउने र संसद्मा आएर रोएको नाटक गर्नु राजनीतिकरण भएको उनको भनाइ छ ।

