Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा नेपालका थप ६ हिमाल समेट्न प्रस्ताव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १४ शनिबार |

काठमाडौं । सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ।

विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले नेपाल पर्वतारोहण संघमार्फत उक्त प्रस्ताव अघि सारेको हो।

नेपालले प्रस्ताव गरेका छ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ। त्यस्तै, नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ।

नेपालले छुट्टै हिमालका रूपमा मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्।

काठमाडौंमा हिजोदेखि सुरु भएको महासंघको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन्। सोही अवसरमा नेपालले छ हिमाललाई छुट्टै पहिचान र अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रस्ताव अघि सारेको हो।

प्रस्तावित हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुने अपेक्षा गरिएको छ। यसबाट नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार तथा साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि विश्व पर्वतारोहण तथा आरोहण महासंघको साधारणसभा आयोजना गरेको थियो। यसपटकको आयोजना नेपालका लागि तेस्रो हो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan