Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रभु बैंक कर्जा अपचलन प्रकरण : पक्राउ संख्या १८ पुग्यो, ‘लुट धन्दा’को आरोपले निक्षेपकर्ता त्रसित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १५ शुक्रबार |
newsabhiyan

काठमाडौं, १५ साउन । प्रभु बैंकसँग जोडिएको कर्जा अपचलन प्रकरणमा पक्राउ पर्ने बैंकका पदाधिकारी, कर्मचारी तथा ऋणीहरूको संख्या १८ पुगेको छ।

बैंकिङ कसुरसम्बन्धी अनुसन्धानलाई तीव्र बनाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हालसम्म १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार प्रभु बैंकसँग सम्बन्धित चार वटा बैंकिङ कसुरका मुद्दा सरकारी वकिल कार्यालयमा दर्ता भइसकेका छन्। ती मुद्दामा २९ जना प्रतिवादी रहेका छन्।

४८ करोड कर्जा दुरुपयोग प्रकरणमा उच्च तहका अधिकारी पक्राउ
सीआईबीले पछिल्लो समय रिसोर्ट निर्माण तथा जग्गा खरिदका नाममा लिइएको ४८ करोड रुपैयाँ बराबरको कर्जा दुरुपयोग प्रकरणमा अनुसन्धान गरिरहेको छ।

यसै प्रकरणमा गत असार ३० गते शशिधर शर्मा पक्राउ परेका थिए। त्यसपछि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर सीआईबीले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त, बुटवल शाखाका कर्मचारी राजेन्द्र श्रेष्ठ तथा शाखा प्रबन्धकद्वय सन्तोष ज्ञवाली र शिशिर पौडेललाई पक्राउ गरेको हो।

यससँगै उक्त कर्जा दुरुपयोग अनुसन्धानमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।

सीआईबीका अनुसार कर्जा स्वीकृत गर्दा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी भविष्यमा गर्ने प्रतिबद्धताका आधारमा ऋण प्रवाह गरिएको देखिएको छ।

उक्त रकम रिसोर्ट निर्माणमा प्रयोग नगरी सम्बन्धित व्यक्ति तथा समूहसँग जोडिएका अन्य कम्पनीको दायित्व भुक्तानी गर्न प्रयोग गरिएको अनुसन्धानबाट खुलेको सीआईबीको भनाइ छ।

पूर्वअध्यक्षदेखि उच्च कर्मचारीसम्म अनुसन्धानको घेरामा

प्रभु बैंक कर्जा अपचलन प्रकरणमा यसअघि बैंकका पूर्वअध्यक्ष तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचन पक्राउ परेका थिए। त्यस्तै पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित उच्च तहका कर्मचारीहरू पनि अनुसन्धानको दायरामा आएका छन्।

सीआईबीले पक्राउ गरेका तथा अनुसन्धान गरिरहेका व्यक्तिहरूमा पूर्वसीईओ अशोक शेरचन, पूर्वअध्यक्ष देवीप्रकाश भट्टचन, डिसीओ मणिराम पोखरेल, कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डंगोल, रेमिट्यान्स विभाग प्रमुख सुजिन शाक्य, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलगायत छन्।

त्यस्तै राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रकाश पाण्डे, गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य तथा प्रभु म्यानेजमेन्टसँग जोडिएका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान भइरहेको छ।

कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरुपयोग गरेको आरोप

सीआईबीले प्रभु बैंकलाई हानि–नोक्सानी पुर्याोउने उद्देश्यले कृत्रिम व्यवसाय खडा गरी कर्जा प्रवाह गरिएको आरोप लगाएको छ।

एसियन भिलेज रिसोर्ट खरिदका लागि कृषि, वन तथा पशु चिकित्सा विज्ञान संस्थान नामको कृत्रिम व्यवसाय खडा गरिएको र त्यसैमार्फत ठूलो रकम कर्जा प्रवाह गरी दुरुपयोग गरिएको अनुसन्धानमा देखिएको सीआईबीको दाबी छ।

यसै घटनामा सीआईबीले १२ जनालाई प्रतिवादी बनाएर ५९ करोड रुपैयाँभन्दा बढी कर्जा दुरुपयोग गरेको अभियोगसहित मुद्दा दायर गरिसकेको छ।

प्रभु म्यानेजमेन्टविरुद्ध उजुरीको चाङ

सीआईबीले यसअघि प्रभु म्यानेजमेन्टसँग सम्बन्धित घटनाको अनुसन्धान गरेको थियो। सुरुमा अभियोगपत्र बुझाउने समयसम्म ३८ वटा उजुरी परेकोमा हालसम्म प्रभु म्यानेजमेन्टविरुद्ध जाहेरी दिने संख्या ३१६ पुगेको सीआईबीले जनाएको छ।

प्रभु बैंक र प्रभु मनी ट्रान्सफरबीचको विप्रेषण कारोबार, बैंकलाई पुर्याबइएको क्षति तथा विभिन्न कम्पनीका नाममा प्रवाह गरिएको कर्जाको दुरुपयोगसम्बन्धी विषयमा समेत अनुसन्धान भइरहेको छ।

बैंकिङ क्षेत्रप्रति विश्वासमा प्रश्न

प्रभु बैंक कर्जा प्रकरणले बैंकिङ क्षेत्रको सुशासन, जोखिम व्यवस्थापन र नियामकीय निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ। ठूलो रकमको कर्जा स्वीकृति प्रक्रियामा भएको भनिएको अनियमितताले सर्वसाधारण निक्षेपकर्तामा समेत चिन्ता बढाएको छ।

निक्षेपकर्ताहरूले बैंकमा राखेको रकम सुरक्षित छ कि छैन भन्ने विषयमा चासो बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थामा जनताको विश्वास नै मुख्य आधार भएकाले कर्जा दुरुपयोग, आन्तरिक नियन्त्रण कमजोरी र मिलेमतो भए त्यसले समग्र वित्तीय प्रणालीमा असर पार्न सक्ने विज्ञहरूको भनाइ छ।

सीआईबीको अनुसन्धानले दोषी देखिएका व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही हुने अपेक्षा गरिएको छ। तर, यस घटनाले बैंकिङ क्षेत्रभित्रको सुशासन र नियमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan