धर्म–सम्प्रदायबीचको सद्भाव खलल पार्ने सामग्रीप्रति प्रेस काउन्सिलको निगरानी, स्वअनुगमन र कारबाहीको आग्रह
काठमाडौं । सुनसरी लगायत देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनालाई लिएर धर्म, सम्प्रदाय र समुदायबीचको आपसी सद्भावमा असर पार्ने तथा हिंसा, त्रास र उत्तेजना फैलाउने किसिमका सामग्री सम्प्रेषण नगर्न नेपाल प्रेस काउन्सिलले आग्रह गरेको छ।
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संवेदनशील विषयमा जिम्मेवार पत्रकारिता र स्वअनुगमन गर्न आग्रह गरेको हो।
घटनासँग सम्बन्धित समाचार, तस्बिर, भिडियो वा सामग्री प्रकाशन तथा प्रसारण गर्दा सत्यता पुष्टि गर्न, सामाजिक सद्भावमा असर पर्ने भाषा प्रयोग नगर्न र समुदायबीच द्वेष उत्पन्न हुने गतिविधिलाई प्रश्रय नदिन काउन्सिलले ध्यानाकर्षण गराएको छ।
काउन्सिलले पत्रकारिता क्षेत्रलाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गर्दै आचारसंहिता विपरीतका सामग्री प्रकाशन वा प्रसारण भएको पाइएमा आवश्यक प्रक्रिया अनुसार कारबाही गरिने जनाएको छ।
देशको सामाजिक संरचना बहुधार्मिक, बहुसांस्कृतिक र विविधतापूर्ण रहेकाले संवेदनशील घटनाको रिपोर्टिङ गर्दा विशेष सावधानी अपनाउनुपर्ने काउन्सिलको भनाइ छ।
सुनसरी लगायतका स्थानमा भएका घटनापछि उत्पन्न परिस्थितिमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै काउन्सिलले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
