घरविहीन इन्द्रमायालाई घर हस्तान्तरण
भद्रपुर (झापा), २५ साउनः यहाँको भद्रपुर नगरपालिका-२ महारानी चोककी घरविहीन इन्द्रमाया खातीले तीन कोठे पक्की घर प्राप्त गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) झापाले विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत निर्मित घर आज एक कार्यक्रमकाबीच इन्द्रमायालाई हस्तान्तरण गरिएको हो ।
नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई भान्सासहितको तीनकोठे घरको चाबी हस्तान्तरण गर्दै विभिन्न दाताबाट सङ्कलित रु तीन लाख ८१ हजार रकमले घर निर्माण भएको जानकारी दिनुभयो ।
नेकपाले झापाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियान अघि बढाएको जनाएको छ । दोस्रो घर निर्माणका लागि लाभग्राहीसमेत छनोट भइसकेको नेता आङ्बोले बताउनुभयो ।
