Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठगीमा परेका पीडितको गुनासो, न्यायका लागि पहल गरिदिन आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २५ सोमबार | (रासस)

जनकपुरधाम, २५ साउनः ऋणका लागि साहुको नाममा दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदिई अर्कै व्यक्तिको नाममा बिक्री गरिएको भन्दै पीडितले आफूहरू ठगीमा परेको गुनासो गरेका छन् ।

    पीडितहरूले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक जानकारी दिँदै निष्पक्ष छानबिन तथा न्यायका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका हुन् ।

    धनुषाको विदेह नगरपालिका-९ इटहर्वा खरहानीका बहुरु राउत अमातले घरायसी समस्याका कारण २०७५ सालमा जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साहसँग ऋण लिएको बताउनुभयो । उहाँका अनुसार रु एक लाख ऋणका लागि दुई पटकमा गरी विदेह नगरपालिकास्थित आफ्नो नामको ४६ कठ्ठा छ धुर जग्गा दृष्टिबन्धक राखिएको छ ।

    अमातले उक्त जग्गा धितोका रूपमा मात्र राखिएको र ऋण तिर्ने सहमति रहेको अवस्थामा आफूलाई कुनै जानकारी नदिई सो जग्गा अर्कै व्यक्ति रामबाबु साहको नाममा बिक्री गरिएको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भएको दुःखेसो पोख्नुभयो । त्यसबेला गोपालका बुवा ब्रहमदेव साहको नाममा एक बिघा १४ धुरभन्दा बढी र १० कठ्ठा तीन धुर जग्गा गोपालका काका किशोरी साहको नाममा दृष्टिबन्धक (धितो) राखिएको थियो ।

    “घरायसी समस्याका कारण ऋण लिन जग्गा गोपालकै सल्लाहअनुसार उहाँको बुवा र काकाको नाममा दृष्टिबन्धक राखेको थिएँ”, अमातले भन्नुभयो, “तर हामीलाई थाहै नदिई गोपाल र उहाँको परिवारका सदस्य मिलेर त्यही जग्गा अर्कै व्यक्तिलाई बिक्री गरेको थाहा पाएपछि ठगीमा परेको महसुस भयो ।” 

    उहाँका अनुसार ऋणको साँवाब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटकपटक आग्रह गर्दा पनि गोपालले कहिले छोरा घरमा नरहेको, कहिले श्रीमतीबाहिर गएको भन्दै विभिन्न बहाना बनाउँदै आएका छन् । गाउँका भद्रभलाद्मीको रोहवरमा छलफल हुँदासमेत गल्ती स्वीकार गरी जग्गा फिर्ता गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेपछि बाध्य भएर प्रहरीमा उजुरी दर्ता गरिएको उहाँले बताउनुभयो । 

    “गोपाल साहसँग रु एक करोड ऋण लिन जनकपुरधामको मुरली चौकमा रहेको आफ्नो पाँच कठ्ठा जग्गा हामीले ऋणका लागि मात्र धितोमा राखेका थियौँ”, पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका निलम ठाकुरले भन्नुभयो, “बिक्री गर्ने सहमति कहिल्यै दिएका थिएनौँ, तर हामीलाई थाहै नदिई अर्कैको नाममा पास भएको थाहा पाएपछि हामी ठूलो अन्यायमा परेका छौँ ।” 

    आर्थिक रूपमा कमजोर अवस्थाको फाइदा उठाएर साहु पक्षले जग्गा हडप्ने नियतले कागजी प्रक्रिया अघि बढाएको पीडितहरूले दाबी गर्दै जग्गा कारोबारमा किर्ते, ठगी र विश्वासघात भएको आशंका भएकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । घटनाका कारण परिवार विस्थापनको जोखिममा परेको तथा मानसिक र आर्थिक रूपमा गम्भीर असर परेको पीडितहरूको भनाइ छ ।

    पत्रकार सम्मेलनमा उपस्थित अन्य पीडित तथा स्थानीयले पनि यस्ता घटनाले सर्वसाधारणमा त्रास फैलिएको उल्लेख गर्दै धितोमा राखिएको सम्पत्तिको कानुनी सुरक्षालाई प्रभावकारी बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । पीडितहरूको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले गोपाल साह, निजकी पत्नी र छोरालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार पक्राउ परेका तीनै जनामाथि अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan