Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्घाखाँचीमा विद्यालयमा एचपिभी खोप कार्यक्रम सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १ बिहीबार |

अर्घाखाँची, १ असोजः जिल्लाका विद्यालयमा नियमित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्ध खोप कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत सन्धिखर्क नगरपालिका-२ स्थित सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलमा नियमित एचपिभी खोप कार्यक्रम शुभारम्भ गरिएको हो । 

    जिल्ला खोप समन्वय समिति अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा आज आयोजित खोप शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले एचपिभी खोप पाठेघरको मुखको क्यान्सरबाट जोगिनका लागि महत्वपूर्ण रहेको बताउँदै लक्षित समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
    
    जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोख्रेलले एचपिभी खोप सुरक्षित र प्रभावकारी रहेको बताउँदै नियमित खोप कार्यक्रमलाई विद्यालय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरिरहेको उल्लेख गर्नुभयो । सबैको सहकार्य र समन्वयमा खोपसम्बन्धी सही सूचना अभिभावक तथा विद्यार्थीसमक्ष पुर्‍याउनुपर्ने उहाँको भनाइ छ ।

    ‘खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ’ भन्ने सन्देशसहित सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, अभिभावक तथा समुदायमा एचपिभी खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभयो ।

    “एचपिभी खोप पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले प्रदान गरिने महत्वपूर्ण खोप हो । नेपाल सरकारको नियमित खोप कार्यक्रममा पनि एचपिभीलाई समावेश गरिएको छ”, उहाँले भन्नुभयो । जिल्लामा नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै विद्यालय तहसम्म पहुँच सुनिश्चित गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय अधिकारी केशव ज्ञवाली, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, जिल्ला खोप समन्वय समिति सदस्य नारायण पौडेल, उमा बन्जाडे लगायतको उपस्थिति थियो ।

    कार्यक्रम जनस्वास्थ्य निरीक्षक प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको हो । विद्यालयमै केन्द्रित भएर नियमित एचपिभी खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    यसैबीच, आज सन्धिखर्क ग्रिन इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत ४५ जना छात्रालाई एचपिभी खोप लगाइएको आयोजकले जनाएको छ । विद्यालयबाटै खोप सेवा उपलब्ध गराउँदा लक्षित विद्यार्थीलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan