Friday 18th of September | २०८३ असोज २ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार | प्रगति ढकाल/रासस
newsabhiyan

काठमाडौँ, २ असोजः
            “सपना हो कि विपना हो, यो के हो जिन्दगी ?
            छिनको छिनै बदलियो, के भो जिन्दगी ?”

चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । 

यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो ? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सपना र बिपना छुट्याउन अझै पनि नसकेको जस्तो भएको छ उहाँलाई ।

चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिँड्नुभएका श्रीमान् टेकराज थामी  भदौ १० को बिहानदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । 

न फोन आएको छ, न एसएमएस । न त उहाँको अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि बास बस्न चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन् । त्यसरी नै दिनभर काममा गएकाहरु साँझ घर फर्किन्छन् । जब साँझ छिप्पदै जान्छ, सडकमा मानिसको आवतजावत पनि बिस्तारै कम हुन थाल्छ ।

कालिकाको मनमा जिज्ञासा अझै आउँछ– यतिबेलासम्म किन घर नफर्केको होला ? कतैबाट टुप्लुक्क मेरो श्रीमान् (जी) पनि घर फर्किनुहुन्छ कि ? कालिका मायाले बोलाउँदा टेकराजलाई ‘जी’ भन्नुहुन्थ्यो ।  

पत्रकारिता पेशामा रहनुभएका नयाँपत्रिकाका टेकराज कहिलेकाहीँ समाचारको कामले रातिसम्म घर बाहिरै रहनुहुन्थ्यो । ढिला हुने भएपछि फोन आउँथ्यो–‘आज अलि ढिला हुन्छ है ।’ अहिले कालिका त्यही  फोनको प्रतीक्षामा बस्नुभएको पनि महिना दिन पुग्न लागिसक्यो । “तिमीहरु खाना खाएर सुत ल । छोरीलाई बाबा आउन ढिला हुने भो भन्देउ ।” प्रायःजसो आउने यस्तै किसिमको सन्देश आए पनि प्रतिक्षा त जति पनि गरिन्थ्यो नि झै लाग्छ कालिकालाई । 

प्रतीक्षा गरेकै  २३ दिन बितिसक्यो । टेकराजको फोनबाट कुनै सन्देश आएन । “पहिला अफिसबाट ढिला हुँदा फोन आउँथ्यो । अहिले पनि साँझ परेपछि उहाँको फोन आउँछ कि जस्तो लाग्छ”, कालिका भन्नुहुन्छ, “फोन नआए पनि उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आश भने अझै मरेको छैन ।”

घरको ढोकामा हावा लागेर ‘ढकढक’ आवाज आउँदा पनि कालिकाको मुटु बेस्सरी ढुकढुक हुने गर्छ । उहाँलाई लाग्छ–टेकराज पो आउनुभयो कि ! तर ढोका खोल्दा बाहिर कोही हुँदैन । सधैँ अफिसबाट फर्कने बाबालाई ढोकामा स्वागत गर्न दौडिने छोरी कृतिकाले पनि २३ दिनदेखि त्यो अवसर पाएकी छैनन् ।

बाबा पनि घर फर्केपछि छोरीले ढोका खोल्न नआएसम्म म बाहिर नै बस्छु भन्दै मायाले घुर्काउनुहुन्थ्यो । छुट्टीको समयमा सधैँ बाबा छोरी घुम्न निस्कन्थे तर २३ दिनयता कति स्कूल छुट्टी भए ।

कृतिकालाई हात समाएर घुमाउने बाबाको साथ छैन । कुशे औँसीमा पनि तस्बिर हेरेर चित्त बुझाउनुप¥यो । सानासाना खुसी बाबालाई ‘शेयर’ गर्ने कृतिकाले महिना दिनभयो बाबासँग त्यो खुसी साट्ने अवसर नपाएको । 

सडकमा मोटरसाइकल गुडेको आवाज सुन्नासाथ कृतिका सोध्छिन्, “बाबा आउनुभएछ कि ?” छोरीको त्यो प्रश्नले कालिकाको मन झन् भारी हुन्छ । “सडकमा मोटरसाइकल चल्दा पनि छोरीले ‘बाबा आउनुभएछ क्यारे’ भन्छिन्”, कालिका सुनाउनुहुन्छ, “मलाई पनि अझै सबै जना अफिसबाट फर्किएजस्तै उहाँ पनि घर फर्केर आउनुहुन्छ कि जस्तो लागिरहन्छ ।”

कहिलेकाहीँ कसैले चप्पल बजाउँदै हिँडेको आवाज सुन्दा पनि कालिकालाई टेकराज कतै नजिकै हुनुहुन्छ कि जस्तो लाग्छ । आशा र निराशाबीचको यही दोधारमा बितिरहेका छन् भोटेकोशी बाढी गएयता उहाँका दिन पनि । 

टेकराज कतै उपचाररत हुनुहुन्छ कि ? कुनै सुरक्षित ठाउँमा हुनुहुन्छ कि ? आज नभए भोलि घरको ढोकामा आइपुग्नुहुन्छ कि ? कालिकाको मनमा यी प्रश्नहरू अझै बाँकी छन् ।

त्यसैले उहाँको मनले अहिलेसम्म टेकराजलाई मृत घोषणा गर्ने आँट गर्न सकेन तर फर्केर आउनुहुन्छ भनेर ढुक्क हुने आधार पनि छैन । यी र यस्तै अनिश्चितताले कालिकाको मनलाई हरेक दिन एउटा जटिल किसिमको परीक्षा लिइरह्यो ।

टेकराज सम्पर्कविहीन भएदेखि नै कालिकाले भगवान्को अगाडि बत्ती बालिरहनुभयो । बलिरहेको बत्तीलाई उहाँ निकैबेर नियालेर हेर्नुहुन्थ्यो । बत्ती उज्यालो र स्थिर देखियो भने मनमा आशा पलाउँथ्यो– टेकराज सुरक्षित नै हुनुहुन्छ होला । तर कहिलेकाहीँ झ्यालढोकाबाट छिरेको सिरसिरे बतासले त्यही बत्तीको ज्योति धिपधिप गराउँथ्यो । 

दियोको ज्योति उज्यालो हुँदा कालिकाको अनुहार पनि उज्यालिन्थ्यो तर बतासले बत्तीको ज्योति मधुरो बनाउँदा उहाँको मनमा पनि आशाको उज्यालो धमिलिन्थ्यो । “बत्ती राम्रोसँग बलिरहेको देख्दा उहाँ सुरक्षित हुनुहुन्छ कि भन्ने आश लाग्छ”, उहाँ भन्नुहुन्छ, “तर हावाले बत्ती धिपधिप गर्दा कतै नराम्रो सङ्केत त होइन भन्ने डर लाग्छ ।” कालिकाका लागि पछिल्ला २० दिन यसैगरी बितिरहेका छन्–आशाको एउटा सानो उज्यालो समातेर, अनिश्चितताको अँध्यारोसँग लड्दै  । 

    जबजब मलाई उज्यालोको आश लाग्छ,
    आमा यो टुकीमा किन बतास लाग्छ ?”

गजलकार प्रदीप रोदनका यी हरफ बाढीमा बेपत्ता भएर आफन्त सकुशल फर्किने आशामा दिन गनिरहेका कालिका र अन्य बेपत्ता परिवारको पीडासँग ठ्याक्कै मिल्छ ।

    ‘सररर पानी घट्टामा’ बोलको गीतका हरफ झैँ उहाँको दिनचर्या पनि बितिरह्यो ः 
    “बसेकी छु हजुरको नाम जप्दै,
    दियो बाल्दै त्यसैमा तेल थप्दै...”

बाहिर बत्ती धिपधिप गरिरहेको बेलाभित्र कालिकाको आशा । कहिले दुवै उज्याला हुन्थे, कहिले दुवै मधुरो । 

गत भदौ १० गते टेकराज चीनको केरुङ पुगिसक्नुभएको होला भन्ने कालिकालाई लागेको थियो । उहाँलाई दिइएको जानकारीअनुसार बिहान ७ः०० बजे नै चीनतर्फ जाने तयारी थियो । 

त्यसैदिन अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आउन थाल्यो । बाढीको खबर सुन्दा कालिकाको मन झस्कियो तर त्यतिबेलासम्म टेकराज बाढीको जोखिम क्षेत्र पार गरेर चीनतर्फ लागिसक्नुभएको होला भन्ने उहाँलाई लागेको थियो । 

दिनभर फोन आउँछ कि भनेर कालिका कुरिरहनुभयो । साँझ पर्न थाल्यो । घरका अरू सदस्य पनि फोनको प्रतीक्षामा थिए तर फोन आएन । “चीनतिर सामाजिक सञ्जाल राम्रो चल्दैन होला, नेटवर्कको समस्या भयो होला, कुनै अवरोध आयो होला”, कालिकाले आफैँलाई सम्झाउनुभयो । ‘भोलि त पक्कै फोन आउला ।’ यही आशामा त्यो रात बित्यो । भोलिपल्ट पनि फोन आएन । पर्सिपल्ट पनि आएन । दिन बित्दै गए । न कुनै खबर आयो, न फोन । 

विस्तारै कालिकाको मनमा आशाभन्दा डर बढ्न थाल्यो । सुरुमा ‘नेटवर्कको समस्या होला’ भनेर मन बुझाउन खोजे पनि दिनहरू बित्दै जाँदा मनले अनेक प्रश्न गर्न थाल्यो । कतै केही त भएन ? त्यही प्रश्नले कालिकाको मनमा चिसो पस्न थाल्यो । त्यसपछि सुरु भयो टेकराजको खोजी । विसं २०६८ वैशाख २८ गते कालिका र टेकराज थामीको नेपाल बार एसोसिएसनको सभा हलमा प्रगतिशील बिबाह भएको थियो । सहयात्राका १५ वर्ष सुन्दर १५ दिन कटिसकेका थिए ।

छोरा हराएदेखि आँखा ओभानो छैन बा आमाको
आमा लीलादेवी र बुबा डिलबहादुरलाई छोरा हराएदेखि आँखा ओभानो छैन । छोरा आउने आशामा २३ दिन बित्यो । टेकराजका भाइ प्रेमबहादुर थामी दुवहीबाट दाइ खोज्न आकस्मिक छुट्टी मिलाएर नेपाल आउनुभयो । नेपाली सेनाको हलिकप्टरमा खोज्न रसुवा पुग्दा कहीँ कतै केही भेटिएन । अनि निराश भएर फर्किनुभयो । भाइहरू गङ्गाबहादुर र सन्तोष पनि दाइ हराएदेखि बेचैन छन् । 

टेकराजको सासूआमा विष्णुमाया खड्काले रक्षाबन्धनको दिन ज्वाई टेकराजसँग कुरा गर्न खोज्नुभयो तर ज्वाइँ वेपत्ता भन्ने सुनेदेखि भावविह्वल हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ज्वाइँ अहिले यतैबाट आउनुहुन्छ जस्तो लाग्छ ।” कालिकाका भाइ विश्वास खडका भिनाजुको फोटो बोकेर अस्पतालहरुमा भौँतारिनुभयो । आँखाभरि आँशु बगाउँदै बेपत्ताहरुको समूहमा भिनाजुको फोटो टाँस्कनुभयो तर भिनाजु कतै भेटिनुभएन ।

‘मिसकल’ले झुक्याएको त्यो क्षण
टेकराज सम्पर्कविहीन भएको दुई–तीन दिनपछि एकाएक उहाँकै म्यासेन्जरबाट ‘मिसकल’ आयो भन्ने खबर आयो । त्यो एउटा मिसकलले केही क्षणका लागि कालिका, परिवार र आफन्त खुसी भए । मनमा एउटै कुरा आयो–टेकराज कतै सुरक्षित हुनुहुन्छ । सायद उद्धारको पर्खाइमा हुनुहुन्छ ।

त्यसैबीच सामाजिक सञ्जालमा टेकराज सम्पर्कमा आउनुभएको भन्ने खबर पनि फैलियो । धेरैले राहतको लामो सास फेरे । कालिकाको फोन, भाइबर, म्यासेन्जरमा बधाईको ओइरो आइरहेको थियो । तर त्यो खुसी धेरै बेर टिकेन । 

कालिकाले नै सामाजिक सञ्जालमार्फत टेकराजसँग अहिलेसम्म सम्पर्क हुन नसकेको स्पष्ट पार्नुभयो । म्यासेन्जरमा आएको त्यो मिसकल टेकराज आफैँले गर्नुभएको हो भन्ने पुष्टि नभएको भन्दै उहाँले भ्रममा नपर्न र खोजी कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।

खुसी हुनेका अनुहार फेरि मलिन भए । “त्यो मिसकल आएको भन्न सुन्दा उहाँ कतै सुरक्षित हुनुहुन्छ कि भन्ने लाग्यो,” कालिका भन्नुहुन्छ, “एकछिन त उहाँसँग सम्पर्क भयो भनेर खुसी पनि भयौँ तर त्यो उहाँकै मिसकल हो भन्ने निश्चित हुन सकेन । फेरि उही प्रतीक्षामा बस्नुप¥यो ।”

त्यो दिन कालिकाले आशा कति चाँडै जन्मिन्छ र कति चाँडै टुट्न सक्छ भन्ने महसुस गर्नुभयो । कुनै चमत्कार भएर टेकराज घर फर्किए हुन्थ्यो न भन्ने कल्पना अझै कालिकाको मनमा जीवित छ । कहिलेकाहीँ त उहाँलाई लाग्छ–कुनै दिन अचानक ढोका ढक्ढककिनेछ, बाहिर ‘जी’ (टेकराज) उभिनुभएको हुनेछ र कयौँ दिनदेखि रोकिएको यो प्रतीक्षा त्यही क्षण सकिनेछ ।

त्यसैले कालिका अझै ढोकातिर हेर्न छाड्नुभएको छैन । फोनको घण्टी सुन्न छाड्नुभएको छैन । सडकमा कसैले मोटरसाइकल चलाउँदा कान ठाडा पार्न छाड्नुभएको छैन । फर्केर आउने आशा छैन तर फर्केर आउनुहुन्न भन्ने अन्तिम सत्य पनि स्वीकार गर्न सक्नुभएको छैन । 

सपनीमा समेत पर्खंदै
विपनामा पर्खंदा–पर्खंदै दिन बिते । रात बिते । तर टेकराज फर्केर आउनुभएन । त्यसैले होला, अहिले कहिलेकाहीँ सपनामा भए पनि श्रीमान् आइदिए हुन्थ्यो जस्तो लाग्छ उहाँलाई । कहिलेकाहीँ सपनामा टेकराज आएर उहाँसँग कुराकानी गर्नुहुन्छ, सामीप्य महसुस गर्नुहुन्छ । तर एकाएक निद्रा खुल्छ । त्यो क्षण सपनाभन्दा विपना नै पीडादायी लाग्छ ।

“सपनामा उहाँलाई देख्छु । विपनामा बिलाउनुहुन्छ,” भावुक हुँदै कालिका भन्नुहुन्छ, “म नब्युझिएको भए अझै धेरै बेर उहाँकै सामीप्यमा बस्न पाउँथेँ कि जस्तो लाग्छ ।”

भोटेकोशीको बाढीपछि टेकराज बेपत्ता भएको घटना सपना भइदिए हुन्थ्यो र सपनामा उहाँ सामीप्यमा आएको क्षणचाहिँ विपना भइदिए हुन्थ्यो भन्ने लाग्छ कालिकालाई । यही भावसँग मेल खान्छ गोपाल योञ्जनको शब्द तथा सङ्गीत र नारायण गोपालको स्वरमा सजिएको चर्चित गीतका यी हरफ–

    “आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु
    सपनीमा पनि मलाई सुस्तरी चिहाउनु...”

गीतमा व्यक्त भावजस्तै कालिकाले पनि टेकराजलाई आँखामा, मनमा र आफ्नै अस्तित्वभित्र राखिरहनुभएको छ । कालीकाको प्रिय मानिस संसारमा नरहे पनि सधै उहाँको अन्तरमनमा त बसिरहनुहुनेछ । 

“मलाई देवी मान्नुहुन्थ्यो, तिमी मेरो आमापछिको आमा हो भन्नुहुन्थ्यो । सधँै खुशी र प्रगति चाहने । महिलालाई अत्यन्तै सम्मान गर्ने, छेउमा कसैलाई झुक्किएर छोइयो भने ढोगीहाल्ने बानी थियोे ।

साथीहरू तिम्रो श्रीमानजस्तो त मान्छे नै भेटिन्न भन्थ्ये,” कालिका सम्झनुहुन्छ, “राम्रो मान्छे सायद भगवानका प्रिय हुन्ने रहेछन् । केरूङ जाने केही दिन अघि पनि संसारमै अशान्ति छ, हाम्रो घरमा मात्रै शान्ति छ भनेको शब्द कानमा अझै गुन्जिरहेको छ तर के थाहा टेकराजलाई केही दिनपछि म बाढीमा पर्ने छु र यो घर पनि अशान्त बन्ने छ भनेर ।”

थामी समुदायको खम्बा नै ढल्यो 
नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीले टेकाराजको मृत्युले थामी समुदायको लागि खम्बा नै ढलेको बताउनहुुन्छ  । “थामी भाषा जान्ने मानिस जन्माउन अब हाम्रो समुदायलाई गाह्रो हुन्छ”, उहाँ भन्नुहुन्छ । थामी गोरखापत्र दैनिकमा थामी भाषा पृष्ठ संयोजकसमेत हुनुहुन्थ्यो । 
    
विसं २०४२ जेठ १४ गते दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा जन्मिनुभएको टेकराज थामीले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको हो । नयाँ पत्रिका दैनिकमा काम गर्ने थामी बागीश्वरी कलेज भक्तपुर र समृद्धि कलेज कौशलटारमा पत्रकारिता अध्यापन समेत गराउनुहुन्थ्यो । 

शनिबार अन्त्येष्टिको तयारी
अब टेकराज फर्केर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारले अन्त्येष्टिको तयारी थालेको छ । भोलि शनिबार उहाँको कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्ने निर्णय परिवारले गरेको छ । तर तयारी अगाडि बढिसक्दा पनि कालिकाको मनले टेकराज यो संसारमा हुनुहुन्न भनेर पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन । त्यसैले दाहसंस्कारको तयारी भइरहँदा पनि श्रीमान्लाई अन्तिमपटक ‘गुडबाई’ भन्ने आँट उहाँमा आएको छैन ।

“पहिला पनि धेरैले अब नकुरौँ, दाहसंस्कार गरौँ भन्नुभएको थियो,” आँखाबाट बगेका आँसु सलको एकछेउले पुछ्दै कालिका भन्नुहुन्छ, “तर मेरो मनले मेरो श्रीमान् यो संसारमा हुनुहुन्न भनेर स्वीकार गर्नै मानेन ।” शनिबार कुशको प्रतिमा जलाइनेछ । संस्कार पूरा हुनेछ । परिवारले टेकराजलाई अन्तिम बिदाइ दिनेछ । त्यसपछि पनि कालिकाको मनले यी कुरा स्वीकार गर्ला या नगर्ला ? थाहा छैन ।

शोकलाई शक्तिमा बदल्ने साहस बटुल्दै
टेकराजको अनुपस्थितिमा अहिले कालिकाको सबैभन्दा ठूलो सहारा छोरी कृतिका हुनुहुन्छ । अनि कृतिकाका लागि आमा कालिका । दुवैले एकअर्कालाई सम्हाल्दैछन् ।  जे भयो, त्यो विगत फर्केर आउने छैन । तर जीवन रोकिएर पनि नहुने रहेछ । छोरीकै लागि भए पनि विस्तारै शोकलाई शक्तिमा बदल्नुपर्ने अठोट कालिकाले गर्नुभएको छ ।

पेशाले राष्ट्रिय समाचार समितिमा पत्रकार रहनुभएकी कालिका आफूले भोगेको पीडामा मात्रै अल्झिएर बस्न चाहनुहुन्न । अन्य महिलालाई अघि बढ्न प्रेरणा दिने आफ्नो जिम्मेवारी पनि सम्झिरहनुभएको छ । “म आफैँ धेरै शोकमा बसेँ भने मैले माथि उठाउन प्रयास गर्नुपर्ने अन्य महिला दिदीबहिनीलाई पनि असर पर्छ,” उहाँ भन्नुहुन्छ, “उहाँहरूलाई प्रेरणा दिन पनि अब म ‘मुभ अन’ हुनुपर्छ जस्तो लाग्छ । सम्हालिँदै छु ।” 

पीडा तत्काल सकिँदैन भन्ने उहाँलाई थाहा छ तर समयसँगै चोटमा खाटा बस्ने र आफू फेरि पत्रकारितामा फर्किने विश्वास भने उहाँमा छ । “विस्तारै यो चोटमा खाटा बस्ला । अनि सामान्य रिपोर्टिङमा नै फर्कनेछु”, कालिका भन्नुहुन्छ ।

टेकराजलाई श्रीमती कालिकाले मात्रै गुमाउनुभएको छैन । छोरी कृतिकाले बाबु गुमाएकी छन् । परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ । पत्रकारिता क्षेत्रले एक होनाहार र असर पत्रकार  गुमाएको छ ।

टेकराजको बेपत्ता घटनाले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा बताउनुहुन्छ । टेकराज भौतिक रुपमा टाढा भए पनि स्मृतिमा भने कहिल्यै टाढा हुनुहुने छैन । पत्रकार टेकराज थामीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारमा हार्दिक समवेदना । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan