पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन
लमजुङ, ११ असोजः निरन्तरको वर्षापछि आज बिहान पहिरो गएर अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड पुनःसञ्चालनमा आएको छ ।
यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका-६ मा सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेपछि बिहानदेखि आवागमन अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार मिनबहादुर थापाका अनुसार डोजर प्रयोग गरी सडकमा खसेको पहिरो हटाएपछि दिउँसोदेखि सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अलपत्र परेका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।
यता बिहानैदेखि अवरुद्ध डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका-१ मा खसेको पहिरो हटाएपछि सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले बताउनुभयो ।
सडकमा ढुङ्गा माटोसहितको पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्डबाट पहिरो हटाएपछि अहिले कुनै अवरोध नरहेको र सवारीसाधन सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।
बेँसीसहर-चामे सडकखण्डका विभिन्न स्थानमा भने पहिरो गएकाले सडक अवरुद्ध कायमै छ । सूचना अधिकारी विष्टका अनुसार धेरै ठाउँमा पहिरो गएकाले सडक खुलाउन समय लाग्ने देखिन्छ ।
