लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रियाको चाप बढ्दो
रुपन्देही, १६ असोजः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमा ७४१ शल्यक्रिया गरिएको छ । अस्पतालको सर्जिकल विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा नियमित सेवा र अतिरिक्त सेवा अवधि (ईएचएस)मार्फत विभिन्न प्रकृतिका शल्यक्रिया गरिएको हो ।
अस्पतालका सर्जिकल विभाग प्रमुख रचना कार्कीका अनुसार भदौमा नियमित सेवातर्फ ४९७ र ईएचएसमार्फत २४४ गरी कुल ७४१ जनाको शल्यक्रिया गरिएको हो। शल्यक्रियाका लागि अस्पतालमा आउने बिरामीको चाप बढ्दै गएको र कतिपय बिरामीले पालोका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
सर्जिकल विभागले शुक्रबार आयोजना गरेको क्लिनिकल अडिटमा विभागको सेवा प्रवाह, शल्यक्रियाको अवस्था, देखिएका समस्या तथा सुधारका उपायबारे समीक्षा गरिएको थियो। कार्यक्रममा विभागीय प्रमुखले आ–आफ्नो सेवाको अवस्था र सुधारका लागि आवश्यक पहलका विषयमा सुझाव प्रस्तुत गर्नुभएको थियो ।
अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको बढ्दो चापलाई उपलब्ध जनशक्ति तथा स्रोतसाधनसँग समायोजन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै पक्षको अधिकतम प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले बिरामी तथा सेवाग्राहीसँग सरल, सहज र सौहार्दपूर्ण व्यवहार गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।
अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेण्ट) डा विष्णु गौतमले अस्पतालबाट प्रदान हुँदै आएका सेवाको नियमित समीक्षा र मूल्याङ्कन गर्दै सुधारका क्षेत्र पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन विभागीय समन्वय र सामूहिक प्रयासमा जोड दिनुभयो ।
नर्सिङ विभाग प्रमुख नेहा थापाको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न विभागका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
