यूएई अनुसन्धानकर्ताहरूले फ्लाईदुबई सह–चालकले ‘आतङ्कवादी कार्य’ योजना गरेको दावी
युनाइटेड अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ताहरूले यस साता इजरायल जाँदै गरेको फ्लाईदुबई उडानका सह–चालकले ‘आतङ्कवादी कार्य’ गर्ने योजना बनाएको र क्याप्टेनमाथि ककपिटको आपतकालीन हतियार ‘बञ्चरा’ ले आक्रमण गरेको बताएका छन्। तर आक्रमण गर्ने सहचालकले के गर्न खोजेको भन्ने उद्देश्य भने उनीहरूले अझै खुलाएका छैनन् ।
बुधबारको उडानमा भारतीय विमान चालक (क्याप्टेन ) माथि सह–चालकले आक्रमण गरेपछि चालकले ककपिटको ढोका खोल्न सफल हुँदा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो ।
शनिबार देशको सरकारी समाचार एजेन्सी वामको रिपोर्ट अनुसार यूएई अनुसन्धानका प्रारम्भिक निष्कर्षमा सह–चालकको राष्ट्रियता खुलाइएको छैन तर एउटा साउदी स्रोतले एएफपीलाई सह–चालक ओमानी भएको पुष्टि गरेको छ ।
मिडिया रिपोर्टहरूले उहाँलाई गृह राष्ट्रमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको पनि उल्लेख गरेका छन् ।
यी रिपोर्टहरू आएका बेला संयुक्त अरब इमिरेट्सबाट इजरायलीहरूलाई घर लैजाने पहिलो उडान तेल अभिभ अवतरण गरेको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । आक्रमणपछि सेवाहरू स्थगित गरिएका थिए ।
“‘सह–चालकले आतङ्कवादी कार्य गर्ने प्रयास गरेका’ र ‘ककपिटमा क्याप्टेनमाथि आपतकालीन बञ्चराले आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको देखिन्छ,” वामले यूएईका महान्यायाधिवक्ता हमद सैफ अल शाम्सीलाई उद्धृत गर्दै अनुसन्धानका प्रारम्भिक निष्कर्षबारे बताएको छ ।
यात्रुहरूले ककपिटतर्फ गई नियन्त्रणका भूमिका निभाएको बताएका थिए । चालकमाथि आक्रमणपछि विमान एक मिनेटमै करिब १७ हजार फिट उचाइ गुमाएर आकाशमा तल झरेको फ्लाइटराडर–२४ नामक वेबसाइटको तथ्याङ्कले देखाएको छ।
ककपिटको ढोका खोलेका घाइते क्याप्टेनलाई नायकका रूपमा सम्मान गरिएको छ । शनिबार यूएईका उपप्रधानमन्त्री हमदान बिन मोहम्मदले अस्पतालको शैयामा उहाँलाई भेटेको तस्बिर सार्वजनिक भएको छ ।
चालक स्मित मच्छरले ‘साहस, जिम्मेवारी र मानव जीवनप्रतिको हेरचाहको उच्चतम स्तर’ प्रदर्शन गरेको यूएई अधिकारीले एक्समा पोस्ट गरेका छन्।
यता सह–चालकलाई यूएईमा हिरासतमा राखिएको छ । धेरै मिडिया आउटलेटहरूले आक्रमणकारी सह–चालकलाई हमाम अल–हम्मामी भनेर पहिचान गरेका छन् र ओमानमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको बताएका छन् ।
‘चरमपन्थी प्रभावबाट ग्रसित’
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणकारी सहचालकलाई शङ्कास्पदे ‘इस्लामी चरमपन्थी विचार’ भएका व्यक्तिले परिचालित गरेको र विमान दुर्घटना गराउने प्रयास गरेको बताउनुभएको छ।
वाल स्ट्रिट जर्नलले विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै शुक्रबार ओमानी अधिकारीहरूले उहाँ (आक्रमणकारी सह–चालक) चरमपन्थी वैचारिक दृष्टिकोण अपनाएको शङ्कामा उडान गर्न प्रतिबन्ध लगाएको रिपोर्ट गरेको छ ।
सीएनएनले दुई स्रोतलाई उद्धृत गर्दै गत वर्ष ओमानको राष्ट्रिय एयरलाइनबाट उहाँलाई जागिरबाट हटाइएको रिपोर्ट गरेको छ।
अल अरेबियाले पनि सूचित स्रोतलाई उद्धृत गर्दै ओमानी अधिकारीहरूले सह–चालकले चरमपन्थी विचार राख्ने गरेको निष्कर्ष निकालेको बताएको छ ।
प्रसारकले उहाँले सिरियामा समय बिताएको र त्यहाँका चरमपन्थी समूहहरूबाट प्रभावित भएको आशङ्का गरिएको उल्लेख गरेको छ।
एबीसी न्यूजले अनुसन्धानसँग परिचित वरिष्ठ खुफिया र कानुन प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै शङ्कास्पद व्यक्तिसँग तालिमका क्रममा उपलब्ध गराइएका चरमपन्थी विचारसँग मेल खाने सामग्री भेटिएको आरोप लगाएको रिपोर्ट गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान आक्रमणसँग जोडिएको पाइए तेहरानलाई ‘धेरै कडा प्रहार’ गरिने चेतावनी दिनुभएको थियो ।
नेतन्याहूले सह–चालकलाई देशका उडानहरूमा काम गर्न कसरी अनुमति दिइएको थियो अनुसन्धान थालिने बताउनुभएको छ।
“हामीसँग यस्ता प्रतिबन्धहरू छन् कि इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका चालकहरू हुन सक्दैनन्,” नेतन्याहूले फक्स न्यूजलाई भन्नुभयो, “स्पष्ट रूपमा ती सह–चालकले त्यसलाई छल्न सफल भएको पाइएको छ ।”
