ह्वाइट हाउसको सञ्चार टोलीमा नयाँ अनुहार
ह्वाइट हाउसले २४ वर्षीया रिपोर्टर बेनी रे हार्मनीलाई प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी बनाएको छ । उहाँ ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट हाउस संवाददाताका रूपमा काम गर्दै आउनुभएको थियो ।
हार्मनीले सोमबारदेखि नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँको नियुक्ति ह्वाइट हाउस प्रेस सेक्रेटरीको पद खाली रहेका समय भएको छ ।
यसअघि प्रेस सेक्रेटरी रहनुभएकी क्यारोलिन लेभिट अगस्टको अन्त्यमा यो पदबाट हट्नुभएको थियो । ट्रम्प प्रशासनले अहिलेसम्म उहाँको स्थायी उत्तराधिकारीको नाम घोषणा गरेको छैन। हार्मनी पछिल्लो समयमा ह्वाइट हाउस ‘प्रेस पूल’ को नियमित सदस्य बन्न पुग्नुभएको थियो । उहाँ ट्रम्पसँग आयरल्यान्डको यात्रामा पनि जानुभएको थियो ।
रे हार्मनीले सन् २०२५ सेप्टेम्बरमा ‘रियल अमेरिकाज भ्वाइस’ सँग जोडिएर काम सुरु गर्नुभएको थियो । त्यसअघि उहाँ स्प्रिङ्गफिल्ड, इलिनोइमा न्यूज एङ्कर हुनुहुन्थ्यो । त्यहाँबाट निस्किएपछि उहाँले राष्ट्रिय स्तरमा ट्रम्प प्रशासनका कामहबारे रिपोर्टिङ गर्नु थाल्नुभएको थियो ।
पछिल्लो केही समयदेखि उहाँ ह्वाइट हाउसका गतिविधिहरूलाई निरन्तर समेट्दै आउनुभएको थियो । यसै कारण उहाँ ‘प्रेस पूल’मा पनि देखिन थाल्नुभएको थियो । अबभने उहाँको भूमिका पत्रकारको सट्टा ट्रम्प प्रशासनको सञ्चार टोलीमा हुनेछ ।
ट्रम्पको टोलीतर्फबाट उहाँको नियुक्तिबारे सकारात्मक प्रतिक्रिया दिइएको छ। ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी एना केलीले भन्नुभएको छ, “हार्मनी ह्वाइट हाउस संवाददाताका रूपमा ट्रम्पको आन्दोलनकी भरपर्दो आवाज रहिआउनुभएको थियो र अब सहायक प्रेस सेक्रेटरीका रूपमा उहाँ सञ्चार टोलीको हिस्सा बन्नुहुनेछ ।
हार्मनीले पनि आफ्नो नियुक्तिको पुष्टि गर्दै भन्नुभयो, “म ट्रम्प प्रशासनमा ह्वाइट हाउसको सहायक प्रेस सेक्रेटरीका रूपमा सामेल हुन पाउँदा उत्साहित छु । म यसका लागि राष्ट्रपति ट्रम्पको विश्वासका लागि आभार व्यक्त गर्छु ।
क्यारोलिन लेभिट अगस्टको अन्त्यमा ह्वाइट हाउस प्रेस सेक्रेटरीको पद छोडिसक्नुभएको थियो । उहाँले परिवारसँग बढी समय बिताउन यो जिम्मेवारी छोड्ने निर्णय गर्नुभएको थियो ।
ट्रम्पले उहाँको कामको प्रशंसा गर्दै भन्नुभएको थियो, “उहाँ आगामी दिनमा पनि उहाँको राजनीतिक काममा सल्लाहकारको भूमिकामा जोडिनुहुनेछ ।
लेभिट २७ वर्षको उमेरमा ह्वाइट हाउसकी प्रेस सचिव बन्नुभएको थियो र यो पदमा पुग्ने सबैभन्दा कम उमेरकी व्यक्ति बन्न सफल हुनुभएको थियो ।
उहाँको अनुपस्थितिमा ह्वाइट हाउसले अहिलेसम्म स्थायी प्रेस सेक्रेटरी नियुक्त गरेको छैन। यसबीच प्रशासनका अन्य अधिकारीहरूले यो जिम्मेवारी हेर्दै आएका छन् ।
